close

केपी ओलीका फेसबुक फलोअर बढाउन रकम लिएको दाबी गर्ने अङ्कित घिमिरेको भाइरल स्क्रिनशट 'फेक'

टेकपाना टेकपाना

फागुन ३, २०८२ १५:२०

केपी ओलीका फेसबुक फलोअर बढाउन रकम लिएको दाबी गर्ने अङ्कित घिमिरेको भाइरल स्क्रिनशट 'फेक'

 

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेजमा अस्वाभाविक रूपमा फलोअर बढाउन आफूले २५ हजार रुपैयाँ लिएको दाबी गर्ने झापाका युवक अङ्कित घिमिरेले आफ्नो गल्ती स्वीकारेका छन् । ओलीको फेसबुक पेजमा फलोअरको सङ्ख्या तीव्र गतिमा बढिरहेको विषय चर्चामा रहेका बेला उनले सोही सन्दर्भलाई आफ्नो व्यवसाय प्रवर्धन गर्ने अवसरका रूपमा प्रयोग गर्दै सामाजिक सञ्जालमा भ्रम फैलाएको पुष्टि भएको हो । 

घिमिरेले गत ४ फेब्रुअरीमा केही स्क्रिनशट सार्वजनिक गर्दै एमाले कार्यकर्ता विवेक थपलियासँगको च्याटमार्फत आफूले फलोअर बढाउने कामको जिम्मा लिएको र त्यस बापत भुक्तानी समेत पाएको दाबी गरेका थिए । उक्त पोस्ट भाइरल भएपछि टेकपानालाई विभिन्न माध्यमबाट सामाजिक सञ्जाल प्रयोगकर्ताले मेन्सन गर्दै फ्याक्टचेकका लागि अनुरोध गरेका थिए ।

अनुसन्धानका क्रममा ती स्क्रिनशटमा कैयौँ प्राविधिक र व्यावहारिक त्रुटिहरू फेला परे । अङ्कितले सार्वजनिक गरेको च्याटमा विवेक थपलियाले सुरुमै सम्पर्क गरेर ‘हजार फलोअरको कति लिन्छौ’ भनी सोधेको र अङ्कितले प्रति हजार १४० रुपैयाँ बताएको देखाइएको छ । त्यसपछि थपलियाले २५ हजारमा काम गरिदिन भन्दै ओलीको पेजको स्क्रिनशट पठाएको देखाइएको छ । डिल मिलिसकेपछि अन्तिममा दुई लाख फलोअर बढाउन भनेको देखाइएको छ । 

सामान्यतः कसैले कुनै अनलाइन सेवा लिनका लागि पहिले त्यसले कसरी काम गर्छ, आफ्नो आवश्यकता के हो, त्योबारे काम गरेको प्रमाणहरू माग्ने काम गर्छ । तर, केही मिनेटमै डिल गरेको र अन्तिममा २५ हजारमा दुई लाख फलोअर बढाइदिने डिल भएको देखाइएको छ, जुन स्पष्ट रूपमा अस्वाभाविक देखियो ।

त्यसबाहेक विवेक थपलियाले पठाएको भनिएको केपी ओलीको प्रोफाइलको स्क्रिनशटमा थपलिया स्वयंले ओलीलाई फलो नगरेको देखिएको थियो । ओलीकै लागि फलोअर किन्न खोज्ने व्यक्तिको हकमा यो पनि अस्वाभाविक देखिन्थ्यो । त्यस्तै थपलियाले पठाएको भनिएको स्क्रिनशटमा केपी ओलीको फेसबुक पेजमा सात लाख २६ हजार फलोअर देखिएको छ । तर, अस्वाभाविक रूपमा ओलीको फेसबुकमा फलोअर बढ्नुअघि उक्त पेजमा सात लाख २९ हजार हाराहारी फलोअर भएको टेकपानाले यसअघि गरेको विश्लेषणमा देखिएको थियो । त्यसअघि ओलीको फेसबुक पेजमा दैनिक १५०० देखि दुई हजार हाराहारीले समान रूपमा फलोअर बढेका थिए ।

स्क्रिनशटको प्राविधिक पक्ष विश्लेषण गर्दा पनि त्यहाँ केही कमजोरी देखा परेका छन् । विवेक थपलियाले पठाएको भनिएको ओलीको प्रोफाइलको स्क्रिनशट र अङ्कितले सार्वजनिक गरेको भनिएको च्याटको स्क्रिनशटको यूआई समान देखियो । खासगरी स्टाटस बारमा रहेको सिमकार्डको नाम, समय, नेटवर्क र ब्याट्रीको स्थान सबै समान ठाउँमा छन् । 

