close

फ्याक्टचेकः बालेनले कार्यकर्तालाई धकेलेको भिडिओ एआई सिर्जित भन्दै फैलाइएको दाबी भ्रामक

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

माघ ७, २०८२ २२:३२

फ्याक्टचेकः बालेनले कार्यकर्तालाई धकेलेको भिडिओ एआई सिर्जित भन्दै फैलाइएको दाबी भ्रामक

काठमाडौँ । मङ्गलबार बेलुकीदेखि सामाजिक सञ्जालका विभिन्न माध्यममा बालेन्द्र शाह (बालेन) ले कार्यकर्तालाई धकेलेको भिडिओ ‘एआई सिर्जित’ भएको दाबीसहितका पोस्टहरू भाइरल भइरहेका छन् । झापा-५ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने क्रममा बालेन र समर्थकबिच धकेलाधकेल भएको भिडिओलाई लिएर विभिन्न किसिमका टिप्पणीहरू भइरहेका छन् । 

कतिपयले बालेन झोक्किएर समर्थकलाई धकेलेको दृश्य एआईद्वारा बनाइएको दाबी गरे तापनि टेकपाना फ्याक्टचेकको अनुसन्धानले उक्त भिडिओ वास्तविक रहेको पुष्टि गरेको छ । एआई सिर्जित भन्दै विभिन्न कोणबाट विश्लेषण गरिए तापनि टेकपानाले सो भाइरल भिडिओ वास्तविक नै भएको ठहर गरेको हो । 

दाबी

सामाजिक सञ्जाल ‘थ्रेड्स’ प्रयोगकर्ता ‘khadkaraj07’ ले बालेनले रातो-रातो स्विटर लगाएका व्यक्तिलाई धकेलेको जस्तो देखिने भिडिओ एआईबाट तयार भएको दाबीसहित पोस्ट गरेका छन् । उनले लेखेका छन्, “एउटा AI प्रयोग गरेर बनाइएको भिडियोले घाम तातेको छ। कहिले सम्म होला छलछाम गरेर अरुलाइ तल्लो स्तरको व्यबहार गरेर जनता झुक्याउने।” हेर्नुहोस् पोस्ट र स्क्रिनशट ।  


 

फेसबुक प्रयोगकर्ता ‘Kamal Shrestha’ ले पनि बुधबार बालेने धकेलेको जस्तो देखिने भिडिओ एआईबाट बनाएको दाबी गरेका छन् । बुधबार दिउँसो ४:२६ मा भिडि‌ओ सार्वजनिक गर्दै उनले लेखेका छन्, “बालेन शाहलाई बदनाम गर्न एआई (AI) र टेक्नोलोजीको कतिसम्म दुरुपयोग गरिँदैछ भन्ने यो एउटा उदाहरण हो। 😡 ​तलको भिडियो FAKE (नक्कली) हो जहाँ उनले आफ्नो स्टाफलाई धक्का दिएको जस्तो देखाइएको छ। तर माथिको REAL (वास्तविक) भिडियो हेर्नुस्, सत्य त्यहीँ छ। उनी आफ्नो टिमसँग सम्मानपूर्वक हिडिरहेका छन्। ​राम्रो काम गर्नेको खुट्टा तान्नेहरु धेरै हुन्छन्, गलत हल्लाको पछि नलागौं। सत्य सधैं सत्य नै हुन्छ!” हेर्नुहोस् पोस्ट र स्क्रिनशट । 

 

फेसबुकमै इशा गुरुङले २१ जनवरी २०२६ बेलुका ०६ः०९ बजे भिडिओ पोस्ट गरेकी छिन् । उक्त भिडिओको एकातिर रियल र अर्कोतिर फेक भन्दै दुई फरक भिडिओ राखिएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट र स्क्रिनशट । 

२० जनवरी राति ११:०६ मा सामाजिक सञ्जाल ‘एक्स’ प्रयोगकर्ता ‘Prakash Timalsina’ ले बालेनले मुक्का हानेको दाबीसहित पोस्ट गरेका छन् । उनले लेखेका छन्, “भावी प्रधानमन्त्रीले रिसाएर समर्थकलाई नै मुक्का हानिदिनु भएछ, ला अब के गर्ने होला ?”


