काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आफ्ना समर्थकलाई सामाजिक सञ्जालको प्रयोगमा संयमता अपनाउन आग्रह गरेको छ । पार्टीले आफ्ना समर्थकहरू कस्तो चरित्रको हुनुपर्छ भन्ने सन्दर्भमा मार्गनिर्देशन जारी गर्दै सामाजिक सञ्जालमा मर्यादित र संवेदनशील उपस्थिति जनाउन निर्देशन दिएको हो ।
रास्वपाले सार्वजनिक गरेको विवरण अनुसार समर्थकले सामाजिक सञ्जाल प्रयोग गर्दा कसैलाई पनि अपमान नगर्न, अपशब्द प्रयोग नगर्न र कसैको व्यक्तिगत चरित्र हत्या हुने खालका कुनै पनि कार्य नगर्न वा नगराउन सचेत गराएको छ । पार्टीले आफ्ना शुभचिन्तकलाई स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्न र पक्ष वा विपक्षका अभिव्यक्तिलाई यथोचित कदर गर्दै सत्यतथ्यमा आधारित यथार्थ सूचना मात्र प्रवाह गर्न आग्रह गरेको छ ।
यसैगरी पार्टीले आफ्ना समर्थकलाई भौतिक रूपमा पनि संयमित रहन निर्देशन दिँदै कसैमाथि भौतिक आक्रमण नगर्न र लोकतान्त्रिक मूल्य मान्यता विपरीत पत्रपत्रिका जलाउने जस्ता उच्छृङ्खल कार्यहरू नगर्न स्पष्ट पारेको छ । समाजमा सत्य र तथ्य प्रकाशमा ल्याउन सहयोग गर्दै एक संवेदनशील र जिम्मेवार नागरिकको रूपमा प्रस्तुत हुनु नै रास्वपाले परिकल्पना गरेका समर्थकहरूको मुख्य विशेषता हुनुपर्नेमा पार्टीले जोड दिएको छ ।
पछिल्लो अध्यावधिक: माघ ९, २०८२ १७:४८
