गोप्य सरकारी कागजात फेसबुकमा सार्वजनिक गरेको आरोपमा रास्वपा, कपिलवस्तुका नेता भट्टराई पक्राउ
माघ २८, २०८२ २१:३३
काठमाडौँ । अनुसन्धानका क्रममा रहेका गोप्य सरकारी कागजात फेसबुकमार्फत सार्वजनिक गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), कपिलवस्तुका नेता रिखिराम भट्टराई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बाणगङ्गा नगरपालिका-८, धनेषपुर निवासी भट्टराईलाई मङ्गलबार नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार भट्टराईले गत सोमबार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा भइरहेको अनुसन्धानसँग सम्बन्धित सरकारी कागजात आफ्नो व्यक्तिगत फेसबुक पेजमा पोस्ट गरेका थिए । ती कागजात सार्वजनिक गरी गोपनीयताको उल्लङ्घन गरेको र समाजमा घृणा तथा द्वेष फैलाउने कार्य गरेको अभियोग उनीमाथि लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्रकुमार सिंहका अनुसार भट्टराईलाई मङ्गलबार साँझ ५:०० बजे कपिलवस्तु नगरपालिका-२ बाट नियन्त्रणमा लिइएको हो । उनीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिमको कसुरमा कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।
जिल्ला अदालत कपिलवस्तुबाट ३ दिनको म्याद थप गरी उनीमाथि विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रिखिराम भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तुको संगठन विस्तारको जिम्मेवारी सम्हालिरहेका नेता हुन् ।
पछिल्लो अध्यावधिक: माघ २८, २०८२ २१:५०