 


अनुसन्धान

सामाजिक सञ्जालमा बालेन रिसाएको दाबीसहित विभिन्न भिडिओहरू शेयर भएका छन् । ‘मनोनयन दर्ता गर्न जाँदा बालेन शाह आफ्नो समर्थकसँग रिसाए’ शीर्षकमा ‘Raj Bishnu’ नामको फेसबुक अकाउन्टबाट २० जनवरी दिउँसो ४:४७ मा भिडिओ शेयर भएको छ । उक्त भिडिओमा बालेनले पछाडितर्फ फर्किएर धकेलिरहेको देखिएका छन् । 

 

फेसबुक प्रयोगकर्ता ‘Royal Anup Xettri’ ले पनि बालेन आक्रोशित भएको देखिने क्लिप सहितको भिडिओ सार्वजनिक गरेका छन् । २० जनवरी राति ११:०२ मा सार्वजनिक उक्त भिडिओको स्टाटसमा लेखिएको छ, “घमन्डी मान्छेलाई देशको प्रधानमन्त्री बनाउन चाहेको दाबी गर्दै तपाई प्रधानमन्त्री भने मान्छे को हर्कत हेर्नू घन्टे हरु यस्तो मान्छे ले देश को प्रधानमन्त्री भने छि लाज नभएको  बोल्ने शब्द  कस्तो लाई देश दिनु भन्दा त के पि ओलि ठिक छ के पि ओलि जिन्दावाद ।”


 

सामाजिक सञ्जालमा बालेनले धकेलिरहेको दाबी सहितका विभिन्न भिडिओहरू सार्वजनिक भएका छन् । कुनै भिडिओमा बालेन रातो लुगा लगाएका व्यक्तिलाई धकेलिरहेको जस्तो देखिएका छन् त कुनै भिडिओमा सेतो लुगा लगाएको व्यक्तिलाई धकेलिरहेको देखिएका छन् । 

त्यसपछि हामीले बालेनले धकेलेको देखिने विभिन्न भिडिओहरू केलायौँ । सामाजिक सञ्जालमा मङ्गलबार बालेनले मनोनयन दर्ता गर्ने क्रममा सार्वजनिक भएका भिडिओ खोज्दा ‘Sunaulo nepal’ नामक फेसबुक पेजले “बालेन मनोनयन दर्ता गर्न जादा देखियो यस्तो माहोल” शीर्षकमा सार्वजनिक भिडिओ फेला पर्‍यो । 

उक्त भिडि‌ओको ४४ सेकेन्ड देखि ५२ सेकेन्डसम्मको क्लिपमा बालेन पछाडि फर्केर धकेलिरहेको जस्तो देखिएका छन् । भिडिओको ५२ सेकेन्डपछि भने अर्को क्लिप जोडिएको छ । त्यसपछि हामीले मङ्गलबार बालेन आक्रोशित भएको अन्य भिडिओहरू खोज्ने प्रयास गर्‍यौँ । खोज्ने क्रममा फरक एङ्गलबाट खिचिएको, तर ‘Sunaulo nepal’ को भिडिओसँग मिल्दो अर्को भिडिओ फेला पर्‍यो । 

हेर्नुहोस् भिडिओ:

‘Madani Beat’ नामक फेसबुक पेजले राखेको उक्त भिडिओमा बालेन आक्रोशित भएको देखिने क्लिपहरू समावेश छ । बिचमा कुनैपनि क्लिप नकाटिएको १ मिनेट १८ सेकेन्ड लामो भिडिओको वाटरमार्कमा भने ‘MERO SUCHANA’ लेखिएको छ । हेर्नुहोस् ‘Madani Beat’ मा सार्वजनिक भिडिओ । 

त्यसपछि हामीले फेसबुक पेज ‘Mero Suchana’ मा मदानी बिटले नै राखेको भिडिओ खोज्यौँ । तर हाल उक्त भिडिओ भने पेजमा उलपब्ध छैन । तर भिडिओको पहिलो ३ सेकेन्डको भिडिओ भने उक्त पेजमा अहिले पनि उपलब्ध रहेको देखिएको छ । 

हामीले उक्त भिडिओ क्लिपलाई विश्लेषण गर्‍यौँ: 

  • भिडिओको ०:०२ मिनेटमा पछाडिबाट बालेन आइरहेका छन् । त्यही बेलामा रातो-रातो स्विटर लगाएका व्यक्तिलाई कसैले धक्का दिएको देखिन्छ । धक्का दिने व्यक्तिको हातमा मरुन रङको लुगा लगाइएको छ, त्यो भन्दा बाहिर कालो लुगा देखिन्छ । 

