close

वेबसाइटहरूमा रहस्यमय चिनियाँ बट ट्राफिकको लहर, कसले किन गरिरहेको छ यस्तो काम ?

टेकपाना टेकपाना

फागुन ३, २०८२ ९:३०

वेबसाइटहरूमा रहस्यमय चिनियाँ बट ट्राफिकको लहर, कसले किन गरिरहेको छ यस्तो काम ?

काठमाडौँ । पछिल्लो समय विश्वभरका वेबसाइट सञ्चालकहरूले आफ्नो वेब ट्राफिकमा एउटा अनौठो र व्याख्या गर्न नसकिने परिवर्तन महसुस गरिरहेका छन् । स-साना व्यक्तिगत ब्लगदेखि लिएर अमेरिकी सङ्घीय निकायका वेबसाइटहरूमा समेत चीनको लान्झाउ सहर र सिङ्गापुरबाट अचानक ठुलो सङ्ख्यामा बट (स्वचालित सफ्टवेयर) हरूको आगमन भइरहेको द वायर्डमा उल्लेख छ ।

बोगोटाका डेटा विश्लेषक अलेहान्ड्रो क्विन्टेरो, जो भूत र एलियन जस्ता अलौकिक गतिविधिबारे लेख्ने एउटा वेबसाइट चलाउँछन्, उनले अक्टोबर महिनामा आफ्नो साइटमा चीनबाट अचानक ठुलो ट्राफिक आएको पाए । सुरुमा उनले आफ्नो सामग्री चीनमा चर्चित भएको ठानेका थिए । तर, वायर्डसँग कुरा गर्दै उनले भनेका छन्, "मैले गुगल एनालिटिक्सको तथ्याङ्क हेर्दा थाहा पाएँ कि ती सबै भिजिटरहरू चीनको लान्झाउ सहरका थिए र उनीहरू वेबसाइटमा शून्य सेकेन्ड मात्र बस्थे ।" न त उनीहरूले पेज स्क्रोल गर्थे, न त कतै क्लिक नै गर्थे । यसबाट ती वास्तविक मानिस नभएर बट भएको पुष्टि भयो ।

यो समस्या क्विन्टेरोको वेबसाइटमा मात्र सीमित छैन ।Analytics.usa.gov को तथ्याङ्क अनुसार विगत ९० दिनमा अमेरिकी सरकारी वेबसाइटहरूमा हुने कुल भिजिटमध्ये १४.७ प्रतिशत लान्झाउ र ६.६ प्रतिशत सिङ्गापुरबाट आएको देखिएको छ । यसले लान्झाउ र सिङ्गापुरलाई अमेरिकी सरकारी जानकारी खोज्ने विश्वकै शीर्ष दुई सहरको रूपमा देखाएको छ, जुन सामान्य अवस्थामा सम्भव छैन ।

यसका साथै भारतको लाइफस्टाइल म्यागजिन, क्यानडाको एउटा सानो टापुको ब्लग, र हजारौँ ई-कमर्स पसलहरू पनि यसै प्रकारको बट ट्राफिकबाट प्रभावित भएका छन् ।

आखिर को छ यसको पछाडि ?

स्वचालित अनलाइन ट्राफिकको विश्लेषण गर्ने कम्पनी नोन एजेन्ट्स (Known Agents) का संस्थापक ग्याभिन किङले यो ट्राफिकको गहिरो अध्ययन गरेका छन् । किङका अनुसार गुगल एनालिटिक्सले यो ट्राफिक लान्झाउबाट आएको देखाए पनि वास्तवमा यो सिङ्गापुर हुँदै रि-रुट भएर आइरहेको छ । उनले यो ट्राफिक चीनका प्रमुख क्लाउड कम्पनीहरू– टेन्सेन्ट, अलिबाबा र ह्वावेका सर्भरहरू प्रयोग गरेर पठाइएको पत्ता लगाएका छन् ।

