close

फ्याक्टचेकः बालेनले होटलमा बिहान-बेलुका रक्सी खाएर ३५ लाख उधारो राखी फरार भएको दाबी भ्रामक

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

माघ १६, २०८२ २२:४१

फ्याक्टचेकः बालेनले होटलमा बिहान-बेलुका रक्सी खाएर ३५ लाख उधारो राखी फरार भएको दाबी भ्रामक

काठमाडौँ । पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले ३५ लाख रुपैयाँ बराबरको रक्सी उधारो खाएको दाबीसहितको भिडियो भाइरल भइरहेको छ । उक्त भिडियोका कारण विभिन्न बहस र भ्रम सिर्जना भएपछि टेकपाना फ्याक्टचेक डेस्कलाई पाठक, दर्शक तथा स्रोताबाट एक्स, फेसबुक र इमेलमार्फत यसको सत्यता जाँच्न अनुरोध प्राप्त भएको थियो ।

पाठकको उक्त अनुरोधलाई सम्बोधन गर्दै डेस्कले बालेनले रक्सी तथा खाजा खाएर ३५ लाख रुपैयाँ उधारो राखेको भन्ने दाबीको तथ्यजाँच गरेको छ । टेकपानाको अनुसन्धानबाट बालेनले रक्सी खाएर ३५ लाख रुपैयाँ उधारो राखेको भन्ने दाबी भ्रामक रहेको पाइएको छ । वास्तवमा काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेको 'सीप मेला' का क्रममा प्रशिक्षक र स्वयंसेवकलाई खाना खुवाउने जिम्मा ‘हार्मोनी बिस्ट्रो’ होटेललाई दिएको थियो । सोही बापत् महानगरपालिकाले होटेललाई करिब ३२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको देखिएको छ । महानगरको सोही प्रशासनिक खर्चलाई तोडमोड गरी बालेनले व्यक्तिगत रूपमा रक्सी र खाना खाएर पैसा नतिरेको भन्दै भ्रामक सूचना फैलाइएको पुष्टि हुन्छ ।

दाबी 

बिहीबार, २९ जनवरी  २०२६ सामाजिक सञ्जाल टिकटकमा ‘dipendra rai’ नामका प्रयोगकर्ताले ‘केयो कुरा सत्य हो त जनता जान्न  चाहन्छन् ?’ शीर्षकमा एक भिडिओ अपलोड गरेका छन् । भिडिओमा एक व्यक्तिले बालेनले ललितपुरस्थित एक होटलबाट ३५ लाख रुपैयाँ उधारो खाएको दाबी गरेका छन् । भिडिओमा उनले भनेका छन्, “ललितपुरस्थित होटल हेमोनी बिस्त्रोबाट । यो होटलबाट बालेनले बिहान, बेलुका गरेर रक्सी खाएको पैसा, खाजा खाएको पैसा अहिलेसम्म नतिरिकन ३५ लाख रुपैयाँ नतिरिकन महानगरपालिकाबाट राजीनामा दिएर फरार छन् । काठमाडौँका होटलका म्यानेजिङ डाइरेक्टरबाट पटक पटक तपाईँले पैसा तिर्नुपर्यो पर्‍यो भन्दाखेरि महानगरको जवाफ के आएको छ थाहा छ, बालेनको के जवाफ आएको छ, लुसिफरको जवाफ के आएको छ थाहा छ ? के भन्छ भन्दा चाहिँ हामी चुनाव जित्न दिनुस् तपाईँको पैसा इमिडेट्ली दिन्छौँ रे । यदि यो चुनाव जितेन भने के गर्छ ? होटलको पैसा ३५ लाख डुबाएर जान्छ तेल्ले ? सरकार आउने बित्तिकै ३५ लाख रुपैयाँ कहाँबाट दिने हो ? त्यसले रक्सी खाएको पैसा सरकारले तिर्छ ?

