close

पूर्वप्रेमिकाको चरित्र हत्या हुने गरी टिकटकमा कमेन्ट गर्ने वीरगञ्जका एक युवकविरुद्ध मुद्दा

टेकपाना टेकपाना

फागुन ३, २०८२ १०:३८

पूर्वप्रेमिकाको चरित्र हत्या हुने गरी टिकटकमा कमेन्ट गर्ने वीरगञ्जका एक युवकविरुद्ध मुद्दा

काठमाडौँ । सामाजिक सञ्जाल टिकटक र ह्वाट्सएपमार्फत पूर्वप्रेमिकालाई गालीगलौज गरी चरित्र हत्या गरेको आरोपमा वीरगञ्जका २९ वर्षीय सद्दाम अलीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले दायर गरेको अभियोग पत्र अनुसार अलीले टिकटकमा ती महिलाको अर्धनग्न तस्बिरसहित अपशब्द प्रयोग गरी कमेन्ट गरेका थिए ।

केही दिन अघि दर्ता भएको अभियोग पत्रमा उल्लेख भए अनुसार वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरमा रेड एण्ड टेलर सञ्चालन गर्ने सद्दाम अली र पीडित महिला विगत तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । सम्बन्धमा खटपट भएपछि महिलाले अलीसँगको सम्पर्क विच्छेद गरी उनलाई सामाजिक सञ्जालमा ब्लक गरेकी थिइन् । सम्पर्क हुन नसकेपछि रिसको झोँकमा अलीले ती महिलाको टिकटक भिडियोहरूमा अश्लील र अपमानजनक कमेन्ट गर्न सुरु गरेको अभियोग पत्रमा खुलाइएको छ ।

पीडित महिलाले साइबर ब्युरोमा दिएको जाहेरी अनुसार अलीले किङ अफ रोयल मुस्लिम नामक टिकटक आईडी र आफ्नो ह्वाट्सएप नम्बरबाट ती महिलालाई अत्यन्तै तल्लो स्तरका गालीहरू गर्ने, अर्धनग्न फोटो पठाउने र काठमाडौँ तथा सौराहाका होटलहरूमा यौनजन्य कार्यमा संलग्न रहेको भन्दै झुटो लाञ्छना लगाएका थिए ।

प्रहरी नियन्त्रणमा रहेका प्रतिवादी सद्दाम अलीले आफ्नो बयानका क्रममा कसुर स्वीकार गरेका छन् । अभियोग पत्रमा समावेश गरिएको उनको बयान अनुसार ती महिलाले आफूलाई सबैतिरबाट ब्लक गरेपछि र कुराकानी नगरेपछि रिसको आवेगमा आएर उनले टिकटक र ह्वाट्सएपमा त्यस्ता कमेन्ट तथा मेसेज गरेका थिए । उनले बयानमा भनेका छन्, "मैले निजसँग सम्पर्क हुने कुनै माध्यम नभएपछि रिसको झोँकमा टिकटक र ह्वाट्सएपबाट विभिन्न सन्देशहरू पठाई बेइज्जत गर्ने कार्य गरेको हो ।"

प्रहरीको अनुसन्धान प्रतिवेदन र प्राविधिक परीक्षण अनुसार अलीको साथबाट दुई वटा सामसङ मोबाइल सेट बरामद गरिएका थिए । डिजिटल फरेन्सिक परीक्षणका क्रममा ती मोबाइलमा पीडित महिलाका टिकटक भिडिओका स्क्रिनशटहरू र विवादित टिकटक आईडी लग-इन रहेको फेला परेको थियो ।

सरकारी वकिल कार्यालयले अलीमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ (१) बमोजिमको कसुरमा कारबाही गर्न माग गरेको छ । सो दफामा कम्प्युटर वा इन्टरनेट जस्ता विद्युतीय सञ्चार माध्यमबाट सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धका सामग्री प्रकाशन गर्ने वा महिलालाई जिस्क्याउने, हैरानी गर्ने र अपमान गर्नेलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

यसका साथै पीडित महिलालाई अलीबाट उचित क्षतिपूर्ति भराउन र अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउन समेत अभियोग पत्रमा मागदाबी गरिएको छ । अदालतले यस मुद्दामा अब थप सुनुवाइ अगाडि बढाउनेछ ।

पछिल्लो अध्यावधिक: फागुन ३, २०८२ १०:३८