काठमाडौँ । निर्वाचन आयोगले उत्कृष्ट टिकटक भिडिओ बनाउनेलाई ५० हजार रुपैयाँसम्म पुरस्कार दिने भएको छ । मङ्गलबार एक सूचना प्रकाशित गर्दै आयोगले आगामी २१ फागुनमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै यो अभियान सुरु गरेको हो ।
प्रतिस्पर्धामा सहभागी हुन चाहनेहरूले निर्वाचन प्रचार प्रसार, निर्वाचन आचार संहिता तथा मतदाता शिक्षा जस्ता विषयमा आधारित भएर एक मिनेटसम्मका भिडिओ बनाउनु पर्नेछ । त्यस्ता भिडिओ बनाई आफ्नो टिकटक, फेसबुक, तथा युट्युब च्यानलमा राख्नुपर्नेछ भने ३ देखि १७ फागुनसम्मको अवधिमा आयोगको ईमेल एड्रेस [email protected] मा पठाउनु पर्नेछ ।
आयोगमा प्राप्त भिडिओहरू मध्ये सबैभन्दा बढी भ्युअर्स भएका उत्कृष्ट तीन वटा भिडिओलाई आयोगले पुरस्कृत गर्नेछ । जसलाई क्रमशः ५० हजार रुपैयाँ, ३० हजार रुपैयाँ र २० हजार रुपैयाँ पुरस्कार दिइनेछ ।
भिडिओ बनाउँदा ध्यान दिनुपर्ने विषय
टिकटक भिडिओ प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को परिवेशमा तयार पार्नुपर्नेछ । भिडिओ संवादमूलक एवं सन्देशमूलक हुनुपर्ने र आफ्नै मौलिक अडियो र अभिनय भएको भिडिओलाई प्राथमिकता दिइने आयोगले जनाएको छ ।
त्यस्तै निर्वाचनको सामान्य जानकारी, निर्वाचनको आवश्यकता र महत्त्व, मतपत्रमा छाप लगाउने सही तरिका, निर्वाचन आचार संहिताको पालना, मतदाताको अधिकार र कर्तव्य, मतदाताले कस्तो उम्मेदवार छनोट गर्नुपर्छ भन्ने जानकारी जस्ता छुट्टाछुट्टै विषयवस्तुमा आधारित भएर भिडिओ बनाउन सकिनेछ ।
कुनै एक व्यक्तिले एउटा विषयमा एउटा भिडिओ मात्र प्रतिस्पर्धाका लागि पठाउन सकिनेछ । भिडिओ भने दुई वा दुईभन्दा बढी व्यक्ति समावेश भएर पनि बनाउन सकिनेछ ।
यसरी प्राप्त भएका भिडिओहरूमा आयोगको अधिकार रहनेछ भने भिडिओ सन्देशलाई आयोगले आफ्ना सामाजिक सञ्जालबाट प्रसारण गर्न सक्नेछ ।
तोकिएका सर्तहरूको पालना नभएका र म्याद नाघेपछि प्राप्त भएका भिडिओहरू भने प्रतियोगिताका लागि स्वीकार नगरिने आयोगले स्पष्ट पारेको छ । उत्कृष्ट भिडिओको छनोट स्वतन्त्र विज्ञ तथा आयोगबाट हुनेछ ।
पछिल्लो अध्यावधिक: माघ २७, २०८२ १७:३
