close

तनहुँका युवाले बनाएको टाइपिङ सिक्ने अनलाइन प्लेटफर्म टाइपिङआउल, छन् थरीथरीका फिचर

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

माघ १, २०८२ १०:९

तनहुँका युवाले बनाएको टाइपिङ सिक्ने अनलाइन प्लेटफर्म टाइपिङआउल, छन् थरीथरीका फिचर

काठमाडौँ । तनहुँका युवाहरूले टाइपिङ सिक्न तथा टाइपिङ क्षमता बढाउन अभ्यास गर्ने अनलाइन प्लेटफर्म तयार पारेका छन् । दमौलीका पवन पौडेल र रबिन आले मिलेर नेपाली तथा अङ्ग्रेजी टाइपिङ सीप निखार्न सघाउने ‘टाइपिङ आउल’ बनाएका हुन् । 

तीन महिना पहिले सार्वजनिक भएको यो प्लेटफर्ममा विश्वभर विभिन्न देशका प्रयोगकर्ताले टाइपिङ प्राक्टिस गरिरहेको पवन पौडेलले बताए । उनले भने, “दैनिक हजारौँले हाम्रो प्लेटफर्मबाट टाइपिङ प्राक्टिस गर्दै आएका छन्।” 

टाइपिङ आउलमा नेपाली (प्रिती फन्ट) र इङ्लिस टाइपिङ प्राक्टिसको सुविधा दिइएको छ । जसमा १ देखि २० मिनेट समयसम्मको टाइमर छनोट गरेर अभ्यास गर्न सकिन्छ । अभ्यासका लागि इजी (साधारण), मिडियम (मध्यम) र हार्ड (चुनौतीपूर्ण) गरेर तीन ओटा लेभल समेत राखिएको छ । 

यस्तै, डेटा इन्ट्रिमा फोन नम्बर, क्रेडिट कार्ड, मुद्रा, हिसाब किताब, मिति र समयको पनि अभ्यास गर्ने सुविधा समावेश छ । टाइपिङ अभ्यासलाई थप प्रभावकारी बनाउन विभिन्न गेमहरू पनि राखिएको रबिनले बताए । 

यसमा बलुन ब्रस्ट, टाइपिङ टेरिस्ट जस्ता गेमहरू खेल्दै टाइपिङ प्राक्टिस गर्न सकिने व्यवस्था छ । यस्ता गेमले टाइपिङ प्राक्टिसलाई रोमाञ्चक बनाउनुका साथै टाइपिङ स्पिड बढाउन र शुद्ध लेख्न थप सघाउने उनले सुनाए । 

टाइपिङ आउलबाट प्राक्टिस गर्नेलाई प्रमाणपत्र समेत उपलब्ध गराइने व्यवस्था मिलाइएको छ । सर्टिफिकेट प्राप्त गर्न प्रयोगकर्ताको न्यूनतम टाइपिङ स्पिड ३५ डब्लूपीएम (प्रति मिनेटमा टाइप गरिने शब्द सङ्ख्या) पूरा गर्नुपर्छ । प्रयोगकर्ताले इजी, मिडियम र हार्ड गरी तीन वटै डिफिकल्टी लेभलमा ३५ भन्दा माथिको स्पिड प्राप्त गरेपछि सर्टिफिकेट पाउन सकिन्छ । 

टाइपिङ बोर्डको लिडरबोर्ड सबैका लागि खुला गरिएको छ । यसमा विश्वस्तरबाट मानिसहरू आएर टाइपिङमा उत्कृष्ट नतिजा ल्याउन एक अर्कासँग प्रतिस्पर्धा गर्न सक्ने पवनले बताए । 

लिडरबोर्डमा उत्कृष्ट हुने तीन जनालाई प्लेटफर्ममा स्वर्ण (गोल्ड) , रजत (सिल्भर) र कास्य (ब्रोन्ज) पदकको समेत व्यवस्था गरिएको छ । टाइपिङ प्राक्टिस गर्दा टेक्स्ट साइज बढाउने घटाउने सुविधा पनि यसमा उपलब्ध छ । 

