close

फ्याक्टचेकः के अनेरास्वियुका पूर्व अध्यक्ष सुजन कडरियाले आफ्नो टेस्ला बालेन लिन पठाएका हुन् ?

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

माघ ११, २०८२ २०:५६

फ्याक्टचेकः के अनेरास्वियुका पूर्व अध्यक्ष सुजन कडरियाले आफ्नो टेस्ला बालेन लिन पठाएका हुन् ?

काठमाडौँ । पूर्वी नेपालको करिब एक साता लामो यात्रापछि शनिबार राति रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) काठमाडौँ आइपुगे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी मिडियासँग कुराकानी छल्दै रातो रङको टेस्ला चढेर गन्तव्यतर्फ लागे । 

त्यससँगै सामाजिक सञ्जालमा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्वियुका पूर्व अध्यक्ष सुजन कडरियाको ‘टेस्ला कार’ मा सवार भएर बालेन गएको भन्दै चर्चा भइरहेको छ । टेकपानाको तथ्यजाँचबाट उक्त कार सुजन कडरियाको नभइ उनको भाइ सुशील कडरियाको रहेको पाइएको छ ।

दाबी

अनलाइन न्युज पोर्टल ‘दैनिकी डटकम’ ले बालेन अनेरास्ववियूका पूर्व अध्यक्ष सुजन कडरियाको गाडीमा हुँइकिएको दाबी सहितको समाचार लेखेको छ ।  “केपी ओली हराउन हिँडेका बालेन शाह सुजन कडरियाको टेस्लामा हुइँकिएपछि…” शीर्षकमा शनिबार राति ९:१२ मा उक्त समाचार लेखिएको थियो । समाचारमा सुजन कडरियाले टेस्ला कार चलाइराखेको भिडिओ र शनिबार बालेन चढेको कारको भिडिओ सँगसँगै राखिएको छ । 

समाचार, आर्काइभ लिङ्क र स्क्रिनशट ।

दैनिकी डटकमले नै सामाजिक सञ्जाल फेसबुकमा पनि सोही दाबी सहित रिल शेयर गरेको छ । हेर्नुहोस् भिडिओ र स्क्रिनशट । 

अनुसन्धान 

अनलाइन पोर्टल ‘रइबार प्रेस’ ले पनि सोही दाबी सहित समाचार राखेको छ । आइतबार बिहान १२:२८ मा सार्वजनिक पोस्टमा सुजन कडरियाको गाडीमा बालेन हिँडेको दाबी गरिएको छ । 

समाचारमा लेखिएको छ, “राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सवार ल्याण्डरोभरलाई लिएर विवाद कायमै रहेका बेला उनी नेकपा एमालेका युवा नेता डा. सुजन कडरियाको टेस्ला चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएका छन् । सात दिनपछि काठमाडौँ फर्किएका बालेन कडरियाको टेस्लामा विमानस्थलबाट बाहिरिँदा एमालेतर्फबाट अवस्था बुझ्न पुगेका केही युवा कार्यकर्ता भने अचम्मित हुँदै फर्किएका थिए ।” हेर्नुहोस् समाचार, आर्काइभ लिङ्क र स्क्रिनशट । 

बीएलले शनिबार (२४ जनवरी) मा “केपी ओलीलाई एकपछि अर्को झट्का, बालेन लिन सुजन कडरियाको टेस्ला गाडी विमानस्थल पुगेपछि…” शीर्षकमा समाचार लेखेका छन् । समाचार, आर्काइभ लिङ्क र स्क्रिनशट ।  

शनिबार राति ९:५७ बजे ‘अमृत ओली धनुष’ नामक फेसबुक अकाउन्टबाट अनेरास्ववियुका अपदस्त अध्यक्ष सुजन कडरियाको गाडीमा बालेन गएको पोस्ट राखिएको छ । उक्त पोस्टमा लेखिएको छ, “आज पुर्वी नेपाल बाट काठमाडौ फर्केका बालेन शाहलाइ लिन गएको टेस्ला कार कसको हो थाहा छ? आउनुहोस कारबाहीको डन्डा बोकेर तर मैले प्रष्ट पार्नै पर्छ । यो कार न-४४०६ अनेरास्ववियुका अपदस्त अध्यक्ष सुजन कडरियाको हो।

हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।   

त्यस्तै ‘Nabaraj Rupakheti’ ले पनि सोही दाबी सहित राति ९:४७ फेसबुकमा स्टाटस लेखेको छ । उक्त पोस्टमा लेखिएको छ, “वालेनले चढेको गाडीमा रोइलो गर्ने "बा" का छोराहरूको अव त होस खुल्यो कि ? पुर्वाञ्चल भ्रमण सकेर काठमाडौं एयरपोर्टमा उत्रिएका बालेन अखिल अध्यक्ष सुजन कडरियाको टेस्ला गाडीमा घर छिरे । अर्का नौटंकी MCC का मतियार खेतमा हेलिकप्टर ल्याण्ड गरेर मत माग्न सर्लाही पुगे ।” हेर्नुहोस् पोस्ट र स्क्रिनशट । 

