close

फ्याक्टचेक: हर्क साम्पाङले तीन वर्ष पहिले सिंहदरबार जलाउने भन्दै पोस्ट गरेको दाबी मिथ्या

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

फागुन ४, २०८२ २०:१८

फ्याक्टचेक: हर्क साम्पाङले तीन वर्ष पहिले सिंहदरबार जलाउने भन्दै पोस्ट गरेको दाबी मिथ्या

काठमाडौँ । सामाजिक सञ्जालमा श्रम संस्कृति पार्टीका संस्थापक तथा धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्क साम्पाङले सन् २०२३ मा सिंहदरबार जलाउनुपर्ने अभिव्यक्ति दाबी सहितको एक्स (ट्वीटर) पोस्टको स्क्रिनशट भाइरल छ । टेकपानाको तथ्यजाँचबाट उक्त स्क्रिनशट साँचो रहेको पाइएपनि एक्स अकाउन्ट भने साम्पाङको नरहेको पाइएको छ ।

वास्तवमा साम्पाङ एक्समा सक्रिय नै नरहेको पाइएको हो । सम्पाङको जस्तै नक्कल गरेर एक्स चलाउने प्रयोगकर्ताले ३ सेप्टेम्बर २०२३ मा गरेको पोस्टलाई हर्क साम्पाङले सिंहदरबार जलाउनुपर्ने अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमा मिथ्या सूचना फैलाइएको टेकपाना फ्याक्टचेकबाट पुष्टि भएको छ । 

दाबी 

फेसबुक प्रयोगकर्ता ‘Suman Neupane’ ले आइतबार दिउँसो ४:५८ मा एक्समा ‘@hark_sampang’ ले ३ सेप्टेम्बर २०२३ मा सार्वजनिक गरेको देखिने एक पोस्टको स्क्रिनशट शेयर गरेका छन् । उक्त स्क्रिनशटमा लेखिएको छ, “सिंहदरबार त जलाउनै पर्छ, तर मेरो लागि होइन देशका लागी !” 

उक्त स्क्रिनशट शेयर गर्दै ‘Suman Neupane’ ले लेखेका छन्, ‘हर्क एण्ड कम्पनि को एक सिट भन्दा बढि आयो बह्ने गु चपायर मेरा मुखा ......😪’ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

 

५ जनवरी, २०२६ मा ‘Nepali Online News ✍️’ नामको ग्रुपमा ‘Birgunj SE’ नामका फेसबुक प्रयोगकर्ताले सोही स्क्रिनशट शेयर गरेका छन् । पोस्टको क्याप्सनमा उनले लेखेका छन्, “हर्के ले 2023 मा गरेको ट्वीट 🤣🤣” हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

 

फेसबुक प्रयोगकर्ता ‘Gokul Chapagain’ ले ४ जनवरीमा सोही स्क्रिनशट सार्वजनिक गरेको पाइयो । उक्त पोस्टको क्याप्सनमा लेखिएको छ, “03-September -2023 हर्क sampang को पोस्ट हो अहिले Balen लाई निकै खेदो गरेको छ तर आफुले के बोले भन्ने बिर्सेछ ग्रीन टी हर्के ले 🫤” 

हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

८ जनवरी २०२५ मा फेसबुक प्रयोगकर्ता ‘Sandesh Dhungana’ फेसबुकमा रिल्स बनाएर सोही स्क्रिनशट सार्वजनिक गरेको फेला पर्‍यो । उक्त पोस्टमा उनले क्याप्सन लेखेका छन्, ‘के यो सत्य हो ??😱😱😱 ।।’ रिल्समा दुई लाख ३० हजार भन्दा धेरैले हेरेका छन् भने ११ हजार बढी रियाक्सन र ७१३ शेयर छ । 

जहाँ उनले भनेका छन्, “दर्शकवृन्द मैले चाहिँ भर्खरै सोसल मिडिया स्क्रोल गर्दा सोसल मिडिया नै हल्लाउने खालको एउटा यो न्युज देखिरहेको थिएँ । त्यही भएर मलाई हजुरहरूसँग सेयर गर्न मन लाग्यो है त ।  मैले भर्खरै स्क्रोल गर्दा खेरि चाहिँ जुन हर्क साम्पाङ जी हुनुहुन्छ, हर्क साम्पाङले चाहिँ २०२३ मा चाहिँ सिंहदरबारको विषयमा यस्तो पोस्ट गर्नु भएको रैछ है (भिडिओ क्लिपमा भाइरल स्क्रिनशट देखाइएको छ) ।   मलाई विश्वास त लागेको थिएन तर जुन उहाँले भाषणमा…” 

त्यसपछि भिडिओको बीचमा साम्पाङले भाषण दिएको सानो क्लिप राखिएको छ । जहाँ साम्पाङले भनेका छन्, "यो देशको सिंहदरबार सम्म जलाउन नसक्ने..." 

