काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । निर्वाचन आचारसंहिता विपरीतको कार्य गरेको आरोपमा अनुसन्धानका लागि साइबर ब्युरोले उनलाई शुक्रबार ललितपुरबाट पक्राउ गरेको हो ।
निर्वाचन आयोगले प्रसाईंले आचारसंहिता उल्लंघन गरेको भन्दै आवश्यक अनुसन्धान र कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको थियो । आयोगको सोही पत्रका आधारमा उनलाई नियन्त्रणमा लिइएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले टेकपानालाई जानकारी दिए ।
यसअघि प्रसाईं गत माघ ५ गते कास्कीको पोखराबाट पक्राउ परेका थिए । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ बुझाएको भनी दिएको अभिव्यक्तिका कारण उनीमाथि अनुसन्धान सुरु भएको थियो ।
पछिल्लो अध्यावधिक: माघ २३, २०८२ १४:१८
