फ्याक्टचेक: चन्द्रौटा महोत्सवमा ज्योति मगरलाई लखेटिएको दाबीसहितका भिडिओ भ्रामक
पुस २९, २०८२ २३:३४
काठमाडौँ । मंगलबार बिहानदेखि सामाजिक सञ्जालमा गायिका ज्योति मगरले प्रस्तुति दिने क्रममा स्थानीयले ढुङ्गामुढा गरेर लखेटेको दाबीसहित एउटा भिडिओ भाइरल भइरहेको छ । कपिलवस्तुको चन्द्रौटा महोत्सवमा ‘तिघ्रा देखाएर नाचेको’ भन्दै सोमबार गायिका मगरलाई लखेटिएको दाबी गरिएको हो । तर, तथ्यजाँचबाट चन्द्रौटा महोत्सवमा दर्शकले गायिका मगरलाई नभई नेपाली र्यापर जी-बबले प्रस्तुति दिने क्रममा ढुङ्गामुढा गरेको पुष्टि भएको छ ।
दाबी
‘सुदर्शन खबर’ (Sudarshan Khabar) ले मंगलबार बिहान ७:२४ मा ज्योति मगरमाथि ढुङ्गामुढा भएको दाबीसहित एक भिडिओ शेयर गरेको छ । उक्त भिडिओमा गायिका मगरले प्रस्तुति दिने क्रममा अभद्र व्यवहार गरेको भन्दै स्थानीयले ढुङ्गामुढा गरेको दाबी गरिएको छ ।
भिडिओको क्याप्सनमा लेखिएको छ: “चन्द्रौटा महोत्सवमा ज्योति मगर नाच्दै गर्दा तिग्रा देखाउछेस भन्दै स्थानीयहरुले ढुङा मुडा गरेर लखेटेका छन् ! साभार” । भिडिओलाई यो सामग्री तयार पार्दा सम्म ३४ हजार बढी भ्युज र ८३३ रियाक्सन छ । भिडिओ, स्क्रिनरेकर्ड र स्क्रिनशट हेर्नुहोस् ।
अनुसन्धान
चन्द्रौटा महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा लफडा भएको दाबीसहितका भिडिओहरू देखिएपछि हामीले यसबारे थप खोजी गर्यौँ । सोही क्रममा ‘Sangit Chhetri’ नामका फेसबुक प्रयोगकर्ताले पनि सोही दाबीसहित भिडिओ शेयर गरेको पाइयो । मंगलबार दिउँसो १:२० मा सार्वजनिक उक्त पोस्टमा १९ हजारभन्दा बढी भ्युज छ ।
भिडिओको क्याप्सनमा लेखिएको छ, “चन्द्रौटा महोत्सवमा ज्योति मगर नाच्दै गर्दा तिग्रा देखाउछेस भन्दै स्थानीयहरुले ढुङा मुडा गरेर लखेटेका छन् ! !😂😂” हेर्नुहोस् भिडिओ, स्क्रिन रेकर्ड र स्क्रिनशट ।
‘Mero Nepal’ नामक पेजबाट पनि ज्योति मगरलाई महोत्सवबाट लखेटिएको दाबीसहित भिडिओ बनाएको छ । उक्त भिडिओबाट लेखिएको छ, “एमालेकी गहना ज्योती मगरलाई महोत्सव बाट लखेटियको रहेछ ।”
‘Mahan Nepal’ नामक फेसबुक प्रयोगकर्ताले पनि ज्योति मगरलाई महोत्सवमा नाच्दै गर्दा लखेटिएको दाबी सहित भिडिओ सार्वजनिक गरेको छ । “ज्योति मगर महोत्सवमा नाच्दै गर्दा ढुंगामुडा हानेर लखेटे हेर्नुस् Jyoti Magar” क्याप्सन सहित मंगलबार दिउँसो १२:२६ मा उक्त भिडिओ सार्वजनिक भएको हो । हेर्नुहोस् भिडिओ र स्क्रिनशट ।
