close

जेफ्री एप्स्टिन प्रकरण: युट्युबजस्तै देखिने ‘जेफट्युब’ सार्वजनिक, छन् एप्स्टिनका कर्तुतका भिडिओ

टेकपाना टेकपाना

फागुन ४, २०८२ १३:४५

जेफ्री एप्स्टिन प्रकरण: युट्युबजस्तै देखिने ‘जेफट्युब’ सार्वजनिक, छन् एप्स्टिनका कर्तुतका भिडिओ

 

काठमाडौँ । जेफ्री एप्स्टिन प्रकरणका गोप्य फाइलबारे चासो राख्नेका लागि नयाँ प्लेटफर्म सार्वजनिक भएको छ । अमेरिकी न्याय विभाग (डीओजे) ले सार्वजनिक गरेका एप्स्टिन अनुसन्धानका सर्भिलेन्स (निगरानी) फुटेज र भिडिओ मात्र समावेश गरेर एक डेभलपरले युट्युब जस्तै देखिने ‘जेफट्युब’ (JeffTube) सञ्चालनमा ल्याएका हुन् ।

मिडजर्नीमा कार्यरत फुल-स्ट्याक डेभलपर म्याथ्युजले ६ फेब्रुअरीमा यो प्रोजेक्टको घोषणा गरेका हुन् । ‘जेफट्युब डट नेट’ (jefftube.net) लाइभ हुनेबित्तिकै लाखौँ मानिसले यसमा प्रतिक्रिया जनाएका छन् भने एक्समा गरिएको उनको पोस्टले हालसम्म १४ लाखभन्दा बढी भ्युज पाइसकेको छ । 

यो वेबसाइट हेर्दा ठ्याक्कै आधिकारिक युट्युब जस्तै देखिन्छ । यसमा प्रयोगकर्ताले भिडिओ हेर्ने, कमेन्ट गर्ने, लाइक गर्ने र घण्टौँसम्मका जेलका फुटेजहरू ‘शर्ट्स’ फिडमा स्क्रोल गरेर समेत हेर्न सक्छन् ।

हाल यस प्लेटफर्ममा १०८३ ओटा भिडिओलाई विभिन्न प्लेलिस्टमा मिलाएर राखिएको छ । जसमा घिसलेन म्याक्सवेलको सेल देखाउने ‘पर्सन क्याम’ (६४ घण्टाभन्दा बढी), ३७ घण्टाको ‘सेल क्याम’, १७३ घण्टाको १७३ ओटै भिडिओ भएको ‘एलिभेटर क्याम’ र २९ घण्टाको ‘लबी क्याम’ समावेश छन् । यीमध्ये अधिकांश भिडिओ अगस्ट २०१९ मा एप्स्टिनको मृत्यु भएको मेट्रोपोलिटन करेक्सनल सेन्टरका हुन् ।

यसैबिच एप्स्टिनको कर्तुत एकीकृत रूपमा अभिलेख गर्ने प्लेटफर्म जेमेल डट वर्ल्डले पनि जेफट्युबलाई आफ्नो प्लेटफर्ममा समावेश गरेको छ । Jmail.world/jefftube भिजिट गर्दा युट्युब क्लोन खुल्छ ।

अमेरिकी न्याय मन्त्रालयले सार्वजनिक गरेका विशाल डकुमेन्टलाई सर्वसाधारणले सजिलै बुझ्न र हेर्न सक्ने गरी एप्स्टिन-थिमका विभिन्न एप क्लोन बनाइएका छन् । गत डिसेम्बरमा सार्वजनिक भएका यस्ता एपमा एप्स्टिनका इमेलहरू पढ्न मिल्ने ‘जेमेल’ (जिमेलको क्लोन), ‘जेफोटोज’, ‘जेड्राइभ’ र उनको खरिद विवरण हेर्न मिल्ने ‘ज्यामाजन’ समेत रहेका छन् ।

जेफट्युब जोडिनु केही दिनअघि मात्र जेमेल टोलीले इमेल डेटालाई विस्तृत रिपोर्टमा सङ्कलन गर्ने विकिपिडिया शैलीको स्रोत ‘जेकिपिडिया’ लन्च गरेको थियो । यसले एप्स्टिनको इस्टेट (सम्पत्ति) मा भएका भिजिट, सम्भावित कानुनी उल्लङ्घन र उनको गतिविधिबारे कसलाई के थाहा थियो भन्ने कुराको ट्र्याक गर्छ । उक्त घोषणाले दुई दिनमै ८२ लाख भ्युज पाएको थियो । पछि टोलीले यसको नाम परिवर्तन गरेर ‘जेविकी’ (Jwiki) राखेको छ ।

अमेरिकी न्याय विभागले ३१ जनवरी २०२६ मा एप्स्टिन फाइलका ३५ लाखभन्दा बढी पेज सार्वजनिक गरेको थियो । जसमा २ हजारभन्दा बढी भिडिओ र १ लाख ८० हजारभन्दा बढी तस्बिर समावेश छन् । यसअघि डिसेम्बर २०२५ मा पनि १३ हजारभन्दा बढी फाइल सार्वजनिक गरिएका थिए । यी फाइलहरूमा सर्भिलेन्स फुटेज, पीडितका अन्तर्वार्ता, उडान विवरण (फ्लाइट लग) र अनुसन्धानका क्रममा लेखिएका हस्तलिखित नोट रहेका छन् ।

जेमेलमा ४५ करोड बढी ट्राफिक पुगेको छ । अत्यधिक ट्राफिकका कारण सर्भर खर्च बढेपछि भर्सेल (Vercel) का सीईओ आफैंले उक्त खर्च बेहोर्ने जिम्मा लिएका छन् । गिटहबमा ओपन सोर्सको रूपमा रहेको यो प्रोजेक्टका लागि केही व्यक्तिले म्याथ्युजलाई आर्थिक सहयोग जुटाउन खोजेका थिए । तर, यो पैसाको लागि गरिएको काम नभएको भन्दै उनले त्यसलाई तुरुन्तै अस्वीकार गरेका थिए ।

पछिल्लो अध्यावधिक: फागुन ४, २०८२ १३:४६