  • ०:०३ मिनेटमा अर्जुन घिमिरे (पाँडे) क्यामेरामा देखिएका छन् । उनको हातमा देखिएको कपडा र धक्का दिने मानिसको हातमा भएको कपडा मिलेको छ । 

  • ०:०६ मिनेटमा बालेन पछाडि फर्किएर केही धक्का दिएको जस्तो देखिन्छन् । त्यसपछि अगाडि फर्किएर निधार मुसारेका छन् । 

  • ०:१२ सेकेन्डमा बालेन फेरि पछाडि फर्किएका छन् र फेरि पनि धक्का दिएको जस्तो अवस्थामा देखिएका छन् । 

  • त्यसपछि सुरुमा धक्का खाएका रातो-रातो स्वेटर लगाएका व्यक्ति अगाडि आएका छन् । 

  • ०:२४ सेकेन्डमा बालेनले पछाडि फर्किएर हात भिडतिर देखाउँदै ‘हुँदैन’ भनिरहेको सुनिएका छन् । यस बेलामा उनले हातमा केही बल दिएका छन्, तर हातले कसैलाई छोइएको छैन । 

  • बालेन चर्को आवाजमा रिसाउँदै फ्रेममा पहिलेदेखि देखिएका रातो रातो स्विटर धारी व्यक्तिसँग चर्को स्वरमा बोलिरहेका छन् । 

  • ०:२६ सेकेन्डमा उनले रातो स्वेटर लगाएका व्यक्तिलाई धक्का दिए जस्तो देखिएको छ । 

  • ०:२९ सेकेन्डमा बालेन अघि अघि लागेका छन् भने धक्का खाएका व्यक्ति बालेनकै पछि पछि हिँडेका छन् ।   

तल हेर्नुहोस् टेकपाना तथ्यजाँच टोलीले विश्लेषण गरेको भिडिओ:

‘Sunaulo nepal’ र ‘Mero Suchana’ ले एउटै समयको फरक फरक एङ्गलबाट खिचेको भिडिओ राखेकाले उक्त भिडिओ एआईबाट बनेको आधार देखिँदैन । एआई डिटेक्सन टुल ‘हाइभ मोडेरेसन’ ले पनि उक्त भिडिओ एआई जेनेरेटेड नरहेको देखायो । 


यता, फेसबुकमा ‘Aamsanchar’ नामक पेजले ‘बालेनले धकेलेका मुख्य पात्र मिडियामा, वास्तविक कुराको चीरफार’ शीर्षकमा बुधबार बिहान ११:१३ मा एउटा भिडिओ राखेको छ । भिडिओमा बालेनले धक्का दिएको देखिएका व्यक्ति अर्थात् अर्जुन उप्रेतीले ‘आमसञ्चार’ लाई अन्तर्वार्ता दिएका हुन् । 

झापा जिल्ला कार्यालयको रास्वपा अनुशासन आयोग प्रमुख समेत रहेका उनले बालेनले आक्रोश देखाउने भन्दा पनि भिडलाई नियन्त्रण गर्न आग्रह गर्दा धकेलिएको बताएका छन् । उनले आफ्नो बालेनसँग राम्रो चिनजान समेत रहेको अन्तर्वार्तामा खुलाएका छन् । 

बालेनसँग काठमाडौँमा पुगेर पनि छलफल भएको र बालेनले आफूलाई राम्रोसँग चिन्ने उनको भनाई छ । जिल्ला निर्वाचनको आचारसंहिताका कारण मनोनयन दर्ताका क्रममा २५ जनाभन्दा धेरै कार्यालय छिर्न नहुने भएकाले त्यस्तो समयमा भिडलाई नियन्त्रण गर्ने क्रममा उक्त घटना भएको उनले बताएका छन् ।

अन्तर्वार्तामा भाइरल भइरहेको घटनाको बारेमा बताउँदै उप्रेतीले भनेका छन्, “(बालेनले) धेरै मान्छेलाई छिर्न दिनु हुँदैन भनिराख्नु भएको थियो । अब त्यो मास (भिड) जति गर्दा नि भएन । फेरि मास कन्ट्रोल गर्नुस् भनिरहनु भएको थियो, मलाई । केही गर्दा नि कन्ट्रोल हुँदैन । उहाँ त रिसालु ‘कन्ट्रोल गर्नुस् न यार’ । विभिन्न फाइन (जरिबाना) हुन सक्छ । उम्मेदवारीमा समस्या हुन सक्छ । के भन्छन्, कसो भन्छन् । बित्थामा फाइन पर्ला । उता जानुस् त कन्ट्रोल गर्नुस् भनेको हो, त्यत्ति हो ।” 

