काठमाडौँ । महाशिवरात्रिको दिन पशुपति क्षेत्रमा सुरक्षामा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार मकवानपुर स्थायी घर भई हाल काठमाडौँको चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले युवक पक्राउ परेको पुष्टि गरे । शिवरात्रिको दिन प्रहरीलाई कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले ती युवकको खोजी तीव्र बनाएको थियो ।
प्रहरीले मङ्गलबार भाइरल भिडिओको ‘स्क्रिनशट’ सार्वजनिक गर्दै ती व्यक्तिको पहिचान गरिदिन सर्वसाधारणसँग आग्रह गरेको थियो । सोही आधारमा पहिचान खुलेपछि उनलाई बुधबार चागलबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यसअघि प्रहरीले ती युवकको ठेगाना र पहिचान खुल्न नसक्दा अनुसन्धानमा केही ढिलाइ भएको बताएको थियो । हाल पक्राउ परेका श्रेष्ठमाथि थप कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ ।
पछिल्लो अध्यावधिक: फागुन ६, २०८२ १२:१
