काठमाडौँ उपत्यकाका सबै सार्वजनिक सवारीमा सीसीटीभी तथा ड्याशक्याम अनिवार्य, लामोदुरीमा जीपीएस पनि
माघ ८, २०८२ १०:४
काठमाडौँ । ट्राफिक प्रहरीले बुधबारदेखि काठमाडौँ उपत्यकाभित्र गुड्ने सवारी साधनमा सीसीटिभी तथा ड्याशबोर्ड क्यामेरा जडान सुरु गरेको छ । यातायात व्यवसायीहरूसँगको समन्वयमा सबै खाले यात्रु वाहक सार्वजनिक यातायातका साधनमा सुरक्षाका लागि यस किसिमको प्रबन्ध गरिएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले यसका लागि सरोकारवाला र व्यवसायीसँग छलफल तथा समन्वय र सहमति गरिएको जानकारी दिए । "दुर्घटनाको अनुसन्धान, सडक सुरक्षा लगायत चोरी, पकेटमार आदि जस्ता आपराधिक गतिविधिबाट सुरक्षा कायम गर्न सीसीटिभी क्यामेरा जडान गर्न लागिएको हो," उनले टेकपानासँग भने । "जति सक्दो चाँडो विशेषगरी बसमा सीसीटिभी क्यामेरा जडानको कार्य सम्पन्न गर्ने गरी हामी अगाडि बढेका छौँ । सम्भवतः एक महिनाभित्रमा उपत्यकाका सबै यात्रुवाहक सार्वजनिक सवारी साधनमा क्यामेरा जडानको कार्य सम्पन्न हुनेछ ।"
लामो दुरीका कतिपय बसमा भने यसअघि देखि नै सीसीटिभी क्यामेरा राखिएका छन् । सीसीटिभी क्यामेरा नभएका लामो दुरीका बसमा जडान गर्ने र जीपीएस समेत राख्ने कार्य पनि सँगसँगै अगाडि बढाइने सुवेदीले बताए ।
"कुनै नियम बनाएर अनिवार्य गर्ने भन्दा पनि अनौपचारिक रूपमा सबैले जोड्ने कुरामा सहमति बनेको छ । दुर्घटना तथा अपराधका केसमा प्रहरीले चालकलाई समेत अनुसन्धानमा तान्नुपर्ने अवस्था विद्यमान छ । कतिपय अवस्थामा त सवारी नै कयौँ दिनसम्म प्रहरी कार्यालयहरूमा होल्डमा रहने गर्छन्," उनले भने ।
"सीसीटिभी क्यामेरा राख्दा सवारीसाधन, चालक र यात्रु सुरक्षाका साथै सवारी चालक र सवारी धनीलाई हुने झन्झट समेत कम हुन्छ । चालकको संलग्नता छैन भन्ने कुरा सीसीटिभी फुटेजबाटै देखियो भने सोधपुछमा ल्याउनु पर्दैन । जसले गर्दा अनुसन्धानमा सहयोग पुग्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउन समेत यो सहयोगी बन्ने देखिन्छ ।"
जीपीएस जडानले दुर्घटनामा पर्दा उद्धार तथा खोजतलासको कार्यलाई छिटोछरितो बनाउन सकिने अपेक्षा समेत प्रहरीको छ । सुवेदीले अगाडि भने, "मुग्लिन-नारायणघाट सडक खण्डमा दुर्घटनामा परेका केही सवारी साधन फेला नै नपरेको अवस्था पनि छ । जीपीएस भयो भने खोजतलास कार्यमा सजिलो हुन्छ ।"
अर्को कुरा गाडी धनीलाई थाहा नदिई सवारीसाधन अन्यत्र लैजाने र राख्ने गतिविधिहरू पनि भइरहेका हुन्छन् । यस्ता अनेक विकृति विसङ्गति नियन्त्रण गर्न सीसीटिभी र जीपीएस प्रणाली सवारी धनीदेखि सबैका लागि सहयोगी बन्ने सुवेदीको भनाई छ । सीसीटिभी क्यामेरा र जीपीएस सिस्टम जडानका लागि लाग्ने खर्च सवारी धनी स्वयँले ब्यहोर्नुपर्नेछ ।
पछिल्लो अध्यावधिक: माघ ८, २०८२ १०:४
