आशङ्कामा खानतलासी गर्दा बाराका २४ वर्षीय युवकको खातामा भेटियो करिब २० करोडको क्रिप्टो कारोबार
माघ २६, २०८२ १९:५९
काठमाडौँ । अवैध रूपमा क्रिप्टोकरेन्सीको कारोबार र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) गरेको अभियोगमा बाराका एक २४ वर्षीय युवक विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । बारा जिल्लाको कलैया उपमहानगरपालिका-२० स्थायी घर भई हाल काठमाडौँको डल्लु बस्ने मोहमद सेफ विरुद्ध सरकारी वकिल कार्यालयले करिब २० करोड रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको हो ।
मोहमद सेफलाई प्रहरीले १० मङ्सिर २०८२ को साँझ काठमाडौँको भद्रकाली क्षेत्रबाट शङ्कास्पद अवस्थामा पक्राउ गरेको थियो । खानतलासीका क्रममा उनको साथबाट दुई थान मोबाइल फोन बरामद गरिएको थियो । ती मोबाइलहरूको प्राविधिक जाँच गर्दा उनले बाइनान्स प्लेटफर्ममार्फत यूएसडीटी, बङ्क (BONK) र पेपे जस्ता क्रिप्टोकरेन्सीको ठुलो परिमाणमा कारोबार गरेको फेला परेको थियो ।
अनुसन्धानका क्रममा उनको मोबाइलमा लगइन रहेको बाइनान्स अकाउन्ट फेला परेको थियो । सो अकाउन्टको विवरण अनुसार उनले कूल १९ करोड ८१ लाख ४९ हजार ६८१ रुपैयाँ बराबरको अवैध क्रिप्टो कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रतिवादी मोहमद सेफले छोटो समयमै विभिन्न १० वटा बैङ्कहरूमा खाता खोलेर ठुलो मात्रामा वित्तीय कारोबार गरेको पाइएको छ । अभियोग पत्रका अनुसार उनको नाममा रहेका खाताहरूमा हालसम्म ७ करोड ४९ लाख ४७ हजार १३३ रुपैयाँ बराबरको डेबिट र ७ करोड ५३ लाख ४१ हजार ६६४ रुपैयाँ बराबरको क्रेडिट कारोबार भएको देखिएको छ ।
ती खाताहरूमा विभिन्न व्यक्तिहरूबाट रकम जम्मा गराउने र एटीएम तथा चेक मार्फत तुरुन्तै नगद निकाल्ने गरेको पाइएको छ । उनले उक्त रकमको वैधानिक स्रोत खुलाउन नसकेकाले अवैध आर्जनलाई वैध बनाउन खोजेको अर्थात् सम्पत्ति शुद्धीकरण गरेको सरकारी वकिल कार्यालयको दाबी छ ।
प्रहरीसँगको बयानका क्रममा सेफले आफूलाई करिब ८–९ महिना अगाडि अनलाइनमार्फत मुराध आलम भन्ने व्यक्तिले क्रिप्टो कारोबार सिकाएको बताएका छन् । उनले मुराधले नै बाइनान्सको आईडी र पासवर्ड दिएको र आफूले सोही अनुसार क्वाइनहरू बिक्री गरी आएको रकम मुराधले दिएका विभिन्न बैङ्क खाताहरूमा जम्मा गर्ने गरेको स्वीकार गरेका छन् ।
यो कार्य गरेबापत उनले मासिक २०० देखि २५० यूएसडीटी पाउने गरेको र हालसम्म करिब ४ देखि ५ लाख रुपैयाँ मात्र नाफा गरेको दाबी गरेका छन् । यद्यपि उनको बैङ्क खातामा देखिएको करोडौँको कारोबार र उनले स्रोत खुलाउन नसकेको अवस्थाले उनको बयान तथ्यसँग मेल नखाएको अनुसन्धान अधिकारीहरूको निष्कर्ष छ ।
सरकारी वकिल कार्यालयले मोहमद सेफ विरुद्ध दुईवटा मुख्य अभियोगमा हदैसम्मको सजाय माग गर्दै मुद्दा चलाएको छ । मुलुकी अपराध संहिता अनुसार अवैध रूपमा अभौतिक मुद्राको कारोबार गरेको अभियोगमा उनलाई बिगो र सोबाट बढे वा बढाएको सम्पत्ति समेत जफत गरी ५ वर्षसम्म कैद र बिगो बमोजिम जरिबानाको माग गरिएको छ ।
त्यस्तै सम्पत्ति शुद्धीकरण निवारण ऐन बमोजिमको कसुरमा उनलाई बिगोको दोब्बर जरिबाना र कसुरको गम्भीरता हेरी २ देखि १५ वर्षसम्म कैद सजायको मागदाबी गरिएको छ ।
पछिल्लो अध्यावधिक: माघ २६, २०८२ १९:५९