यो सामग्रीलाई चार लाख ८० हजारभन्दा धेरैले टिकटकमा हेरेका छन् । यस्तै २३ हजार बढी र तीन हजार ७०८ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ, रेकर्डेड भिडिओ र स्क्रिनशट ।

अनुसन्धान 

सोमबार २६ जनवरी २०२६ मा टिकटकमै  ‘Dilkumarkanxaa2’ नामको प्रयोगकर्ताले पनि सोही दाबीको भिडिओ शेयर गरेका छन् । हेर्नुहोस्  भिडिओ, रेकर्डेड भिडिओ र स्क्रिनशट । 

सामाजिक सञ्जालमा बालेनले रक्सी र खाजा खाएर ३५ लाख रुपैयाँ नतिरेको भिडिओ भाइरल भइरहेको पाइएपछि हामीले ‘बालेन रक्सी’, ‘बालेन ३५ लाख’, ‘रक्सि खाजा बालेन’ लगायतका किवर्डहरू राखेर टिकटक, फेसबुक, एक्स, गुगल लगायतका सामाजिक सञ्जाल प्लेटफर्ममा खोज्यौँ । 

त्यस क्रममा फेसबुकमा ‘Ishwor Sampang’ नामका प्रयोगकर्ताले २७ जनवरी साँझ ४:१२ मा सोही भिडिओ शेयर गरेको पाइयो । भिडिओको क्याप्सनमा लेखिएको छ, “बालेन सरकार मात्र 35 लाख” । उक्त भिडिओलाई यो सामग्री तयार पार्दासम्म एक लाख ७८ हजारभन्दा धेरै पटक हेरिएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनशट । 

फेसबुक प्रयोगकर्ता ‘Lokesh Goral’ ले पनि बालेनले ३५ लाख उधारो खाएको दाबी सहितको भिडिओ शेयर गरेका छन् । २९ जनवरी ३:१५ मा ‘बालेन शाहको ३५ लाखको दारु बाहिरिएको छ। होटलमा ३५ लाखको दारु उधारा खाएर फरार’ शीर्षकमा भिडिओ पोस्ट भएको हो । यो सामग्री तयार हुँदासम्म भिडिओलाई १८ हजारभन्दा धेरै पटक हेरिएको छ । 

सामाजिक सञ्जालमा खोज्दै जाने क्रममा २६ जनवरी साँझ ३:२० मा ‘Laxman Dhami’ नामको फेसबुक अकाउन्टबाट लाइभ भएको भिडिओ हामीले फेला पार्‍यौँ । भिडिओको क्याप्सनमा लेखिएको छ, “बालेन ले ठेकेदार संग कराेडाे ठगेकाे र रक्सि खाएकाे ३५ लाख नतिरेकाे प्रमाण सहित प्रत्यक्ष लाईभ ❤️❤️🙏” । एक घण्टा दुई मिनेट लामो उक्त लाइभ भिडिओलाई यो सामग्री तयार पार्दा सम्म २९ सय रियाक्ट र १९ सय कमेन्ट गरिएको छ भने एक लाख ६४ हजारपटक हेरिएको छ । हेर्नुहोस् भिडिओ र स्क्रिनशट । 


हामीले उक्त भिडिओ विश्लेषण गर्‍यौं । त्यस क्रममा सामाजिक सञ्जालमा भाइरल भइरहेको क्लिप पनि सोही लाइभ भिडिओको लिइएको स्पष्ट पाइयो ।

लाइभ भिडिओको २३ मिनेटबाट उनले ‘होटलमा बिहान बेलुका रक्सी र खाजा खाएर उधारो राखेको’ आरोप लगाएका छन् । उनले ललितपुर २ स्थित झम्सिखेलस्थित ‘होटल हार्मोनी बिस्ट्रो’ को विस्तृत जानकारी सहितको पर्चा समेत भिडिओमा देखाएका छन् ।   

‘Laxman Dhami’ को लाइभ भिडिओबाट होटल हार्मोनी बिस्ट्रोको बारेमा जानकारी दिँदै सार्वजनिक गरिएको पर्चाको स्क्रिनशट ।

भिडिओको २८:१८ मिनेटमा उनले आफू एमाले कार्यकर्ता रहेको बताएका छन् । ​

भिडिओमा उनले रक्सी उधारो खाएको आरोपसहितका विभिन्न आरोपको प्रमाणका रुपमा कागज देखाएका छन् । उनले सोही पत्रलाई पढेर सुनाएका हुन् । उक्त कागजको शीर्षकमा लेखिएको छ, ‘बालेनले पर्दाफासको सेटिङ गरि करोडौँको रकम असुल गरेको’  ।