फेसबुकमा ‘Sanjit Karki’ नामक अकाउन्टबाट सुजन कडरियाले ‍रातो गाडी चढेर बनाएको टिकटक भिडिओ शेयर गरिएको छ ।

 

उक्त भिडिओमा देखिएको  गाडीको नम्बर प्लेट र शनिबार बालेनले चढेको गाडीको नम्बर प्लेट  हेर्दा दुबै नम्बर प्लेट उही रहेको पाइयो । 

दुबैमा तस्विरमा नम्बर प्लेट बागमति प्रदेश २१-०३३ ख ४४०६ रहेको छ । उक्त कारमा टेस्लाको लोगो पनि स्पष्ट रूपमा देखिएको छ । 

त्यसपछि हामीले सुजन कडरियाको टिकटक अकाउन्टमा उक्त भिडिओ खोज्यौँ, तर फेला परेन । तर उक्त भिडिओमा भएको टिकटक युजर आईडीको वाटरमार्क भने अनेरास्ववियुका पूर्व अध्यक्ष सुजनकै रहेको देखियो । 

उस्तै देखिने कारको अघिल्लो भागतिर बसेर खिचेको फोटो भने सुजन कडरियाको टिकटकमै भेटियो । 

सुजन कडरियाले फेसबुक पोस्टमा आफ्नो कार टेस्ला नभई एएनवाई भएको बताएका छन् । उनले टिकटकमा सोही कारसँगका अन्य भिडिओहरू पनि राखेका छन् । जसमा उक्त कार जीएसीको आयोन वाई ईभी रेहेको देखिन्छ । तल हेर्नुहोस्, आयोन वाईसँग सुजन कडरियाका तस्विर;

  

सुजन कडरियाको टिकटकबाट सन् २०२४ देखि यही जनवरी १६ जनवरी २०२६ सम्म उनको कार आयोन वाई नै रहेको जस्तो देखिन्छ । 

एयरपोर्टमा बालेनलाई रिसिभ गर्न सुजनका भाइ सुशील कडरिया गएको दाबी सञ्चार माध्यममा गरिएको छ । त्यसपछि हामीले सुजनको भाइ सुशील कडरियाको सामाजिक सञ्जाल केलायौँ । उनले फेसबुकको प्रोफाइलमा नै बालेन शाहसँग खिचेको तस्बिर राखेका छन् । उनले लेखेका छन्, “झापा ५ मा मनोनयन दर्ता गरिएको दिनको एक झलक !!” हेर्नुहोस् स्क्रिनशट । 

सामाजिक सञ्जालमा सुशील कडरियाले उक्त टेस्ला कारसहित कयौँ तस्बिरहरू समेत राखेको पाइयो । 

सामाजिक सञ्जालमा सुजनले उक्त कार आफ्नो नभएको बताएका छन् । शनिबार नै उनले एक स्टाटस लेख्दै बालेनसँग कहिल्यै भेटघाट नै नभएको पनि उल्लेख गरेका छन् । 

उनले लेखेका छन्, “यस्ता वाहियात मिडियाको पछाडि लागेर नझुक्किनुहुन हार्दिक अपिल गर्दछु। मैले अहिलेसम्म बालेनलाई भेटेको पनि छैन। मेरो कुनै टेस्ला गाडी पनि छैन। मेरो गाडी एएनवाई (ANY) हो। एउटा रातो गाडी अगाडि मेरो फोटो राखेर नम्बर प्लेट मिल्यो भन्दै पूर्वाग्रहपूर्ण ढङ्गबाट प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। यसअघि पनि चिन्दै नचिनेको बालेनको मन्त्री बन्न अखिलबाट राजीनामा भन्ने शीर्षकमा समाचार प्रकाशन भएपछि मैंले व्यक्तिगत रूपमा अत्यधिक आलोचना सहनुपरेको थियो। त्यसबाट भएको क्षति कदापि माफ हुन सक्दैन। आज यस्तै सस्तो लोकप्रियतामा चल्ने मिडियाका कारण यथार्थ बुझ्न झन् गाह्रो भएको छ। बालेनसँग मेरा साथीभाइहरूको सम्बन्ध छ, भन्ने त्यो नितान्त उनीहरूबिचको व्यक्तिगत सम्बन्ध हो। मेरो भाइको सम्बन्ध पनि उसको निजी मामिला हो र पारिवारिक रूपमा पनि हामी सँगै बस्दैनौँ। म बालेनलाई व्यक्तिगत रूपमा चिन्दिनँ, र त्यो मेरा लागि आवश्यक पनि छैन।म सधैँ नेकपा एमाले र श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीको समर्थक हुँ। म एमालेको कार्यकर्ता हुँ र रहनेछु ।” हेर्नुहोस् पोस्ट र स्क्रिनशट । 