थपलियाले पठाएको भनिएको स्क्रिनशटमा फोनको चार्ज ५७ प्रतिशत र समय ३ः३९ बजे देखिएको थियो भने अङ्कितले लिएको भनिएको स्क्रिनशटमा ब्याट्री ५१ प्रतिशत र समय ४ः३५ बजेको देखिन्थ्यो । अर्थात् पहिले स्क्रिनशट तयार पारिएको र पछिबाट मात्र च्याटका रूपमा तयार पारेर सार्वजनिक गरेको विश्लेषण गरियो । 

त्यस्तै स्क्रिनशटको दायाँ र बायाँ भागमा देखिएका अतिरिक्त खाली ठाउँले ती स्क्रिनशट वास्तविक नभई आफैँले नक्कली अकाउन्ट बनाएर वा एडिट गरेर तयार पारिएको सङ्केत गरेको थियो ।

यसबारे बुझ्न टेकपानाले घिमिरेलाई सम्पर्क गर्‍यो । उनले सुरुमा भने, “अहिले थपलियाको फेसबुक अकाउन्ट डिएक्टिभेट छ । मैले त्यही दिन नै स्क्रिनशट लिएको हुँ ।” उनलाई स्क्रिन शेयर गरेर च्याट गरेको देखाउन भन्दा उनले च्याट डिलिट गरिसकेको दाबी गरे ।

त्यसपछि उनलाई इसेवामा प्राप्त भएको रकमको स्टेटमेन्ट उपलब्ध गराउन आग्रह गर्दा उनी असमर्थ भए । अन्ततः उनले आफ्नो व्यवसाय प्रवर्धन गर्न नक्कली स्क्रिनशट पोस्ट गरेको स्वीकारे । आफ्नो नम्बर नै सार्वजनिक गरेकाले धेरैले एसएमएस र कलबाट धम्की दिएको र केहीले फलोअर बढाउनका लागि सहकार्य गर्न आग्रह गरेको उनले सुनाए । “धेरै कल र एसएमएस आउन थालेपछि फोन अफ गरेको थिएँ । अहिले फेरि अन गरेको छु,” उनले भने ।

केपी ओलीको पेजमा भएका वास्तविक फलोअरको सङ्ख्या र अस्वाभाविक रूपमा बढेका फलोअरको सङ्ख्या देखिने स्क्रिनशट राख्दै तुलना गर्न थालेपछि त्यसैलाई आफ्नो मार्केटिङका लागि जोडेको उनले स्वीकारेका छन् । “त्यतिबेला ओलीको फेसबुक पेजको चर्चा भइरहेको थियो । नक्कली फलोअर किनेर दुई लाख बढाएको भन्दै धेरैले कुरा गरिरहेका थिए,” टेकपानासँग कुरा गर्दै अङ्कितले भने, “म पनि त्यस्तै सेवा दिने भएकाले त्यसलाई प्रचार गर्न च्याट गरेको जस्तो स्क्रिनशट बनाएँ ।”

विवेक थपलिया एमाले निकट भएको र उनको चर्चा व्यापक रूपमा भइरहेकाले धेरैले आफ्नो स्क्रिनशटलाई वास्तविक ठान्ने उनको आशा थियो । विवेक थपलियाले रकम पठाएको भन्दै सार्वजनिक गरिएको स्क्रिनशटमा उनको मोबाइल नम्बर पनि देखिएको थियो । उनको पोस्ट भाइरल भएपछि धेरै कल र एसएमएस आएको उनको भनाइ छ । 

“केहीले साइबर क्राइम लाग्छ भने, केहीले फोन गरे । धेरै फोन आउन थालेपछि म आत्तिएँ । र, फोन अफ गरेर केही दिन हराएँ,” उनी भन्छन्, “अहिले भने अन गरेको छु ।”

उनले यो सामग्री तयार पार्दासम्म पोस्ट डिलिट गरिसकेका छन् । यद्यपि उक्त पोस्टको स्क्रिनशट र आर्काइभ लिङ्क सामाजिक सञ्जालमा छरिएको छ ।

पछिल्लो अध्यावधिक: फागुन ३, २०८२ १५:४५