close

रोजगारी खोज्न काठमाडौँ आएकी सरस्वती अनलाइन स्क्यामरको पन्जामा, व्यर्थैमा ७ लाख ठगीको आरोप

टेकपाना टेकपाना

माघ १३, २०८२ १०:५२

रोजगारी खोज्न काठमाडौँ आएकी सरस्वती अनलाइन स्क्यामरको पन्जामा, व्यर्थैमा ७ लाख ठगीको आरोप

काठमाडौँ । झापा भद्रपुरकी २५ वर्षीया सरस्वती घिमिरे जोगीको जीवनमा वैदेशिक रोजगारीको सपना एउटा भयानक सङ्कट बन्न पुगेको छ । घरको आर्थिक अवस्था नाजुक भएको र वैदेशिक रोजगारीबाट फर्किएका श्रीमान् बिरामी परेपछि परिवार धान्ने जिम्मेवारी उठाउन उनी काठमाडौँ आएकी थिइन् ।

तर, काठमाडौँको नयाँ बसपार्कमा भएको एउटा अन्जान भेटले उनलाई वैदेशिक रोजगारीको सट्टा अदालतको कठघरासम्म पुर्‍याएको छ । काठमाडौँ आएका बेला सरस्वतीको भेट बर्दियाकी ३९ वर्षीया चन्द्रावती जुल्मी मगरसँग भयो । चन्द्रावतीले सरस्वतीलाई 'विदेश जानका लागि एउटा बैङ्क खाता अनिवार्य चाहिन्छ' भन्दै विश्वासमा पारिन् ।

सोही विश्वासका आधारमा सरस्वतीले आफ्नो नाममा एनआईसी एसिया बैङ्कमा खाता खोलिन् र चन्द्रावतीकै भनाइ अनुसार एउटा सिमकार्ड पनि निकालिन् । तर, चन्द्रावतीले 'यो खाता विदेशबाट पैसा पठाउन मात्र मिल्छ, हामी आफैँ चलाउने' भन्दै सो सिमकार्ड र बैङ्कको सबै पहुँच आफ्नो नियन्त्रणमा लिइन् । सरस्वतीले आफ्नो खाता अरूले गलत काममा प्रयोग गर्लान् भन्ने शङ्का समेत नगरी अन्जानमै उनीहरूलाई सुम्पिन् ।

सरस्वतीले आफ्नो खाता सुम्पिएको केही समयमै सो खाता डिजिटल ठगीको माध्यम बन्यो । ह्वाट्सएपमार्फत डलरको प्रलोभन देखाएर आशा विष्ट बस्नेतलाई ठगी गरिरहेको एउटा गिरोहले सरस्वतीको खाता प्रयोग गर्‍यो । पीडित आशाले सरस्वतीको बैङ्क खातामा पटक-पटक गरी जम्मा ६ लाख ८० हजार रुपैयाँ हालिन् । डलर प्राप्त गर्न ट्याक्स तिर्नुपर्ने बहानामा ठगहरूले सरस्वतीको खातामा सो रकम जम्मा गर्न लगाएका थिए ।

प्रहरी अनुसन्धानका क्रममा यो ठगीमा सरस्वतीको मात्र नभई चन्द्रावती जुल्मी मगर, १९ वर्षीय बसन्त कटुवाल र ४६ वर्षीया रमिता थपलियाको एउटा सङ्गठित सञ्जाल संलग्न रहेको खुल्यो । बसन्तको खातामा जम्मा भएको ठगीको रकम रमिता थपलियाको खातामा ७ पटकसम्म ट्रान्सफर गरेको पाइएको छ । जसले पैसा लुकाउने प्रयासको रूपमा विश्लेषण गरिएको छ ।

प्रहरीले सरस्वतीलाई पक्राउ गरेपछि मात्र उनले आफ्नो नामको खाता ठगीमा प्रयोग भएको थाहा पाइन् । उनले बयानका क्रममा आफूलाई चन्द्रावतीले झुक्याएर खाता खोल्न लगाएको र आफू निर्दोष रहेको दाबी गरेकी छिन् । यद्यपि, पीडितको रकम उनको खातामा देखिएकाले उनीमाथि ठगीको गम्भीर आरोप लागेको छ ।

सरकारी वकिल कार्यालयले सरस्वतीसहित चारै जना विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ बमोजिम ठगीको कसुरमा मुद्दा चलाएको छ । उनीहरूलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबानाको सजाय माग गरिएको छ ।

पीडित आशाले सरस्वती र उनका आफन्तहरूबाट हालसम्म ३ लाख रुपैयाँ फिर्ता पाइसकेकी छिन् । अब बाँकी ११ लाख २७ हजार रुपैयाँ बिगोको रूपमा असुल गर्न माग गरिएको छ ।

हाल सरस्वती प्रहरी नियन्त्रणमा छिन् भने चन्द्रावतीसहित अन्य तीन अभियुक्तहरू अझै फरार रहेका छन् । वैदेशिक रोजगारीको खोजीमा आएकी एक सोझो महिला कसरी स्क्यामरको पन्जामा परेर 'अपराधी' को ट्याग भिर्न बाध्य भइन् भन्ने यो घटनाले डिजिटल सुरक्षा र बैङ्क खाताको दुरुपयोगको अर्को डरलाग्दो रहस्य सतहमा ल्याइदिएको छ । 

 

पछिल्लो अध्यावधिक: माघ १३, २०८२ १०:५२