close

फ्याक्टचेक: रास्वपाका बैतडी उम्मेदवार रक्सी खाएर नालीमा लडेको भनिएको तस्बिर नक्कली

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

माघ ९, २०८२ १४:४०

फ्याक्टचेक: रास्वपाका बैतडी उम्मेदवार रक्सी खाएर नालीमा लडेको भनिएको तस्बिर नक्कली

काठमाडौँ । आगामी निर्वाचनका लागि बैतडीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिमोहन भण्डारी रक्सी खाएर सडकको नालीमा लडेको देखिने एक तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । टेकपानाको तथ्यजाँचबाट उक्त तस्बिर गुगल एआईको प्रयोगबाट तयार पाएको पुष्टि भएको छ । 

दाबी 

फेसबुक प्रयोगकर्ता ‘Laxman Dhami’ ले रास्वपा बैतडीका उम्मेदवार रात परेपछि रक्सी खाएर नालीमा लडेको अवस्थामा भेटिएको दाबी सहित पोस्ट गरेका छन् । पोस्टमा भनिएको छ, “बैतडी मा रास्वपाकाे उम्मेदवार रात परेसि याे अबस्थामा भेटिएका छन तस्बिर : सामाजिक संजाल” उक्त पोस्टमा यो सामाग्री तयार पार्दा सम्म २३ सयभन्दा बढि रियाक्ट गरिएको छ । यस्तै ६५९ कमेन्ट र १७२ शेयर भएको छ । हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

उक्त पोस्टलाई ‘Mahesh Bikram MK’ नामको फेसबुक अकाउन्टबाट 'News24 Nepal', नेकपा एमाले राजनेता केपी शर्मा ओली, Galaxy 4K सिधा कुरा, नेपाली कम्युनिष्ट पार्टी ☭, Durga Prasai - दुर्गा प्रसाई जस्ता हजारौँ सदस्य रहेको ग्रुपमा शेयर समेत गरेको पाइएको छ । 

अनुसन्धान 

हामीले बझाङको उम्मेदवार राति रक्सी खाएर नालीमा लडेको दाबीसँग सम्बन्धित अन्य पोस्टहरू पनि खोज्ने प्रयास गर्‍यौँ । ‘रास्वपा राति बझाङ’ ‘रास्वपा उम्मेदवार राति’ ‘रक्सि खाएर रास्वपा’, ‘राति बाटोमा रास्वपा’ ‘बझाङ उम्मेदवार लडेर’ लगायतका कि वर्डहरू फेसबुक, टिकटक, एक्स, युट्युबमा राखेर सर्च गर्‍यौँ । यसरी सर्च गर्दा उक्त दाबी भएका अन्य पोस्टहरू फेला परेन । 

त्यसपछि हामीले ‘Laxman Dhami’ ले राखेको फोटोलाई गुगल रिभर्स सर्च गरेर खोज्ने प्रयास गर्‍यौँ । गुगलले उक्त तस्बिर गुगल एआईबाट तयार पारेको डिटेक्ट गर्‍यो । 

 

त्यसपछि हामीले गुगलको एआई च्याटबट ‘जेमिनाई’ लाई उक्त तस्बिरमा सिङ्क आईडी भए नभएको सोध्यौँ । जेमिनाईले उक्त तस्बिरमा सिङ्क आईडी रहेको जवाफ दियो । जेमिनाईका अनुसार यो तस्बिरको अधिकांश हिस्सा गुगल एआईबाट तयार भएको हो । 

 

 

यस्तै यो तस्बिरलाई हामीले एआई डिटेक्सन टुल हाइभ मोडेरसनमा राखेर हेर्‍यौँ । हाइभ मोडेरेसनले पनि यो तस्बिर ९९ % एआई निर्मित रहेको डिटेक्ट गर्‍यो । 

 

उक्त तस्बिर एआईबाट निर्मित भएको पत्ता लागेपछि हामीले रास्वपाले बझाङमा आगामी निर्वाचनमा उठाएका उम्मेदवारको बारेमा बुझ्ने प्रयास गर्‍यौँ । सेतोपाटीले “राष्ट्रिय स्वतन्त्र पार्टीका यी हुन् १६४ उम्मेदवार” शीर्षकमा ६ माघमा सार्वजनिक गरेको समाचार अनुसार बैतडीको रास्वपा उम्मेदवार हरिमोहन भण्डारी हुन् । 

 

 

 

त्यसपछि हामीले ‘हरिमोहन भण्डारी रास्वपा’ किवर्डले गुगल एड्भान्स सर्च गर्‍यौँ । यसरी खोज्दा भण्डारीको चुनाव प्रचार प्रसार गरिएको केही पोस्टहरू फेला परे । ती पोस्टहरूमा राखिएको फोटोमा भण्डारीले लगाएको कपडा र एआई निर्मित फोटोमा प्रयोग भएको कपडा समान किसिमका देखिएको छ । 

 

सामाजिक सञ्जालमा प्रयोग भएको तस्बिरहरूलाई नै म्यानुपुलेट गरेर एआईबाट भण्डारी रक्सि खाएर लडिरहेको जस्तो तस्बिर तयार पारिएको निष्कर्षमा हामी पुग्यौँ ।  

दाबी 

रास्वपा बैतडीका उम्मेदवार (हरिमोहन भण्डारी) राति रक्सी खाएर नालामा लडेको अवस्थामा भेटिए । 

दाबीकर्ता 

‘Laxman Dhami’, ‘Mahesh Bikram MK’ लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता । 

तथ्य 

रास्वपा बैतडीका उम्मेदवार हरिमोहन भण्डारी रक्सी खाएर नालीमा लडेको दाबी गरिएको तस्बिर पूर्णतः एआई जेनेरेटेड भएको तथ्यजाँचबाट पुष्टि भएको छ । विभिन्न एआई डिटेक्सन टुल र प्राविधिक विश्लेषणका अनुसार उक्त तस्बिर बनाउन गुगलको एआई टुल प्रयोग गरिएको छ, जसमा भण्डारीका सामाजिक सञ्जालमा उपलब्ध वास्तविक तस्बिरहरूलाई तोडमरोड गरी भ्रामक दृश्य सिर्जना गरिएको देखिन्छ । 

निष्कर्ष 

रास्वपा बैतडीका उम्मेदवार हरिमोहन भण्डारी रक्सी खाएर नालामा लडेको दाबी सहितको फोटो राखेर मिथ्या सूचना फैलाइएको हो । तथ्यजाँचले उक्त फोटो बनाउन गुगल एआईको प्रयोग भएको देखाएको छ ।

 

 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: माघ ९, २०८२ १४:५२