लक्की ड्र मार्फत् इलेक्ट्रोनिक आइटमहरू उपहारमा पाउने भन्दै एकै जनाबाट करिब १४ लाख ठगी
माघ २५, २०८२ १९:५
काठमाडौँ । काठमाडौँको डिल्लीबजारमा कार्यालय खोलेर लक्की ड्र र विभिन्न आकर्षक उपहारको प्रलोभन देखाई एकै व्यक्तिबाट १३ लाख ८३ हजारभन्दा बढी रकम ठगी भएको पाइएको छ । ठगी अभियोगमा ब्राभो डिजिटल वर्ल्ड प्रालिका सञ्चालक विरुद्ध जिल्ला अदालत काठमाडौँमा शुक्रबार मुद्दा दायर भएको हो ।
सुनसरीको इनरुवा घर भई हाल डिल्लीबजार बस्ने ४९ वर्षीय नवीन ढकाल विरुद्ध सरकारी वकिल कार्यालयले ठगीको कसुरमा अभियोग पत्र दर्ता गरेको छ ।
पीडित सत्य नारायण मानन्धरले दिएको जाहेरी अनुसार ढकालले ब्राभो कनेक्टिङ डिजिटल्ली नामक सदस्यता कार्यक्रम सञ्चालन गरी मानिसहरूलाई लक्की ड्रमार्फत कार, मोटरसाइकल, टेलिभिजन, वाशिङ मेसिन जस्ता महँगा उपहार जित्ने लोभ देखाएका थिए । ढकालले यसका लागि प्रतिनिधिहरू नै खटाएर विज्ञापन गर्ने गरेको पाइएको छ ।
पीडित मानन्धरलाई सुरुमा मासिक ५०० रुपैयाँको चिट्ठा किन्न लगाएर विश्वासमा पारिएको थियो । पछि बम्पर उपहारमा कार र मोटरसाइकल जित्नका लागि भन्दै मासिक १,१७५ रुपैयाँका दरले किस्ता तिर्न बाध्य पारिएको थियो । यसरी पटक-पटक गरी जाहेरवालाबाट ढकालले कूल १३ लाख ८३ हजार ३०० रुपैयाँ नगद र अनलाइन मार्फत असुल गरेका थिए ।
जाहेरवालाले सम्पूर्ण रकम बुझाइसकेपछि उनलाई बजाज कम्पनीको पल्सर २२० सीसीका दुईवटा मोटरसाइकल उपहार परेको जानकारी दिइएको थियो । तर, जब उनी मोटरसाइकल लिन कम्पनीको कार्यालय पुगे, सञ्चालक ढकालले विभिन्न कर, राजस्व र सेवा शुल्क तिर्नुपर्ने बहाना बनाएर आलटाल गरे । अन्त्यमा मोटरसाइकल पनि नदिने र रकम पनि फिर्ता नगर्ने भन्दै उल्टै धम्की दिएर पठाएपछि मानन्धरले प्रहरीमा उजुरी दिएका थिए ।
जिल्ला प्रहरी परिसरले गरेको अनुसन्धानका क्रममा उक्त कम्पनीको प्रबन्धपत्रमा इलेक्ट्रोनिक सामग्रीहरूको व्यापार गर्ने उद्देश्य उल्लेख भए पनि गैरकानुनी रूपमा चिट्ठा र लक्की ड्र कार्यक्रम सञ्चालन गरेको देखिएको छ । बरामद भएका कागजात र बैङ्क विवरणहरूबाट पनि जाहेरवालाबाट ठुलो रकम असुल भएको पुष्टि भएको छ ।
सरकारी वकिल कार्यालयले नवीन ढकाल विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिम ठगीको कसुरमा मुद्दा चलाएको छ । अभियोग पत्रमा प्रतिवादी ढकाललाई सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबाना, पीडितबाट ठगी गरिएको १३ लाख ८३ हजार ३०० रुपैयाँ बिगो प्रतिवादीबाटै असुल गरी पीडितलाई भराइदिन र पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क समेत भराउन मागदाबी लिइएको छ ।
हाल फरार रहेका भनिएका ढकालको हकमा अदालतले थप कानुनी प्रक्रिया अगाडि बढाउन अनुमति दिएको छ ।
पछिल्लो अध्यावधिक: माघ २५, २०८२ १९:२७