अगाडि उनले भनेका छन्, “यसरी बोल्नु भएको छ। र यस्तो बोलेपछि चाहिँ मलाई पनि मनमा किन किन शंका पसेको छ क्या । कृपया हजुरहरूलाई के लाग्छ त ? हजुरहरूलाई मनमा लागेको प्रतिक्रिया कमेन्ट बक्समा लेख्न नबिर्सनु होला है त ।” हेर्नुहोस् पोस्ट, रेकर्डेड भिडिओ र स्क्रिनशट । 


 

सामाजिक सञ्जाल एक्समा (@Mukunda_Chettri) मा ५ जनवरी बिहान ८:१८ मा सोही स्क्रिनशट शेयर गरेको फेला पर्‍यो । उक्त पोस्टको स्टाटसमा लेखिएको छ, “सिंहदरबार त जलाउनै पर्छ, तर मेरा लागि होईन देशका लागी !” । हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 
 

सामाजिक सञ्जालमा उक्त स्क्रिनशट भाइरल भएको पाइएपछि हामीले एक्समा @hark_sampang युजरआईडी सर्च गर्यौँ । ‘Hark Sampang A revolution’ नामको अकाउन्ट फेला पर्‍यो ।  हामीले भाइरल स्क्रिनशट भने सोही अकाउन्टबाट भएको पोस्टको भए/नभएको खोज्ने प्रयास गर्‍यौँ । तर, उक्त अकाउन्टमा हाल भाइरल पोस्ट उपलब्ध छैन । 

त्यसपछि हामीले भाइरल भएको स्क्रिनशटमा देखिएका रिप्लाइहरू खोज्ने प्रयास गर्‍यौँ ।  ‘Gokul Chapagain’ ले सार्वजनिक गरेको पोस्टमा ‘🇳🇵गोcool(रबिको परिवार )’ नामको एक्स अकाउन्टबाट ‘तेरो बाउ जला चोर पास्टर’ भनेर रिप्लाइ गरिएको छ । उक्त रिप्लाइ एक्समा खोज्दा पोस्टको रिप्लाइ हालसम्म पनि उपलब्ध रहेको पाइयो । 

यस्तै एक्स प्रयोगकर्ता ‘@Mukunda_Chettri’ ले शेयर गरेको स्क्रिनशटमा ‘gooodboyy007’ युजरनेमको रिप्लाई र ‘Animesh Kumar Mishra’ को रिप्लाई पनि भेटियो । त्यसपछि हामी उक्त अकाउन्टबाट पोस्ट भएको र हाल उक्त पोस्ट डिलिट भएको स्पष्ट भयौँ । 

त्यसपछि हामीले उक्त अकाउन्ट हर्क साम्पाङको भए/नभएको बुझ्ने प्रयास गर्‍यौँ ।  उक्त अकाउन्टको बायोमा ‘Not hark, Socio-political clone of hark sampang ideology’ जसको नेपालीमा अर्थ हुन्छ, “हर्क होइन, हर्क साम्पाङको विचारधाराको सामाजिक-राजनीतिक नक्कल/प्रतिलिपि मात्र” । 

त्यसपछि ‘About this account’ मा गएर हेर्दा फेब्रुअरी २०१५ मा खोलिएको भएपनि @hark_sampang को युजरनेम भने मे २०२२ देखि प्रयोग गरेको पाइयो । यद्यपि उक्त अकाउन्टको सो भन्दा पहिला दुई पटक युजरनेम परिवर्तन गरेको पाइएको छ । तर, पहिला युजरनेम के थियो भन्ने हेर्ने सुविधा भने एक्समा उपलब्ध छैन । 

साम्पाङ धरानको मेयर पनि सोही समयताका अर्थात् ८ जेठ २०७९ (२२ मे २०२२) मा धरानको मेयरमा निर्वाचित भएका थिए । स्वतन्त्रबाट मेयर पद जितेपछि एकाएक चर्चामा आएका उनको सोही समयमा नै अकाउन्ट बनाइएको निष्कर्ष निकाल्यौँ । 

