विश्वकै पहिलो इनबिल्ट प्राइभेसी डिस्प्लेसहित सामसङ ग्यालेक्सी एस २६ सिरिजका स्मार्टफोन सार्वजनिक
फागुन १४, २०८२ १३:३३
काठमाडौँ । सामसङ इलेक्ट्रोनिक्सले सान फ्रान्सिस्कोमा आयोजित 'ग्यालेक्सी अनप्याक्ड २०२६' कार्यक्रम मार्फत आफ्नो बहुप्रतिक्षित ग्यालेक्सी एस २६ सिरिजका स्मार्टफोन सार्वजनिक गरेको छ ।
ग्यालेक्सी एस २६, एस २६ प्लस र एस २६ अल्ट्रा गरी तीन भेरियन्टमा यो सिरिज सार्वजनिक भएको हो । जसमा अझ बढी सहज र सक्रिय ग्यालेक्सी एआई समावेश गरिएको छ ।
नयाँ प्रविधि: प्राइभेसी डिस्प्ले
यस वर्षको सबैभन्दा ठुलो हार्डवेयर परिवर्तन ग्यालेक्सी एस २६ अल्ट्रामा गरिएको छ । जसमा विश्वकै पहिलो बिल्ट-इन प्राइभेसी डिस्प्ले राखिएको छ ।
यो प्रविधिले पिक्सेलको प्रकाश छरिने प्रक्रियालाई नियन्त्रण गरेर छेउबाट हेर्ने मानिसहरूलाई स्क्रिन देख्न नसक्ने बनाउँछ, जसले गर्दा सार्वजनिक स्थानमा व्यक्तिगत विवरणहरू सुरक्षित रहन्छन् ।
यो सुविधालाई प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार सेटिङबाट मिलाउन सक्छन् । जस्तै पिन नम्बर हाल्दा वा बैङ्किङ एप चलाउँदा मात्र यो स्वतः सक्रिय हुने बनाउन सकिन्छ ।
शक्तिशाली पर्फर्मेन्स र हार्डवेयर
ग्यालेक्सी एि २६ सिरिजमा 'स्न्यापड्रागन ८ इलाइट जेन ५ मोबाइल प्लेटफर्म फर ग्यालेक्सी' चिपसेट प्रयोग गरिएको छ । कम्पनीका अनुसार यसले अघिल्लो मोडेलको तुलनामा सीपीयू मा १९%, जीपीयूमा २४% र एनपीयूमा ३९% सुधार ल्याएको छ । गेम खेल्दा वा भारी काम गर्दा फोन तात्न नदिन यसमा नयाँ भ्यापर चेम्बर (Vapor Chamber) कुलिङ प्रणाली पनि राखिएको छ ।
डिजाइनको कुरा गर्दा एस २६ अल्ट्रामा टाइटेनियमको सट्टा 'आर्मर एल्युमिनियम' प्रयोग गरिएको छ । जसले गर्दा फोन २१४ ग्राम मात्रै तौलको र ७.९ एमएम पातलो भएको छ ।
यो अहिलेसम्मकै सबैभन्दा पातलो अल्ट्रा मोडेल हो । फोनहरू कोबाल्ट भायोलेट, स्काई ब्लु, ब्ल्याक र ह्वाइट रङ्गमा उपलब्ध हुनेछन् भने सामसङ डट कमबाट अर्डर गर्दा सिल्भर स्याडो र पिङ्क गोल्ड रङ्ग पनि पाइनेछ ।
क्यामेरा र भिडिओमा सुधार
एस २६ अल्ट्रामा २०० मेगापिक्सेलको मुख्य क्यामेरा, ५० मेगापिक्सेलको ५ गुणा अप्टिकल जुम र अर्को ५० मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा रहेको छ । यसमा थपिएको एआई आईएसपी (AI ISP) ले सेल्फी क्यामेरामा पनि प्राकृतिक छालाको रङ्ग र विवरणहरू स्पष्ट देखाउँछ । भिडिओको लागि यसमा 'होराइजन लक' (horizon lock) सहितको अपग्रेड गरिएको 'सुपर स्टेडी' मोड राखिएको छ ।
