close

निर्वाचन आचारसंहिता उल्लंघन रोक्न नेपाली सेनाका उपकरण र साइबर सुरक्षा विज्ञ खटाउने तयारी

टेकपाना टेकपाना

माघ २, २०८२ १४:५२

निर्वाचन आचारसंहिता उल्लंघन रोक्न नेपाली सेनाका उपकरण र साइबर सुरक्षा विज्ञ खटाउने तयारी

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सामाजिक सञ्जालमार्फत हुने दुरुपयोग नियन्त्रण गर्न नेपाली सेनाको समेत सहयोग लिने भएको छ । निर्वाचन आयुक्त सगुन समशेर राणाले शुक्रबार राजनीतिक दलहरूसँग आयोजित छलफलमा सेनाको प्राविधिक क्षमता र विज्ञ टोलीको सहयोग लिने निर्णय भएको जानकारी दिए ।

आयुक्त राणाका अनुसार हाल नेपालमा उपलब्ध प्रविधिमध्ये नेपाली सेनाको साइबर सुरक्षा निर्देशनालयसँग सबैभन्दा आधुनिक र उत्कृष्ट उपकरणहरू रहेकाले आयोगले त्यसलाई उपयोग गर्न लागेको हो । “नेपाली सेनाको साइबर ब्युरो (साइबर सुरक्षा निर्देशनालय) सँग भएको इक्विपमेन्ट र त्यसका विज्ञहरूलाई हामी आयोगमै राख्दैछौँ,” उनले भने, “यसले सामाजिक सञ्जालमा हुने आचारसंहिता विपरीतका गतिविधि निगरानी गर्न मद्दत गर्नेछ ।”

आयोगले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनमा सामाजिक सञ्जालमार्फत हुनसक्ने आचारसंहिता उल्लंघनका घटनालाई कडाइका साथ निगरानी गर्न मेटा र टिकटकसँग पनि सहकार्य गर्दैछ ।

“सामाजिक सञ्जालको निगरानीका लागि हामीले मेटा र टिकटकसँग सम्झौता गर्ने प्रक्रिया अघि बढाएका छौँ । कसैले पनि दुरुपयोग गर्दा थाहा हुँदैन भन्ने नसोच्नुहोला, किनभने ती प्लेटफर्महरूले हामीलाई सिधै रिपोर्ट गर्नेछन् । त्यसैले, आफ्ना कार्यकर्ता र शुभेच्छुकहरूलाई यसबारे पूर्वजानकारी दिएर सतर्क गराइदिनुहुन म विशेष अनुरोध गर्दछु,” उनले भने ।

साथै यसपटक सामाजिक सञ्जाल अनुगमनका लागि वैदेशिक सहयोगमा प्राप्त विशेष ‘सोसल मिडिया मनिटरिङ टुल्स’ प्रयोग गर्ने तयारी गरिएको छ । यस प्रणालीले सामाजिक सञ्जालमा हुने कुनै पनि किसिमको दुरुपयोगलाई तत्काल वा भोलिपल्ट बिहानै पहिचान गरी आयोगलाई जानकारी दिने उनले बताए ।

उक्त प्रविधिले तस्बिर मात्र नभई शब्दहरू (किवर्ड) समेत ट्रयाक गर्ने र प्राप्त सूचनाका आधारमा कानुनी प्रावधान अनुसार सम्बन्धित पक्षलाई प्रश्न गर्ने वा स्पष्टीकरण सोध्ने जस्ता प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।

अनुगमनका क्रममा दोषी पाइएका उम्मेदवार वा व्यक्तिलाई सिधै कारबाही नगरी प्रक्रियागत रूपमा अघि बढ्ने आयोगको नीति रहेको छ । “हामी एकैचोटि कसैको उम्मेदवारी रद्द गर्दैनौँ,” उनले भने, “सुरुमा स्पष्टीकरण सोधिनेछ, जवाफ चित्तबुझ्दो नभएमा वा आचारसंहिता उल्लंघन भएको पुष्टि भएमा मात्र कानुन बमोजिमको थप कारबाही अगाडि बढाइनेछ ।”

आयोगले आफ्नो संयन्त्रलाई चौबीसै घण्टा सक्रिय राखेर सामाजिक सञ्जालमा हुने हरेक गतिविधिलाई नजिकबाट नियाल्ने तयारी पूरा गरेको समेत उनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: माघ २, २०८२ १५:३५