भिडिओमा आफूले महानगरबाट उक्त प्रमाण पाएको बताएका छन् । 

तर, ए फोर (A4) साइजको पेपरमा प्रिन्ट गरेका अक्षरबाहेक कुनै आधिकारिता देखिँदैन । उक्त कागजातको सबैभन्दा माथिल्लो लाइनमा “बालेनले पर्दाफासको सेटिङ गरी करोडौँको रकम असुल गरेको” लेखिएको छ । तर न त कुनै लेटरहेट, छाप वा हस्ताक्षर नै उक्त कागजमा उल्लेख छ । यसकारण धामीले प्रमाणका रूपमा प्रस्तुत गरेको दाबीमाथि शंका गर्ने तमाम आधार भेटिए । 

भिडिओमा धामीले ‘होटेल हार्मोनी बिस्ट्रो’ मा बालेनले उधारो खाएको भन्दै होटलको म्यानेजिङ डिरेक्टर विष्णुप्रसाद कँडेलको विवरण सार्वजनिक गरेका छन् । हामीले सोही नम्बरमा टेलिफोन सम्पर्क गर्‍यौँ । टेकपाना फ्याक्टचेक डेस्कसँगको कुराकानीमा कँडेलले आफूले काठमाडौँ महानगरपालिकासँग लाखौँ रकम लिन बाँकी रहेको बताए । तर उक्त रकम बालेन शाह (मेयर)सँग व्यक्तिगत रूपमा नभई गत जेठमा सञ्चालन भएको एक महिना लामो सीप मेलामा क्याटरिङको शुल्क रहेको स्पष्ट पारे ।

काठमाडौँ महानगरले टुँडिखेलमा गत ७ जेठदेखि ७ असारसम्म सीप मेला २०८२ सञ्चालन गरेको थियो । जहाँ प्रविधि क्षेत्रका १२ पेसासहित ४२ ओटा पेसामा बिहान, दिउँसो र साँझ गरेर तीन सिफ्टमा तालिम प्रदान गरिएको थियो । 

होटेल हार्मोनी बिस्ट्रोका सञ्चालक विष्णुप्रसाद कँडेलले फोन सम्पर्कमा सीप मेलामा क्याटरिङ लगाएको तर हालसम्म भुक्तानी भने नपाएको टेकपाना तथ्यजाँच टिमसँग बताए । उनका अनुसार ३२ लाख रुपैयाँ क्याटरिङको मूल्य र भ्याट रकम उठेको बताए । तर महानगरमा सुनुवाइ नहुँदा भुक्तानी पाउन समस्या भएको उनले बताए । 

उनले भने, “महानगरको विज्ञ शैलेन्द्र झाले सीप मेलाको क्याटरिङको लागि कोअर्डिनेसन गरिदिनु भएको थियो । उहाँ मार्फत गतिशील संस्थाको अध्यक्ष अनिल लामिछानेसँग महानगरको हात्तीसारको बिल्डिङमै कुरा भएको थियो । कन्ट्र्याक्ट पछि गरौँला भन्ने कुरा भयो । शैलेन्द्रजी अमेरिका हुनुहुन्छ । मेल गरेको रेकर्ड छ । बिल काटेको छैन ।  स्टिमेट अमाउन्ट मात्रै छ । उहाँहरूले मिलाउँदै छौँ भनिरहनु भएको छ । उहाँहरूले दिएको कुपन अनुसार ट्रेनरहरूलाई खाना खुवाएका हौँ । नौ महिना बितिसक्दा पनि पैसा पाएका छैनौँ । सीप मेलाको सचिवालयमा भएका व्यक्तिहरू राजीनामा दिएर गइसके । तर हामी जुन निकायसँग पैसा लिनुपर्ने हो, त्यसका लागि अन्यत्र गएका पनि छैनौँ । टिकटकमा आएको अन रिलेटेड र फेक न्युज हो । नभएको चिज आउँदा हामी एकदमै दुखी छाैँ । टिकटक बनाउने मान्छे चिन्दैनौँ । बालेनजीसँग प्रत्यक्ष भेटघाट छैन । यो होटेलमा उहाँले टेक्नु भएको पनि छैन । सुनिता डङ्गोल भने एउटा कार्यक्रमको सिलसिलामा आउनु भएको थियो ।”