साथीहरूसँग प्रतिस्पर्धा गर्दै टाइपिङ प्राक्टिस गर्न मल्टिप्लेयर रुम

टाइपिङ आउलमा प्रयोगकर्ताहरूलाई एक अर्कासँग सोझै टाइपिङ प्रतिस्पर्धा गर्न मल्टिप्लेयर रुमको समेत व्यवस्था गरिएको छ । पब्लिक र प्राइभेट गरेर दुई वटा रुम प्लेटफर्ममा उपलब्ध गराइएका छन् । 

पब्लिक रुममार्फत जो सुकै व्यक्तिहरूले पनि टाइपिङ प्रतिस्पर्धा गर्न सक्छन् । प्राइभेट रुममा भने निश्चित समूहले एक अर्कासँग प्रतिस्पर्धा गर्न सक्ने बनाइएको छ । 

मल्टिप्लेयर रुम क्रिएट गर्न वा अरूले बनाएको रुममा जोडिनका लागि प्रयोगकर्ताले अनिवार्य रूपमा प्लेटफर्ममा साइन इन गर्नु पर्ने व्यवस्था मिलाइएको छ ।  

टाइपिङ सिकाउनेहरूका लागि टाइपिङ टिचरको अनुमति 

टाइपिङ आउल प्लेटफर्ममा टाइपिङ टिचर बन्ने विकल्प पनि उपलब्ध छ । यसका लागि वेबसाइटको पुछारमा रहेको ‘Apply to Become a Teacher’ भन्ने विकल्पमा क्लिक गरेर आवेदन दिनुपर्छ । 

यसरी आवेदन दिएपछि टाइपिङ आउलको टिमले आवेदकलाई सम्पर्क गरेर विवरणहरू भेरिफाइ गरिदिन्छ । त्यसपछि टाइपिङ आउलमा टाइपिङ टिचरको लागि अनुमति मिल्ने उनले बताए । 

यसरी अनुमति पाउने शिक्षकले टाइपिङ सिकाइरहेका विद्यार्थीहरूलाई टाइपिङ आउलमा प्राक्टिसका लागि इन्भाइट गर्न सक्छन् । विद्यार्थीहरूले इन्भिटेसन स्वीकार गरेर ग्रुपमा जोडिन पाउँछन् । 

यो प्लेटफर्मबाट टाइपिङ टिचरलाई आफ्ना विद्यार्थीहरूले कस्तो टाइपिङ प्राक्टिस गरिरहेका छन् र उनीहरूको प्रगति कस्तो छ भनेर ट्रयाक गर्न र उचित गाइड गर्न सघाउने उनले बताए । भविष्यमा टाइपिङ टिचर मोडलाई व्यावसायिक रूपमा समेत विस्तार गर्ने योजना रहेको उनको भनाई छ ।

कम्प्युटर सिकाउँदा फुरेको आइडिया 

आदिकवि भानुभक्त क्याम्पसबाट बीआईटी अध्ययनका क्रममा रबिन र पवनले करिब एक वर्ष पहिले ग्यालेक्सी एजुकेसन नामक संस्थामा लगानी गरे । त्यहाँबाट उनीहरूले कम्प्युटर सम्बन्धी तालिम दिन थालेका थिए । 

तालिम दिने क्रममा नेपाली र अङ्ग्रेजी टाइपिङ सिकाउने राम्रो प्लेटफर्मको अभाव महसुस गरेको पवनले सुनाए । उनले भने, “हामी आफैँले विद्यार्थीहरूलाई सिकाउने क्रममा नेपाली र अङ्ग्रेजी भाषाका लागि नै टाइपिङ सिक्ने राम्रो सफ्टवेयर नभएको महसुस गर्‍यौँ । त्यसपछि पाँच महिना पहिले हामी दुई जना मिलेर टाइपिङ आउल विकासको काम सुरु गर्‍यौँ ।” करिब दुई महिनाको मेहेनतबाट टाइपिङ आउल तयार भएको उनले बताए । 

हाल उनीहरूले यही प्लेटफर्मबाट आफ्ना विद्यार्थीहरूलाई पनि टाइपिङ अभ्यास गराइरहेका छन् । उनले भने, “विद्यार्थीहरूलाई प्राक्टिस गर्दा केही समस्या देखिए सोही अनुसार परिवर्तन ल्याइरहेका छौँ । निकट भविष्यमा हिन्दी भाषा सहित अन्य भाषामा पनि टाइपिङ अभ्यास गर्ने सुविधा थप्ने तयारी छ ।”

 

पछिल्लो अध्यावधिक: माघ १, २०८२ १०:१०