अध्यक्ष लिङ्देन र पार्टीविरुद्ध भ्रम फैलाएको भन्दै साइबर ब्युरो र निर्वाचन आयोगमा राप्रपाको उजुरी
माघ २०, २०८२ १६:३५
सामाजिक सञ्जालमा भाइरल भइरहेको भ्रामक फोटो
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टी र नेतृत्वलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत सुनियोजित रूपमा भ्रम फैलाइएको भन्दै प्रहरीको साइबर ब्युरो र निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ । राप्रपाका महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले मङ्गलवार छुट्टाछुट्टै पत्रमार्फत दुवै निकायमा उजुरी दर्ता गराएका हुन् ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको तस्बिर र राप्रपाको चुनाव चिह्न ‘गाई’ को दुरुपयोग गरी “अब दलितलाई मन्दिर छिर्न दिनु हुँदैन” भन्ने आशयको गम्भीर र भ्रामक पोस्ट फेसबुकमा फैलाइएको उजुरीमा उल्लेख छ । राप्रपाका अनुसार ‘हाम्रो पार्टी नेपाल मधेस’ र ‘दलित भ्वाइसेस’ नामक फेसबुक पेजका साथै नन्दु बीसी र लोकेन्द्र बीसी नामका व्यक्तिहरूले यस्तो भ्रामक सामग्री शेयर गरेका छन् ।
उक्त कार्यले अध्यक्ष लिङ्देनको चरित्रहत्या गर्नुका साथै समाजमा जातीय सद्भावमा खलल पुर्याउने र द्वेष फैलाउने काम गरेको राप्रपाको ठहर छ । यसरी सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रम छर्नेहरूलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गर्न राप्रपाले माग गरेको छ ।
यसैगरी, राप्रपाले निर्वाचन आयोगको आचारसंहिता अनुगमन समितिलाई पत्र लेख्दै ‘नेपाल टाइम्स’ नामक सञ्चार माध्यमले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाएको छ । उक्त सञ्चार माध्यमले आफ्नो फेसबुक पेजमार्फत रुपन्देही-२, झापा र अन्य क्षेत्रमा नेकपा एमाले र राप्रपाबिच चुनावी समझदारी भएको भन्दै आधारहीन समाचार सम्प्रेषण गरेको राप्रपाको दाबी छ।
उक्त समाचार निर्वाचन आचारसंहिता, २०७९ को दफा २५ (ज) को प्रतिकूल रहेको भन्दै राप्रपाले सो सञ्चार माध्यममाथि निर्वाचन आयोग ऐनको दफा ५१ बमोजिम आवश्यक कारबाही गर्न अनुरोध गरेको छ । पार्टीले आफ्नो नेतृत्व र चुनावी रणनीतिका बारेमा फैलाइएका यस्ता असत्य सूचनाबाट भ्रममा नपर्न पनि सर्वसाधारणमा अपिल गरेको छ ।
पछिल्लो अध्यावधिक: माघ २०, २०८२ १७:८