सीप मेलामा क्याटरिङ सञ्चालन गरेको भुक्तानी हालसम्म नभएको होटल सञ्चालक कँडेलले बताएपछि हामीले महानगरपालिकाको प्रशासन विभागसँग यो विषयमा बुझ्न खोज्यौँ । प्रशासन विभागका प्रमुख ध्रुव कुमार काफ्लेले सामाजिक विकास विभागले सीप मेला सञ्चालन गर्दै आएको बताए । त्यसपछि सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलालाई सम्पर्क गर्‍यौँ । निरौलाले आर्थिक वर्ष २०८०/८१ को सीप मेला आफ्नो विभागले सञ्चालन गरेपछि आव २०८१/०८२ को सीप मेला महानगरको सहरी योजना आयोगअन्तर्गत सञ्चालन भएको बताइन् । 

उनले भनिन्, “सीप मेला सञ्चालन गरेको सहरी योजना आयोगका विज्ञहरूको कार्यकाल तत्कालीन मेयर बालेन शाहले राजीनामा दिएसँगै समाप्त भएको छ । त्यसैले नयाँ सहरी योजना आयोगका विज्ञहरूलाई सीप मेलाका आर्थिक पाटोको बारेमा जानकारी हुँदैन ।”

त्यसपछि हामीले होटल सञ्चालकले उल्लेख गरेको नाम शैलेन्द्र झासँग कुराकानीको प्रयास गर्‍यौँ । तर, पछिल्लो समय अमेरिका रहेका झासँग टाइम जोन फरक पर्न गएका कारण कुराकानी हुन सकेन । (यदि झासँग कुराकानी भएमा उक्त जानकारी यहाँ अपडेट गर्ने छौँ ।)

सीप मेला २०८२ को क्याटरिङ सञ्चालनका लागि महानगरले जारी गरेको सूचना भने काठमाडौँ महानगरको ​वेबसाइटमा फेला पर्‍यो ।  

 

महानगरको आधिकारिक व्यक्तिसँग कुराकानी हुन नसकेपछि हामीले ‘सीप मेला २०८२’ को व्यवस्थापनको जिम्मेवारी लिएको संस्था ‘गतिशील अभियान नेपाल’ का प्रतिनिधिसँग कुराकानी गर्‍यौँ । संस्थाका सहमहासचिव सुमन अधिकारीले होटल हार्मोनी बिस्ट्रोले क्याटरिङको जिम्मेवारी लिएको बताए । 

उनले भने, “सीप मेलामा ५०/६० जना भोलुन्टियर हुनुहुन्थ्यो । सिफ्ट अनुसार पानी सप्लाई, फोहोर व्यवस्थापन, ट्वाइलेट सरसफाइको काम उहाँहरूले गर्नुभयो । सीप मेलामा तीन सिफ्टमा तालिम सञ्चालन भएको थियो । ट्रेनर र भोलुन्टियरलाई खुवाइएको थियो । ट्रेनरहरूले ३० दिन खाए पनि भोलुन्टियरहरूले मेलाको तयारीमा तीन-चार दिन बढी खानुभएको होला । त्यति धेरै मानिसहरूलाई एक महिनाभन्दा लामो समयसम्म तीन सिफ्टमा खुवाउँदा कति खर्च उठ्न सक्ला तपाईँ आफैँ हिसाब निकाल्न सक्नुहुन्छ ।”

गतिशील अभियान नेपालले मेलाको व्यवस्थापनको जिम्मा लिएको उनले बताए । क्याटरिङ सञ्चालन गरेको होटेलले अझै भुक्तानी पाउन बाँकी रहेको बताउँदै उनले थपे, “उहाँले त अझै पनि पैसा पाउनुभएको छैन । किनभने महानगर आफैँले खानेकुराको पैसा दिन्छु भनेको थियो तर महानगरले पैसा दिएको छैन । उहाँ आफैँ पीडित भएर बस्नुभएको छ ।”

