close

सामाजिक सञ्जालमा भ्रामक, मिथ्या घृणास्पद सूचना फैलाउनेमाथि निर्वाचन आयोगले थाल्यो कारबाही

टेकपाना टेकपाना

माघ ९, २०८२ १८:३१

सामाजिक सञ्जालमा भ्रामक, मिथ्या घृणास्पद सूचना फैलाउनेमाथि निर्वाचन आयोगले थाल्यो कारबाही

काठमाडौँ । निर्वाचन आयोगले सामाजिक सञ्जालमा भ्रामक, झुटा र मिथ्या सूचना फैलाउनेहरू विरुद्ध कारबाही थालेको छ । आयोगले पहिलो चरणमा ९८ ओटा हानिकारक सामग्री (कन्टेन्ट) पहिचान गरी कारबाहीको प्रक्रिया अघि बढाएको हो ।

आयोगले पहिचान गरेका सामग्रीहरूको सूची तयार गरी आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरो, प्रेस काउन्सिल र सम्बन्धित सामाजिक सञ्जाल प्लेटफर्महरूलाई पत्राचार गरिसकेको छ । सहायक प्रवक्ता नारायणप्रसाद अर्यालका अनुसार, निर्वाचनको स्वच्छतामा आँच पुग्न नदिन र मतदाताहरूलाई गलत सूचनाबाट प्रभावित हुन नदिन आयोग पूर्ण रूपमा सचेत रहेको छ ।

निर्वाचनको समयमा अनलाइन माध्यमबाट फैलिने 'टक्सिक इन्फर्मेसन' नियन्त्रण गर्न आयोगले आफ्नै सूचना सदाचार प्रवर्द्धन केन्द्र मार्फत निगरानी बढाएको छ । यस केन्द्रले मिथ्या सूचना (Disinformation), भ्रामक सूचना (Misinformation) र घृणास्पद अभिव्यक्ति (Hate Speech) को प्रभावकारी पहिचान र नियन्त्रण गर्न संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को सहयोगमा विकसित ई-मनिटर प्लस सफ्टवेयर प्रयोगमा ल्याएको छ ।

यसका साथै सामग्रीहरूको तथ्य जाँच गर्न निजी क्षेत्रको संस्था टेकपाना सँग समेत समझदारी गरिएको छ । आयोगले सामाजिक सञ्जाल वा अनलाइन मिडियाहरूमा मत सर्वेक्षण गर्ने, कुन दल वा उम्मेदवारले कति सिट जित्छ भनी भविष्यवाणी गर्ने वा यस्तै प्रकृतिका सामग्रीहरू प्रकाशन गर्ने कार्य निर्वाचन आचारसंहिता विपरीत हुने स्पष्ट पारेको छ ।

यस्ता गतिविधि गर्ने पेज वा मिडियाहरूलाई समेत आचारसंहिताको दायरामा ल्याई कारबाही गरिने आयोगको चेतावनी छ ।

 

पछिल्लो अध्यावधिक: माघ ९, २०८२ १८:३१