एक मौसम पूर्वानुमान वेबसाइटका प्रबन्धक एन्डीले पनि यी तीनै कम्पनीसँग सम्बन्धित 'अटोनोमस सिस्टम नम्बर' (ASN) बाट ठुलो मात्रामा बटहरू आएको पुष्टि गरेका छन् । यद्यपि, यी कम्पनीहरू आफैँले यसो गरेका हुन् वा उनीहरूको सर्भर प्रयोग गर्ने कुनै ग्राहकले भन्ने कुरा भने अझै स्पष्ट हुन सकेको छैन ।

धेरै विशेषज्ञहरूले यो ट्राफिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनीहरूको काम हुन सक्ने आशङ्का गरेका छन् । वायर्डका अनुसार सन् २०२५ मा इन्टरनेट ट्राफिकको ठुलो हिस्सा एआई बटहरूले ओगटेका छन्, जसले इन्टरनेटबाट डेटा सङ्कलन गरी लार्ज ल्याङ्ग्वेज मोडेल (एलएलएम) हरूलाई तालिम दिने गर्छन् ।

तर यी चिनियाँ बटहरू अन्य एआई बटभन्दा फरक छन् । इन्टरनेट पूर्वाधार कम्पनी अकामाईका सुरक्षा प्रविधि निर्देशक ब्रेन्ट मेनार्ड भन्छन्, "प्रायः एआई कम्पनीहरूले आफ्ना बटहरूलाई स्पष्ट रूपमा पहिचान गराउँछन् । तर यो चिनियाँ लहरका बटहरूले सुरुदेखि नै आफूलाई सामान्य मानव प्रयोगकर्ता जस्तै भेष बदलेर सुरक्षा नियमहरू छल्ने प्रयास गरिरहेका छन् ।"

वेबसाइट सञ्चालकलाई आर्थिक र प्राविधिक नोक्सानी

यस किसिमको बट ट्राफिकको कुनै स्पष्ट विनाशकारी उद्देश्य नदेखिए पनि यसले वेबसाइट सञ्चालकहरूलाई भने आर्थिक नोक्सानी पुर्‍याइरहेको छ । क्विन्टेरोका अनुसार यसले उनको एडसेन्स रणनीति ध्वस्त पारिदिएको छ ।

गुगलले वेबसाइटमा केवल बटहरू मात्र आउँछन् भन्ने ठानेमा उक्त साइटको सामग्रीलाई कम मूल्यवान् मानेर विज्ञापनको आम्दानी घटाइदिन सक्छ । यसबाहेक धेरै ट्राफिक धान्नका लागि ब्यान्डविथको अतिरिक्त पैसा तिर्नुपर्ने र तथ्याङ्कहरू बिग्रने समस्याले सञ्चालकहरू चिन्तित छन् ।

यस किसिमको समस्याबारे वायर्डले सोधेको प्रश्नमा वर्डप्रेसले केही महिनायता यस्ता रिपोर्टहरू प्राप्त गरेको स्वीकार गरेको छ । गुगल, क्लाउडफ्लेयर र स्क्वायरस्पेस जस्ता कम्पनीहरूले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

हाल वेबसाइट सञ्चालकहरू आफैँले यसको समाधान खोजिरहेका छन् । एन्डीले टेन्सेन्ट र अलिबाबासँग सम्बन्धित चारवटा मुख्य सर्भर एड्रेसहरू (एएसएन) ब्लक गरेपछि आफ्नो साइटमा दैनिक १ लाख २७ हजार पुगेको बट ट्राफिकलाई घटाएर २ हजारमा झार्न सफल भएका छन् । अकामाईका मेनार्डका अनुसार इन्टरनेटमा सार्वजनिक रूपमा उपलब्ध हुनुको एउटा मूल्य यस्ता चुनौतीहरूसँग लड्नु पनि हो । एआई प्रविधिको विस्तारसँगै यस्ता समस्याहरू भविष्यमा अझ बढ्ने देखिन्छ ।

पछिल्लो अध्यावधिक: फागुन ३, २०८२ ९:३१