सीप मेलाका लागि विभिन्न संस्थाबाट महानगरलाई सहयोग मिलेको र सोही सहयोगबाट मेला सञ्चालन गरिएको उनले दाबी गरे । मेलामा भएको खर्चमध्ये खानेकुराको खर्च महानगरले उपलब्ध गराउने भनिए पनि हालसम्म क्याटरिङ सञ्चालकले उक्त रकम नपाएको उनले बताए । उनले थपे, “हामीले भोलुन्टियरका रूपमा काम गरेका हौँ । सीप मेलाका लागि विभिन्न संस्थाहरूमा पिचिङ गरेर पैसा जुटाएको हो । नपुगेको चाहिँ महानगरले दिने कुरा भएको थियो । त्यसमध्ये खानाको पैसा महानगरले दिने भनेको हो, त्यसका लागि चाहिँ हामीलाई प्रेसर नहोस् भनेको हो । तर कर्मचारीहरूले अहिलेसम्म कागजात नै बनाइदिएका छैनन् ।”

हामीले बालेन मेयर भएदेखि छोड्ने बेलासम्म अर्थात् १२ जेठ २०७९ देखि १६ माघ २०८२ सम्म बालेन र ‘होटेल हार्मोनी बिस्ट्रो’ सँग सम्बन्धित समाचार खोज्न गुगल एड्भान्स सर्च गरी हेर्‍यौँ । त्यस क्रममा कुनै पनि व्यावसायिक सञ्चार माध्यमले समाचार राखेको फेला पारेनौँ । 

दाबी 

बालेनले एक महिनासम्म ललितपुरस्थित होटल हार्मोनी बिस्ट्रोमा बिहान साँझ गरेर ३५ लाखको रक्सी र खाजा उधारो खाए । तर महानगरको मेयर पदबाट राजीनामा दिँदा पैसा नतिरी फरार भए । 

दाबीकर्ता 

फेसबुक प्रयोगकर्ता ‘Laxman Dhami’, टिकटक प्रयोगकर्ता ‘dipendra rai’, ‘Dilkumarkanxaa2’, फेसबुक प्रयोगकर्ता  ‘Ishwor Sampang’, ‘Lokesh Goral’ लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता । 

तथ्य

३५ लाख (वास्तवमा करिब ३२ लाख) रुपैयाँ बालेनको व्यक्तिगत रक्सी र खाजा खर्च नभई काठमाडौँ महानगरले जेठ-असार २०८२ मा सञ्चालन गरेको ‘सीप मेला’ को क्याटरिङ खर्च हो । सो अवधिमा सीप मेलामा खटिएका प्रशिक्षक र स्वयंसेवकलाई महिनाभरि तीन सिफ्टमा खुवाइएको खाना र खाजाबापतको रकम होटललाई तिर्न बाँकी रहेको छ । होटल ‘हार्मोनी बिस्ट्रो’ का सञ्चालक विष्णुप्रसाद कँडेलका अनुसार बालेन शाह व्यक्तिगत रूपमा उक्त होटलमा गएका छैनन् । बालेनले व्यक्तिगत रूपमा होटेलमा त्यतिका रकम बराबरको रक्सी वा खाजा खाएको कुनै पनि आधार भेटिंदैन । दाबी गरिएको ३५ लाख (वास्तवमा ३२ लाख रुपैयाँ) महानगरको आधिकारिक कार्यक्रमको खर्च हो जुन हालसम्म भुक्तानी हुन बाँकी छ । त्यसैगरी सामाजिक सञ्जालमा 'प्रमाण' भन्दै देखाइएका कागजातमा कुनै आधिकारिक लेटरहेड, छाप वा हस्ताक्षर छैन । ती कागज भ्रम छर्न बाहिर ल्याएको पुष्टि हुन्छ ।

निष्कर्ष

बालेन शाहले ३५ लाखको रक्सी खाएर उधारो राखेको भन्ने दाबी भ्रामक छ । 

 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्सयुट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: माघ १६, २०८२ २३:११