ग्यालेक्सी एआईमा नयाँ फिचर
सामसङले एआई फिचरहरूमा ठुलो फड्को मारेको छ । 'फोटो असिस्ट' (Photo Assist) प्रयोग गरेर प्रयोगकर्ताले फोटोमा नभएका वस्तुहरू थप्न वा हटाउन सक्छन् । जस्तै काटिएको केकलाई एआईले पूरा बनाइदिन सक्छ । अन्य मुख्य एआई सुविधाहरूमा नाव नज (Now Nudge) पनि समावेश छ । जसले म्यासेजमा कसैले फोटो मागेमा ग्यालेरीबाट सान्दर्भिक फोटो पठाउन आफैँ सुझाव दिन्छ ।
त्यस्तै यसमा रहेको क्रियटिभ स्टुडियोको सहयोगमा सामान्य स्केच वा प्रम्प्टबाट स्टिकर, वालपेपर र ग्रिटिङ कार्डहरू बनाउन सकिन्छ । गुगल जेमनाईको सहयोगमा एआईले नै उबर बुकिङ जस्ता कामहरू गर्नका लागि यसमा अटोमेटेड एप एक्सन समावेश गरिएको छ ।
यसैगरी अडियो इरेजरले इन्स्टाग्राम वा नेटफ्लिक्स हेर्दा पछाडिको अनावश्यक हल्ला हटाएर आवाज स्पष्ट सुन्न सकिन्छ ।
ब्याट्री र चार्जिङ
ग्यालेक्सी एस २६ अल्ट्रामा ५,००० एमएएचको ब्याट्री छ, जुन ६० वाटको चार्जरले ३० मिनेटमा ७५ प्रतिशतसम्म चार्ज हुन्छ । एस २६ मा ४,३०० एमएएच र एस २६ प्लसमा ४,९०० एमएएचको ब्याट्री राखिएको छ । सामसङले यी फोनहरूमा ७ वर्षसम्मको सेक्युरिटी अपडेट दिने प्रतिबद्धता जनाएको छ ।
ग्यालेक्सी बड्स ४
सामसङले नयाँ वायरलेस इयरबड्स पनि सार्वजनिक गरेको छ । बड्स ४ प्रोमा टाउको हल्लाएर कल उठाउने (Nod to accept) वा टाउको दायाँबायाँ हल्लाएर कल काट्ने (Shake to decline) जस्ता 'हेड जेस्चर' फिचरहरू छन् ।
मूल्य र उपलब्धता
ग्यालेक्सी एस २६ सिरिजको प्रि-अर्डर फेब्रुअरी २५ देखि सुरु भइसकेको छ र आधिकारिक बिक्री मार्च ११ देखि सुरु हुनेछ । र्यामको क्षमता बढाइएकाले ग्यालेक्सी एस २६ र एस २६ प्लसको मूल्य अघिल्लो वर्षको तुलनामा १०० डलरले बढेर क्रमशः ९०० डलर र १,१०० डलर पुगेको छ । ग्यालेक्सी एस २६ अल्ट्राको मूल्य भने १,३०० डलर नै कायम गरिएको छ ।
प्रतिक्रिया
एन्ड्रोइड अथोरिटीले यसका केही कमजोरीहरू पनि औँल्याएको छ । सामसङले पिक्सेल १० मा जस्तो फोनभित्रै चुम्बक (Qi2 Magnets) राखेको छैन । जसका कारण म्यागसेफ जस्ता एक्सेसरिज प्रयोग गर्न छुट्टै कभर आवश्यक पर्नेछ ।
साथै चिनियाँ प्रतिस्पर्धीहरूको तुलनामा सामसङको ब्याट्री क्षमता अझै कम रहेको टिप्पणी गरिएको छ । एन्ड्रोइड पुलिसले यसको डिजाइनलाई बोरिङ भनिए पनि यसले सामसङको छुट्टै आइकनिक डिजाइन बनाउन सफल भएको उल्लेख गरेको छ ।
पछिल्लो अध्यावधिक: फागुन १४, २०८२ १३:३५
