भाइरल भिडिओ प्रकरण: सडकमा वृद्ध पैदलयात्री कुट्ने इन्जिनियर पारस बम पक्राउ
फागुन ५, २०८२ १७:१८
काठमाडौँ । महाराजगञ्जमा एक वृद्ध पैदलयात्रीलाई बीच सडकमै कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ बालुवाटार बस्ने ४२ वर्षीय पारस बम रहेका छन् ।
पेसाले इन्जिनियर रहेका बमलाई मंगलबार भोटाहिटी क्षेत्रबाट नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले बमलाई पक्राउ गरिएको पुष्टि गर्दै उनीमाथि थप अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।
“गाडीमा विवाद भएको रहेछ । वास्तविकता के हो बुझ्दैछौं,” सुवेदीले टेकपानासँग भने ।
सडकमा गाडी रोकेर वृद्धमाथि अभद्र व्यवहार गरेको भिडिओ मंगलबार सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो ।
पछिल्लो अध्यावधिक: फागुन ५, २०८२ १८:४८
