फ्याक्टचेक: संखुवासभामा भोट माग्न गएका एमाले कार्यकर्तामाथि खुकुरी प्रहार भएको दाबी भ्रामक
माघ २३, २०८२ १७:५९
काठमाडौँ । पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा संखुवासभाको चैनपुरमा भोट माग्न जाँदा नेकपा (एमाले) का कार्यकर्तालाई एक युवाले खुकुरी प्रहार गरी ढालेको दाबीसहित एउटा तस्बिर भाइरल भइरहेको छ । टेकपानाको तथ्यजाँचबाट उक्त तस्बिर भ्रामक रहेको पुष्टि भएको छ । वास्तवमा गत १७ माघमा चैनपुरमा चौपायाले घाँस खाएको निहुँमा छिमेकीहरूबीच झगडा हुँदा खुकुरी प्रहारबाट एक जनाको ज्यान गएको थियो । तर, सो घटना कुनै पनि राजनीतिक दल वा चुनावी गतिविधिसँग सम्बन्धित थिएन । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट बनाइएको तस्बिर प्रयोग गरी राजनीतिक रङ्ग दिएर सामाजिक सञ्जालमा भ्रम फैलाइएको तथ्यजाँचबाट पुष्टि भएको छ ।
दाबी
३ फेब्रुअरी, २०२६ राति १०:०४ बजे ‘रबिन प्याकुरेल’ नामको फेसबुक अकाउन्टबाट एक पोस्ट सार्वजनिक भयो । उक्त पोस्टमा संखुवासभाको चैनपुरमा भोट माग्न गएका एमाले कार्यकर्तालाई एक युवकले खुकुरी प्रहार गरी 'ठाउँको ठाउँ' ढालेको दाबी गरिएको छ ।
उक्त पोस्टमा लेखिएको छ, “संखुवासभाको चैनपुरमा भोट माग्न गएका #एमाले का कार्यकर्तालाइ एक युवाले खुकुरी प्रयोग गरि ठाउँको ठाउ ढलाएका छन् ७६ जनाको रगतले ७६ जना एमाले र काङ्ग्रेस हरु दशैको बोका झै ठाउँको ठाउ काटिन सक्ने अनुमान गरिएको छ #नेपालीआवाज ।” उक्त पोस्टमा यो सामग्री तयार हुँदा सम्म १३ हजार बढी रियाक्सन, १६ सय बढी कमेन्ट र ११ सयभन्दा धेरै शेयर गरिएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।

अनुसन्धान
सामाजिक सञ्जालमा उक्त फोटो भाइरल भएको पाइएपछि सुरुमा गुगल रिभर्स इमेज सर्च गर्यौँ । सर्च गर्ने क्रममा समान दाबी सहितका अन्य पोस्टहरू पनि फेला परे ।
‘कृष्ण अयाँल’ नामको फेसबुक अकाउन्टबाट ३ फेब्रुअरी राति ८:०८ मा सोही दाबी सहितको पोस्ट भएको छ । उक्त पोस्टमा लेखिएको छ, “संखुवासभाको चैनपुरमा भोट माग्न गएका #एमाले का कार्यकर्तालाइ एक युवाले खुकुरी प्रयोग गरि ठाउँको ठाउ ढलाएका छन् ७६ जनाको रगतले ७६ जना एमाले र काङ्ग्रेस हरु दशैको बोका झै ठाउँको ठाउ काटिन सक्ने अनुमान गरिएको छ #नेपाल” । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।

३ फेब्रुअरी २०२६ राति ९:४० मा फेसबुकमा ‘Subash Cheetri’ नामको अकाउन्टबाट पनि सोही दाबीसहितको फोटो पोस्ट भएको फेला पर्यो । उक्त पोस्टमा लेखिएको छ, “संखुवासभाको चैनपुरमा भोट माग्न गएका #एमाले का कार्यकर्तालाइ एक युवाले खुकुरी प्रयोग गरि ठाउँको ठाउ ढलाएका छन् ७६ जनाको रगतले ७६ जना एमाले र काङ्ग्रेस हरु दशैको बोका झै ठाउँको ठाउ काटिन सक्ने अनुमान गरिएको छ #नेपाल” । हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।

फेसबुक ग्रुप ‘Rabi Lamichhane Party-(𝐑𝐒𝐏)’ मा ‘PK प्रत्यक्ष खबर’ नामको फेसबुक अकाउन्टमा पनि सोही दाबी सहितको फोटो सार्वजनिक भएको छ । उक्त पोस्टमा लेखिएको छ, “संखुवासभाको चैनपुरमा भोट माग्न गएका #एमाले का कार्यकर्तालाइ एक युवाले खुकुरी प्रयोग गरि ठाउँको ठाउ ढलाएका छन् ७६ जनाको रगतले ७६ जना एमाले र काङ्ग्रेस हरु दशैको बोका झै ठाउँको ठाउ काटिन सक्ने अनुमान गरिएको छ #नेपालीआवाज” हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट

हामीले सामाजिक सञ्जालमा भाइरल भइरहेको फोटोको विश्लेषण गर्यौँ । यस क्रममा फोटोमा अक्षर, मानिसको औँला, अनुहार आदि अस्वाभाविक भएको देखियो । हेर्नुहोस् तलको विश्लेषण:

फोटोमा अस्वाभाविक किसिमका गतिविधिहरू भएको देखिएपछि हामीले उक्त फोटो एआई निर्मित भएको आशंका गर्यौँ । एआई डिटेक्सन टुल ‘हाइभ मोडेरेसन’ प्रयोग गर्दा उक्त तस्बिर ९९.९९ प्रतिशत एआई निर्मित रहेको निष्कर्ष निक्लियो ।

हामीले अर्को एआई डिटेक्सन टुल ‘वाज इट एआई’ मा पनि भाइरल फोटो अपलोड गर्यौँ । त्यहाँ पनि फोटो एआई निर्मित रहेको निष्कर्ष निस्कियो ।

फोटो एआई निर्मित रहेको विश्लेषणपछि सङ्खुवासभाको चैनपुरमा उक्त घटना भए/नभएको भन्ने विषयमा बुझ्ने प्रयास गर्यौँ । हामीले जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक मेघराज अर्यालसँग टेलिफोन सम्पर्क गर्यौँ ।
उनले सङ्खुवासभामा पछिल्लो समयमा कुनै राजनीतिक पार्टी वा दलको विषयलाई लिएर कुनैपनि आपराधिक क्रियाकलाप नभएको बताए । उनले भने, “केही दिनअघि चैनपुरमा वस्तुले घाँस खाएको विषयमा छिमेकीहरूबिच विवाद भएर एक जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । यो घटनाको बारेमा हामीले प्रेस विज्ञप्ति नै जारी गरेका थियौँ । त्यो घटनामा राजनीतिक दल वा गतिविधि जोडिएको थिएन । अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको फोटोलाई पनि हामीले नोटिस गरिरहेका छौँ । तर, ति पोस्टहरूमा दाबी गरेको जस्तो घटना भएको छैन । चैनपुरकै घटनालाई तोडमोड गरेर चुनावसँग जोडेर भ्रम फैलाएको हुन सक्छ ।”
प्रहरी निरीक्षक अर्यालसँगको कुराकानीपछि हामीले चैनपुरमा धारिलो हतियारको प्रयोगबाट मृत्यु भएको घटनाको बारेमा खोजि गर्यौँ । खोज्ने क्रममा ‘District Police Office, Sankhuwasabha’ को फेसबुक पेजमा ३१ जनवरीमा सार्वजनिक भएको प्रेस विज्ञप्ति फेला पर्यो ।
प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार १७ माघ (३१ जनवरी) मा सङ्खुवासभाको चैनपुर नगरपालिका वडा नं १० इखम्बुमा खुकुरीको प्रहारबाट एक जनाको घटना स्थलमा नै मृत्यु भएको थियो ।
४७ वर्षीय लिला प्रसाद राईको मृत्यु भएपछि सोही दिन इखम्बुका ५९ वर्षीय शिवकुमार राईलाई खुकुरीसहित प्रहरीले पक्राउ गरेको थियो । वस्तुले घाँस खाएको विषयमा विवाद भएका कारण उक्त घटना भएको उक्त समाचारमा उल्लेख छ ।

दाबी
संखुवासभाको चैनपुरमा भोट माग्न जाँदा युवाले एमालेका कार्यकर्तालाई खुकुरी प्रहार गरेर ढलाए ।
दाबीकर्ता
फेसबुक अकाउन्टहरू 'रबिन प्याकुरेल, 'कृष्ण अयाँल', 'Subash Cheetri', 'PK प्रत्यक्ष खबर' लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य
-
सामाजिक सञ्जालमा संखुवासभाको चैनपुरमा भोट माग्न गएका एमाले कार्यकर्तामाथि खुकुरी प्रहार गरेको दाबीसहित भाइरल भइरहेको फोटो एआई जेनेरेटेड हो ।
-
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार पछिल्लो समयमा चैनपुरमा चुनाव वा राजनीतिक गतिविधिसँग जोडिएको कुनै त्यस्तो घटना भएको छैन ।
-
वास्तवमा ३१ जनवरी (१७ माघ) मा चैनपुर नगरपालिका-१० इखम्बुमा छिमेकीबिचको विवादका कारण खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको थियो ।
-
वस्तु (घर पालुवा जनावर)ले घाँस खाएको विवादमा सुरु भएको उक्त घटनामा राजनीति वा भोट माग्ने गतिविधि जोडिएको थिएन ।
निष्कर्ष
संखुवासभाको चैनपुरमा भोट माग्न गएका एमाले कार्यकर्तामाथि युवाले खुकुरी प्रहार गरी ढालेको दाबी भ्रामक हो । उक्त दाबीमा प्रयोग भएको पोस्ट एआई जेनेरेटेड हो ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।
पछिल्लो अध्यावधिक: माघ २३, २०८२ १८:१३
