अमेरिकी युद्ध मन्त्रालयसँग ओपनएआईको गोप्य सम्झौता, क्यान्सिल च्याटजीपीटी भन्दै प्रयोगकर्ताको बहिष्कार
फागुन १७, २०८२ १६:५९
काठमाडौँ । च्याटजीपीटी निर्माता कम्पनी ओपन एआईले अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) सँग आफ्नो प्रविधि प्रयोग गर्ने सम्बन्धमा एउटा विवादास्पद सम्झौता गरेपछि विश्वभरका एआई प्रयोगकर्ताहरूबिच ठुलो हलचल पैदा भएको छ । यो सम्झौतासँगै सामाजिक सञ्जालहरूमा 'Cancel ChatGPT' र 'QuitGPT' जस्ता ट्रेन्डहरू सुरु भएका छन् र हजारौँ प्रयोगकर्ताहरूले आफ्नो सब्सक्रिप्सन रद्द गर्न थालेका छन् ।
यो विवादको जरा ओपनएआईको प्रतिद्वन्द्वी कम्पनी एन्थ्रोपिकसँग जोडिएको छ । केही समयअघि एन्थ्रोपिकले पेन्टागनसँगको २०० मिलियन डलरको सम्झौता अस्वीकार गरेको थियो । एन्थ्रोपिकका सीईओ डारियो अमोदेईका अनुसार कम्पनीले आफ्नो एआईलाई आम मानिसको निगरानी (मास सर्भिलेन्स) का लागि वा स्वचालित हतियार (Autonomous Weapons) बनाउन प्रयोग गर्न अनुमति दिन चाहेन ।
यसको बदलामा अमेरिकी सरकारले एन्थ्रोपिकलाई राष्ट्रिय सुरक्षाको लागि जोखिम (Supply-chain risk) भन्दै कालो सूचीमा राख्यो । राष्ट्रपति डोनल्ड ट्रम्पले एन्थ्रोपिकलाई कट्टरपन्थी वामपन्थी एआई कम्पनीको संज्ञा दिँदै सरकारी निकायहरूलाई यसको प्रयोग बन्द गर्न निर्देशन दिए । ठिक यही समयमा ओपनएआईले पेन्टागनसँग हात मिलाएपछि प्रयोगकर्ताहरूले यसलाई 'नैतिकताको व्यापार' गरेको भन्दै आलोचना गरिरहेका छन् ।
आलोचना चर्किएपछि ओपनएआईका सीईओ साम अल्टम्यानले आफ्नो ब्लग र सामाजिक सञ्जाल एक्समार्फत सम्झौताको प्रतिरक्षा गरेका छन् । उनले ओपनएआईको सम्झौतामा एन्थ्रोपिकको भन्दा पनि कडा सुरक्षा नियमहरू (Guardrails) राखिएको दाबी गरेका छन् ।
अल्टम्यानका अनुसार यो सम्झौतामा तीनवटा मुख्य 'रेड लाइन्स' वा सीमाहरू कोरिएका छन् । पहिलो, सामूहिक आन्तरिक निगरानीको लागि ओपनएआईको प्रविधि प्रयोग गरिने छैन । दोस्रो, स्वचालित हतियार प्रणालीहरू सञ्चालन गर्न यसको प्रयोग निषेध गरिएको छ । र तेस्रोमा 'सोसल क्रेडिट स्कोर' जस्ता उच्च जोखिमयुक्त स्वचालित निर्णय प्रक्रियामा यसलाई प्रयोग गर्न पाइने छैन ।
ओपनएआईले आफ्नो ब्लगमा सम्झौताको भाषा सार्वजनिक गर्दै यो 'क्लाउड-अन्ली' रूपमा परिचालन हुने भनेको छ । जसको अर्थ यो हतियारहरूमा सिधै जडान गरिने छैन । साथै ओपनएआईका आफ्ना प्राविधिक विज्ञहरूले पेन्टागनसँगै बसेर यी नियमहरू पालना भए नभएको अनुगमन गर्नेछन् ।
यसैबिच राष्ट्रपति ट्रम्पले एक कार्यकारी आदेश मार्फत रक्षा मन्त्रालयको दोस्रो आधिकारिक नाम 'युद्ध मन्त्रालय' राखेका छन् । ट्रम्पले यो नाम परिवर्तनले विजयको सन्देश दिने दाबी गरेका छन् ।
प्रयोगकर्ताहरूको आक्रोश, Cancel ChatGPT अभियान
रेडिट र एक्स जस्ता प्लेटफर्ममा हजारौँ प्रयोगकर्ताहरूले "तिमी अहिले एउटा युद्ध मसिनलाई तालिम दिँदै छौ" भन्दै ओपनएआईको आलोचना गरिरहेका छन् । धेरैले तीन वर्षदेखि प्रयोग गरिरहेको आफ्नो च्याटजीपीटी प्लस सब्सक्रिप्सन रद्द गरेको प्रमाणहरू पोस्ट गरिरहेका छन् ।
प्रयोगकर्ताहरू विशेष गरी पेन्टागनले एआईलाई सबै कानुनी प्रयोजनका लागि प्रयोग गर्ने अधिकार मागेको साथै भविष्यमा निगरानी वा आक्रमणका कार्यहरू पनि पर्न सक्ने कुरालाई लिएर चिन्तित छन् । यसैको विरोध स्वरूप धेरै प्रयोगकर्ताहरू अब एन्थ्रोपिकको क्लाउड तिर आकर्षित भइरहेका छन्, जसले गर्दा क्लाउड एप स्टोरमा शीर्ष स्थानमा उक्लिएको ब्लुमबर्गले उल्लेख गरेको छ ।
ओपनएआईले सरकारसँगको सहकार्य आवश्यक रहेको बताए पनि यसको व्यापारिक साखमा धक्का पुग्ने देखिएको छ । टेकक्रन्चका अनुसार कम्पनीका आफ्नै दर्जनौँ कर्मचारीहरूले पनि एन्थ्रोपिकको अडानलाई समर्थन गर्दै एआईको सैन्य दुरुपयोग रोक्न एउटा खुला पत्रमा हस्ताक्षर गरेका छन् ।
एकातिर ओपनएआईले अमेजनसँग ५० अर्ब डलरको नयाँ लगानी सम्झौता गरेर आफ्नो आर्थिक पक्ष बलियो बनाउँदैछ भने अर्कोतिर प्रयोगकर्ताहरूको विश्वास गुमाउने जोखिममा परेको छ । एआई क्षेत्रमा यो घटनालाई नैतिकता र राष्ट्रिय सुरक्षाबिचको द्वन्द्वको रूपमा हेरिएको छ ।
पछिल्लो अध्यावधिक: फागुन १७, २०८२ १६:५९