अकाउन्टको बायोमा नै वास्तविक हर्क नभएको उल्लेख भएको पाइएपछि हामीले हर्क साम्पाङको सचिवालयसँग उक्त अकाउन्टको वास्तविकताका बारेमा बुझ्ने प्रयास गर्‍यौँ । श्रम संस्कृत पार्टीको धरान नगर समिति सदस्य तथा हर्क साम्पाङको सचिवालय सदस्य रसिक थेबेले सम्पाङले सामाजिक सञ्जाल फेसबुकमा मात्र साम्पाङ सक्रिय रहेको । फेसबुकमा १२ लाख बढी फलोअर्स रहेको ‘Harka Sampang A Revolution’ मात्र आधिकारिक फेसबुक पेज रहेको उनले बताए । त्यसबाहेक अन्य फेसबुक पेज, अकाउन्ट, एक्स लगायतका अकाउन्टमा भने सक्रिय नरहेको उनले जानकारी दिए । 

टेकपानासँगको टेलिफोन कुराकानीमा थेबेले भने, “विगत लामो समयदेखि, सङ्घर्षको समयदेखि नै उहाँले चलाउँदै आउनु भएको सामाजिक सञ्जाल एउटै मात्र छ । 'हर्क साम्पाङ अ रेभोलुसन' भन्ने पेज मात्र उहाँको आधिकारिक पेज हो । यो पेजको अहिले मिलियनभन्दा धेरै फलोअर्स पुगिसकेको छ । 'हर्क साम्पाङ', 'हर्क राज राई', 'हर्क साम्पाङ अ रेभोलुसन' जस्ता उहाँको नाममा फेसबुक पेजदेखि ट्वीटर लगायत विभिन्न सामाजिक सञ्जालहरूमा अकाउन्ट खोलिएको छ । ती पेज उहाँको आधिकारिक पेज होइन । उहाँले फेसबुकको एउटा पेज मात्र चलाउनु हुन्छ ।”  

दाबी

धरान उपमहानगरपालिकाका पूर्व मेयर तथा श्रम संस्कृत पार्टीका अध्यक्ष हर्क साम्पाङले सन् २०२३ मा “सिंहदरबार त जलाउनै पर्छ, तर मेरो लागि होइन देशका लागि !” भन्दै एक्स (ट्वीटर) मा पोस्ट गरेका थिए ।

दाबीकर्ता

फेसबुक प्रयोगकर्ताहरू ‘Suman Neupane’, ‘Birgunj SE’, ‘Gokul Chapagain’, ‘Sandesh Dhungana’, एक्स प्रयोगकर्ता Mukunda_Chettri’ सहित सामाजिक सञ्जाल प्रयोगकर्ता । 

तथ्य

भाइरल स्क्रिनशट वास्तविक पोस्टकै स्क्रिनशट हो । तर, उक्त पोस्ट गर्ने एक्स अकाउन्ट हर्क साम्पाङको आधिकारिक अकाउन्ट नभएको फ्याक्टचेकबाट पुष्टि भएको छ । भाइरल स्क्रिनशटमा देखिएको ‘@hark_sampang’ युजरनेम भएको अकाउन्टको बायोमै “Not hark, Socio-political clone of hark sampang ideology” (हर्क होइन, हर्क साम्पाङको विचारधाराको सामाजिक–राजनीतिक नक्कल मात्र) उल्लेख गरिएको छ । यसले उक्त अकाउन्ट वास्तविक हर्क साम्पाङको नभएको स्पष्ट पार्छ । 

साथै, हर्क साम्पाङको सचिवालयका सदस्य रसिक थेबेले टेकपानासँगको कुराकानीमा साम्पाङ फेसबुकमा मात्र सक्रिय रहेको र ‘Harka Sampang A Revolution’ नामको आधिकारिक फेसबुक पेजबाहेक अन्य कुनै फेसबुक, एक्स वा अन्य सामाजिक सञ्जाल अकाउन्ट सञ्चालन नगरेको जानकारी दिएका छन् ।

भाइरल पोस्ट साम्पाङकै नाम दुरुपयोग गरी सञ्चालन गरिएको नक्कली अकाउन्टबाट गरिएको र पछि डिलिट गरिएको हो । 

निष्कर्ष

हर्क साम्पाङले सिंहदरबार जलाउनुपर्ने भन्दै एक्समा पोस्ट गरेको दाबी मिथ्या हो । नक्कली अकाउन्टको पोस्टलाई साम्पाङको आधिकारिक अभिव्यक्ति भन्दै भ्रम फैलाइएको हो ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्स, ​युट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: फागुन ४, २०८२ २०:३९