 

हामीले उक्त कार कसको हो भनेर बुझ्ने प्रयास गर्‍यौँ । टेकपाना तथ्यजाँच टिमसँगको कुराकानीमा सुजन कडरियाले बालेन चढेको टेस्ला आफ्नो नभइ भाइ सुशीलको रहेको बताए । सामाजिक सञ्जालमा भाइरल भएको कार चलाएको रिल पनि भाइकै गाडीबाट बनाएको उनले जानकारी दिए । 

उनले भने, “त्यो गाडी मेरो होइन । मेरो भाइको गाडी हो । मेरो वाला भिडिओ धेरै पहिला बनाएको हो । हिँजो त्यो गाडी (विमानस्थलमा) गएपछि केही साथीहरूले नियोजित रूपमा प्रहार गरे ।”

कडरियाले थपे, “नेरास्ववियूको अध्यक्ष भइसकेको मान्छेले सङ्गठनको निष्ठा र गोपनीयता के हो राम्रोसँग बुझेको हुन्छ । अघि पछि आउने खहरेको पछि लाग्दैन । नेकपा एमालेलाई यो निर्वाचनमा जिताउनुपर्छ भनेर खुलेर मैदानमा छु । रामेछापको गौरीगंगामा घरदैलो गरिरहेको छु ।”

उनले भाइ र आफ्नो राजनीतिक आस्था फरक रहेको सुनाए । उनले भने, “भाइसँग मलाई सरोकार भएन । उसको आफ्नो राजनीतिक निष्ठाको विषय भयो । मैले खुलेर नै नेकपा एमालेको समर्थन गर्दै आएको छु ।”

त्यसपछि हामीले सुजनका भाइ सुशील कडरियासँग टेलिफोनमा कुराकानी गर्‍यौँ । उनले उक्त कार दाइ सुजन कडरियाको नभएको जानकारी दिए । उनले भने, “हिँजो बालेन चढेको कार मेरो हो । सुजन कडरियाको होइन । म चुनावी अभियानमा पनि बालेनसँगै झापामा गएको थिएँ । डे वनदेखि नै बालेनको टिममा छु,” उनले भने । 

दाबी
झापाबाट काठमाडौँ फर्किएका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदा नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका पूर्व अध्यक्ष सुजन कडरियाको 'टेस्ला' कार चढेर गएका हुन् । यसलाई केपी ओलीलाई धोका दिएको वा बालेन र सुजनबिचको सम्बन्धको रूपमा व्याख्या गरिएको छ ।

दाबीकर्ता

दैनिकी डटकम, राइबार प्रेस, बीएल, क्लिकगण्डकी डटकम लगायतका सञ्चार माध्यम, नवराज रुपाखेती, अमृत ओली धनुष लगायतका फेसबुक पेज तथा प्रयोगकर्ता ।

तथ्य 

विमानस्थलबाट बाहिरिने क्रममा बालेन शाह चढेको रातो रङको टेस्ला कारको नम्बर 'बागमती प्रदेश १-०३३ ख ४४०६' हो । उक्त कार अनेरास्ववियुका पूर्व अध्यक्ष सुजन कडरियाको नभई उनका भाइ सुशील कडरियाको हो । सुजन कडरियाले धेरै पहिले आफ्नो भाइको गाडी चलाउँदा बनाएको भिडिओलाई आधार बनाएर हाल उक्त गाडी सुजनकै भएको भन्दै भ्रम फैलाइएको पाइयो ।

त्यस्तै सुजन कडरिया हाल नेकपा एमालेकै चुनावी प्रचारमा रामेछापमा व्यस्त छन् । उनका भाइ सुशील कडरिया भने सुरुदेखि नै बालेन शाहको टिममा आबद्ध छन् र उनी बालेनसँगै झापा भ्रमणमा पनि गएका थिए । सुजन कडरियाले उक्त गाडी आफ्नो नभएको र आफू एमालेप्रति प्रतिबद्ध भएको स्पष्ट पारेका छन् । त्यस्तै उनका भाइ सुशील कडरियाले बालेनलाई रिसिभ गर्न आफैँ विमानस्थल गएको र उक्त गाडी आफ्नो भएको पुष्टि गरेका छन् ।

निष्कर्ष
बालेन शाह अनेरास्ववियुका पूर्व अध्यक्ष सुजन कडरियाको गाडीमा चढेको भन्ने दाबी भ्रामक छ ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

 

पछिल्लो अध्यावधिक: माघ १२, २०८२ १६:८