हातले धकेलिएको तर्फ इङ्गित गर्दै उनले बालेनले हातको प्रयोग गरेर भिडलाई रोकथाम गर्न अनुरोध गरेको उप्रेतीले आमसञ्चारसँगको अन्तर्वार्तामा दाबी गरेका छन् । हामीले मङ्गलबारको विवादित क्लिपको बारेमा बालेनसँगै देखिएका अर्जुन घिमिरे अर्थात् पाँडेसँग टेलिफोनमा कुराकानी गर्‍यौँ । निर्वाचन आचारसंहिताभन्दा विपरीत भिड जम्मा भएपछि उक्त घटना भएको घिमिरेले बताए । 

उनले भने, “मनोनयनका लागि जाँदै गर्दा आचारसंहिता अनुसार २५ जना भन्दा धेरै लिएर जान नपाउने । नत्र मनोनयन नै खारेज हुने सम्भावना थियो । जाँदै गर्दा धेरै जना आउनु भयो । गेटदेखि धेरै चोटि अनुरोध गर्नु भयो मेयरज्युले । हामीले अनुरोध गर्‍यौँ । र पनि भिडिभाड बढ्दै गएपछि अवस्था अलिकति बिग्रिन सक्ने जस्तो देखिएर नआउनुहोस् तपाईँहरू मनोनयन खारेज हुन सक्छ भनेको हो ।”

दाबी

मङ्गलबार झापामा मनोनयन दर्ताका क्रममा बालेन्द्र शाह (बालेन) ले आफ्ना समर्थक/कार्यकर्तालाई धकेलेको भिडिओ ‘एआई’ प्रयोग गरेर बनाइएको हो ।

दाबीकर्ता

'Khadkaraj07', इशा गुरुङ, ‘‘गण्डकी आज डिजिटल मिडिया -Gandaki Aaja’, ‘Kamal Shrestha’ लगायतका फेसबुक पेज तथा प्रयोगकर्ता ! 

तथ्य

‘सुनौलो नेपाल’, ‘मदानी बिट’ र ‘मेरो सूचना’ जस्ता विभिन्न सञ्चार माध्यम तथा फेसबुक पेजहरूले खिचेका फरक-फरक एङ्गलका भिडिओमा बालेनले समर्थकलाई पछाडि धकेल्न खोजेको दृश्य कैद भएको छ । एआई डिटेक्सन टुलले पनि उक्त भिडिओ एआई निर्मित नभएको देखाएको छ । 

निर्वाचन आचारसंहिता अनुसार मनोनयन दर्ताका क्रममा २५ जनाभन्दा बढी व्यक्ति जान निषेध छ । धेरै समर्थक कार्यालयभित्र छिर्न खोज्दा उम्मेदवारी नै खारेज हुन सक्ने जोखिम देखिएकाले बालेनले भिडलाई रोक्न र नियन्त्रण गर्न बल प्रयोग गरेको देखिन्छ । त्यस्तै, भिडिओमा धकेलिएका मुख्य व्यक्ति अर्जुन उप्रेती (रास्वपा झापाका अनुशासन आयोग प्रमुख) ले अन्तर्वार्तामा बालेनले आफूलाई कुटपिट नगरेको बरु भिड नियन्त्रण गर्न आग्रह गर्दै पछाडि हट्न खोजेको स्पष्ट पारेका छन् । अर्का प्रत्यक्षदर्शी अर्जुन घिमिरे (पाँडे) ले पनि आचारसंहिता जोगाउन मेयर बालेनले भिड रोक्न खोजेको बताएका छन् । 

निष्कर्ष
बालेन शाहले समर्थकलाई धकेलेको जस्तो देखिने भिडिओ एआई निर्मित नभई वास्तविक हो । उक्त सामग्रीलाई एआई भिडिओ भन्दै विभिन्न तवरबाट गरिएका दाबी भ्रामक देखिन्छन् । यद्यपि, बालेनले रिसको झोकमा वा नियतबस कार्यकर्तालाई कुटपिट गरेको नभई, निर्वाचन आचारसंहिता पालना गराउन र भिडलाई नियन्त्रणमा राख्नका लागि त्यसो गरेको प्रत्यक्षदर्शीको दाबी छ ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्सयुट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: माघ ८, २०८२ ६:४१