फेसबुक प्रयोगकर्ता ‘बिरही गोकुल बोहरा’ ले त ज्योति मगरलाई नाङ्गै बनाएर लखेटेको समेत दाबी गर्न भ्याएका छन् । मंगलबार बिहान ९:५५ मा सार्वजनिक उक्त भिडिओको स्टाटसमा लेखिएको छ, “७६ जना निर्दोष बालबालिका मार्ने ग्याङको झन्डा बोकेर हिँडेपछि ज्योति मगरलाई महोत्सवबाट नाङ्गै बनाएर लखेटिए छन फेरि जेनजी भाई हरुले🤣🤣 Jyoti Magar is not good ledi 🫶🤓”। भिडिओ, रेकर्डेड भिडिओ तथा स्क्रिनशट ।
भाइरल भिडिओहरूमा कपिलवस्तुको ‘चन्द्रौटा महोत्सव’मा प्रस्तुति दिने बेलामा सोमबार (२८ पुस) ज्योति मगरलाई लखेटिएको दाबी गरिएको छ । जहाँ दर्शकदीर्घामा रहेका व्यक्तिहरूले स्टेजतर्फ विभिन्न सामानहरू फ्याँकिरहेको छन् । तर स्टेजमा भएका व्यक्तिको हुन स्पष्ट देखिएको छैन ।
त्यसपछि हामीले चन्द्रौटा महोत्सवसँग सम्बन्धित सामाजिक सञ्जालमा अपलोड भएका भिडिओ तथा फोटोहरू केलायौँ । खोज्ने क्रममा सामाजिक सञ्जालमा चन्द्रौटा महोत्सवको नामको फेसबुक पेज फेला पर्यो । उक्त पेजमा राखिएका सामग्रीबाट १३ पुसदेखि २८ पुससम्म १०औँ ‘चन्द्रौटा महोत्सव कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला २०८२’ आयोजना भएको स्पष्ट भयौँ । पेजमा महोत्सवमा प्रस्तुति दिन आएका कलाकारहरूको तस्बिर सार्वजनिक भएका छन् । तर, गायिका ज्योति मगर १०औँ चन्द्रौटा महोत्सवमा मगरले प्रस्तुति दिएको देखिने तस्बिर त्यहाँ उपलब्ध छैनन् ।
त्यसपछि हामीले गायिका मगरको सोमबार (२८ पुस) मा कहीँ प्रस्तुति दिएको कुनै भिडिओ पाइन्छ कि भनेर खोज्यौँ । ज्योति मगरले फेसबुकबाट दाङको घोराहीमा २८ पुसमा प्रस्तुति दिन जान लागेको सन्देश सहित सोमबार बिहान ३:५९ मा राखेको भिडिओ फेला पर्यो ।
यस्तै सोमबार नै ‘routine of ghorahi’ ले “दाङ घोराही महोत्सवमा ज्योति मगर !!” शीर्षकमा टिकटकमा भिडिओ राखेको फेला पर्यो । जहाँ मगर घोराही महोत्सवमा आफ्नो प्रस्तुति दिइरहेको देखिएकी छिन् ।
यस्तै फेसबुकमा नै ‘Arghakhanchi Bulletin’ नामक पेजले मंगलबार बिहान ११:३५ मा सार्वजनिक गरेको भिडिओ फेला पर्यो । उक्त भिडिओमा चन्द्रौटा महोत्सवमा भएको तनाव अन्य भिडिओहरू भन्दा स्पष्ट छ ।
क्याप्सनमा लेखिएको छ, “चन्द्रौटा महोत्सवमा घटना दर्शक कलाकार जब ताल मिलेपछि कसैको केही लाग्दैन”। उक्त भिडिओमा भने स्टेजमा जी-बब ले प्रस्तुति दिइरहेको देखिएको छ । त्यस्तैमा दर्शकदीर्घामा भएका व्यक्तिहरू आक्रोशित भएर महोत्सवमा तोडफोड गरिरहेको देखिएका छन् । उक्त भिडिओमा प्रस्तुति दिइरहेको व्यक्ति ज्योति मगर नभई र्यापर जी-बब रहेको देखिएको छ ।
