निर्वाचनको डेटा लिक भएको हल्ला चलेपछि पेनटेस्टर नेपालले भन्योः संवेदनशील विवरण दुरुपयोग नगरौँ
मंसिर ३, २०८२ १२:४०
काठमाडौँ । निर्वाचन आयोग नेपालको डेटा लिक भएको खबर फैलिएपछि साइबर सुरक्षामा सक्रिय समुदाय ‘पेनटेस्टर नेपाल’ले सबैलाई सचेत गराएको छ । मङ्गलबार सामाजिक सञ्जाल मार्फत समुदायले यस्ता विवरण राष्ट्रका लागि अत्यन्तै संवेदनशील र महत्त्वपूर्ण हुने भन्दै त्यसको दुरुपयोग नगर्न आग्रह गरेको हो ।
सूचनामा निर्वाचन आयोगसँग सम्बन्धित डेटा राष्ट्रिय महत्त्वको विषय भएको उल्लेख गर्दै यसलाई जिम्मेवारपूर्वक प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ । सामाजिक सञ्जालमा देखिएका अपुष्ट खबरपछि नागरिकको व्यक्तिगत विवरण जोखिममा पर्न सक्ने भन्दै समुदायले आफ्नो गम्भीर चासो व्यक्त गरेको हो ।
“यदि तपाईँले कुनै कमजोरी, शङ्कास्पद गतिविधि वा सम्भावित चुहावटको प्रमाण फेला पार्नुभयो भने कृपया निर्वाचन आयोगलाई सम्पर्क गर्नुहोस् वा हामीलाई सिधै मेसेज पठाउनुहोस्,” पोस्टमा भनिएको छ, “हामी नागरिकको डेटालाई थप जोखिममा नराखी जिम्मेवारीपूर्वक समस्याको प्रमाणीकरण, विश्लेषण र समाधानमा सहयोग गर्न हाम्रा सबै उपलब्ध स्रोत परिचालन गर्नेछौँ ।”
यस्ता डेटालाई सार्वजनिक गर्ने, शेयर गर्ने वा दुरुपयोग गर्ने जस्ता कुनै पनि कार्यमा संलग्न नहुन समेत समुदायले अनुरोध गरेको छ । साथै यदि कसैले कुनै सम्भावित कमजोरी, शङ्कास्पद गतिविधि वा डेटा चुहावटको प्रमाण फेला पारेमा त्यसलाई जथाभाबी प्रकाशन गर्नुको सट्टा जिम्मेवार निकायलाई जानकारी गराउन पनि अपिल गरिएको छ ।
नेपालको डिजिटल पूर्वाधारको सुरक्षा र यस्ता संवेदनशील मामिलालाई जिम्मेवारीपूर्वक समाधान गर्न सामूहिक प्रयास आवश्यक रहेकोमा पनि समुदायले जोड दिएको छ ।
पछिल्लो अध्यावधिक: मंसिर ३, २०८२ १२:४३
