close

भाइरल भिडिओ प्रकरण: एमालेको झण्डा जलाएको घटनामा थप दुई जना पक्राउ

टेकपाना टेकपाना

फागुन ९, २०८२ ९:३८

भाइरल भिडिओ प्रकरण: एमालेको झण्डा जलाएको घटनामा थप दुई जना पक्राउ

काठमाडौँ । दाङको तुलसीपुरमा नेकपा (एमाले) को निर्वाचन चिन्ह सूर्य अंकित झण्डा जलाएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । गत बिहीबार तुलसीपुर-५ स्थित वीरेन्द्र चोकमा भएको उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले थप संलग्नता फेला पारेपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका-४, हलवार बस्ने ३० वर्षीय रमेश राना मगर र वडा नम्बर-६, गाइडर बस्ने २४ वर्षीय विक्रम परियार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बिहीबार राति करिब ९:३० बजेको समयमा वीरेन्द्र चोकमा आयोजित एक भीडका बीच केही व्यक्तिहरूले एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाएका थिए । सोही घटनामा संलग्न रहेको आरोपमा यसअघि तुलसीपुर-७ का ५५ वर्षीय बुद्धि बहादुर बस्नेत पक्राउ परिसकेका छन् ।

योसँगै हालसम्म यस प्रकरणमा समातिनेको सङ्ख्या तीन पुगेको छ । प्रहरीले पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको र घटनामा संलग्न हुनसक्ने अन्य सम्भावित व्यक्तिहरूको समेत खोजी कार्य तीव्र पारिएको जनाएको छ ।

निर्वाचनको मुखमा शान्ति सुरक्षा र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न तथा संयमित व्यवहार प्रदर्शन गर्न प्रहरीले सबै पक्षलाई आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: फागुन ९, २०८२ ९:४५