झापामा बालेनलाई गोली हान्नुपर्छ भन्दै भाइरल भइरहेको भिडिओबारे प्रहरीले थाल्यो अनुसन्धान
माघ ७, २०८२ १८:३०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई झापामा गोली हान्ने भन्दै सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडिओबारे साइबर ब्युरोले अनुसन्धान सुरु गरेको छ । टिकटक लाइभमार्फत ज्यान मार्ने धम्की दिइएको विषय सार्वजनिक भएपछि ब्युरोले बुधबारदेखि सूक्ष्म अनुसन्धान थालेको हो ।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले सामाजिक सञ्जालमा प्रमुख शाहमाथि भौतिक आक्रमण गर्ने योजना बुनिएको भन्ने भिडिओका सम्बन्धमा अनुसन्धान भइरहेको पुष्टि गरे । “टिकटक लाइभमार्फत ज्यान मार्ने धम्की दिने कार्य प्रचलित कानुनविपरीत र दण्डनीय छ,” प्रवक्ता अवस्थीले टेकपानासँग भने, “हामीले यस विषयमा विस्तृत अनुसन्धान गरिरहेका छौँ ।”
भाइरल भिडिओमा केही व्यक्तिले बालेनझापा पुगेको समयमा गोली हान्ने वातावरण बनाउनुपर्ने भन्दै उत्तेजक संवाद गरेका छन् । संवादमा संलग्न एक व्यक्तिले झापा क्षेत्र नं. ५ का प्रतिनिधिसँग कुरा भइसकेको र सर्वदलीय बैठककै क्रममा गोली हान्न तयार रहेको दाबी गरेका छन् । उनीहरूले शाहलाई लखेट्ने, बाटो छेक्ने, कुटपिट गर्ने र कालोमोसो दल्नेसम्मका धम्की दिएका छन् ।
प्रहरीले सामाजिक सञ्जालमा लहडको भरमा कसैलाई ज्यान मार्ने वा भौतिक आक्रमणको धम्की नदिन समेत आग्रह गरेको छ । यस्ता गतिविधिले गम्भीर कानुनी झन्झट निम्त्याउने भन्दै प्रवक्ता अवस्थीले सचेत रहन सुझाव दिएका छन् ।
पछिल्लो अध्यावधिक: माघ ७, २०८२ १८:३१