त्यसपछि हामीले कपिलवस्तुको चन्द्रौटा महोत्सवमा वास्तवमा के भएको थियो भनेर प्रत्यक्षदर्शीहरूमार्फत समेत बुझ्ने प्रयास गर्यौँ । यसका लागि हामीले महोत्सवमा भिडिओ तथा फोटोग्राफीको जिम्मेवारी लिएको ‘शिवराज फिल्म्स स्टुडियो अफिसियल’का सञ्चालक आशिष चौधरीसँग कुराकानी गर्यौँ ।
चौधरीले भाइरल भिडिओ सोमबार चन्द्रौटा महोत्सवकै रहेको पुष्टि गरे । तर उक्त समयमा स्टेजमा प्रस्तुति दिइरहेको व्यक्ति ज्योति मगर नभई र्यापर जी-बब रहेको उनले बताए । जी-बबले प्रस्तुति दिने क्रममा दर्शकहरू आक्रोशित बनेको र महोत्सवमा भएका सामग्रीहरूमा समेत क्षति पुगेको उनले जानकारी दिए । चौधरीले भने, “दर्शकहरूले महोत्सवको बाउन्ड्री बार नाघेर डीजेहरू फुटाएका छन् । प्रहरी आएर पनि स्थिति सामान्य हुन निकै समय लागेको थियो । राति ११/१२ पछि मात्र स्थिति सामान्य बनेको थियो ।” उनले थपे, “हाम्रो टिमको पनि क्षति भएको छ । क्यामेरामा क्षति जोगाए पनि एक जना साथीको आँखामा चोट लागेको छ । कम्प्युटर डेस्कटप, डीजेहरूमा क्षति भएको छ ।” हाल बीमा कम्पनीहरूले क्षति विवरण टिपोट गरेर फर्किएको उनले जानकारी दिए ।
दाबी
गायिका ज्योति मगरले महोत्सवमा तिघ्रा देखाएर नाँचेपछि चन्द्रौटा महोत्सवमा सहभागी भएका स्थानीयहरूले ढुङ्गामुढा गरेर लखेटे ।
दाबीकर्ता
‘Sudarshan Khabar’, ‘Sangit Chhetri’, ‘Mero Nepal’, ‘Mahan Nepal’, ‘बिरही गोकुल बोहरा’ लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य
भाइरल भिडिओमा देखिएको चन्द्रौटा महोत्सवको तनावपूर्ण दृश्यमा स्टेजमा गायिका ज्योति मगर नभई र्यापर जी-बबले प्रस्तुति दिइरहेका थिए । १०औँ चन्द्रौटा महोत्सवमा ज्योति मगरको प्रस्तुति रहेको कुनै आधिकारिक प्रमाण छैन । बरु, सोही दिन गायिका मगरले दाङको घोराही महोत्सवमा प्रस्तुति दिइरहेको भिडिओ र प्रमाणहरू फेला परेका छन् ।
निष्कर्ष
सामाजिक सञ्जालमा गायिका ज्योति मगरलाई चन्द्रौटा महोत्सवमा ढुङ्गामुढा गरेर लखेटिएको भन्ने दाबी भ्रामक छ । सोमबार महोत्सवको समापन समारोहमा र्यापर जी-बबले प्रस्तुति दिइरहेको समयमा स्थानीयले तोडफोड गरेका हुन् । गायिका मगरले भने सोही दिन दाङको घोराहीमा प्रस्तुति दिएकी थिइन् ।
प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।
पछिल्लो अध्यावधिक: पुस ३०, २०८२ ८:४८
