आफ्नो मिमबारे ओली भन्छन्ः केपी ओलीलाई माटो मुनि गाडेर रक्षा गरौँ भन्दै लेख्छन्, कस्तो मति हो ? यिनले देश बनाउँछन् ?
माघ १०, २०८२ १७:९
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आफूविरुद्ध आउने नकारात्मक टिप्पणीप्रति व्यङ्ग्य गरेका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले ‘नयाँ’ भनिएका राजनीतिक शक्ति र उनीहरूका समर्थकहरूको सोचमाथि प्रश्न उठाएका हुन् ।
सम्बोधनका क्रममा ओलीले आफूले सामाजिक सञ्जालमा एउटा अनौठो स्टाटस देखेको प्रसङ्ग सुनाए । उनले भने, “एउटा स्टाटस लेखेछन् अहिलेका नयाँहरूले- केपी ओली अत्यन्तै महत्त्वपूर्ण हुनुहुन्छ देशका लागि, त्यसकारण उहाँलाई जतनसाथ माटोमुनि गाडिदिनुपर्छ !”
अध्यक्ष ओलीले यस्तो सोचलाई ‘विचित्रको राजनीति’ भन्दै कटाक्ष गरे । “महत्त्वपूर्ण व्यक्तित्व हुनुहुन्छ, देशको सम्पत्ति हुनुहुन्छ, जतनले राख्नुपर्छ, त्यसैले माटोमुनि गाडिदिनुपर्छ रे ! कस्तो मति, कस्तो बुद्धि, कस्तो राजनीति ? केका लागि राजनीति ? हामी विचार गर्न सक्छौँ,” ओलीले भने ।
उनले थपे, “कस्तो पवित्र भावना हेर्नुस् त, मान्छे गाडिदिने जिउँदै ! कति महान् बनाउँछन् यिनले देश ? के यही हो देश बनाउने तरिका ?”
अध्यक्ष ओलीले अहिलेको राजनीतिक लडाइँ देश बनाउने र देश जलाउने/भत्काउने शक्तिहरू बीचको द्वन्द्व भएको दाबी गरे । उनले आफ्ना कार्यकर्ता र समर्थकहरूलाई सधैँ देश बनाउने पक्षमा उभिन र निर्माणको काममा जुट्न निर्देशन समेत दिए ।
उनले भने, “हामी देश बनाउनेको साथमा उभिनुपर्छ, देश बनाउने काममा जुट्नुपर्छ । त्यही काममा साथीहरू जुट्नुभएको छ, म खुसी व्यक्त गर्न चाहन्छु ।”
पछिल्लो अध्यावधिक: माघ १०, २०८२ १७:२८
