close

फ्याक्टचेकः देवराज घिमिरेले महाकाली सन्धिमा नभई एमालेभित्र सन्धिको पक्षमा गरेका थिए निर्णायक मतदान

हिक्मत आचार्य हिक्मत आचार्य

फागुन १८, २०८२ ९:३१

फ्याक्टचेकः देवराज घिमिरेले महाकाली सन्धिमा नभई एमालेभित्र सन्धिको पक्षमा गरेका थिए निर्णायक मतदान

काठमाडौँ । पछिल्लो सातादेखि सामाजिक सञ्जालमा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर २ का उम्मेदवार एवम् पूर्वसभामुख देवराज घिमिरेसँग सम्बन्धित एउटा भिडिओले चर्चा पाइरहेको छ । उक्त भिडिओमा एक व्यक्तिले घिमिरेलाई “तपाईं महाकाली बेच्दाको अन्तिम सिग्नेचरकर्ता है ?” भन्दै प्रश्न गर्छन् । 

जवाफमा घिमिरे “त्यस्ता वाहियात कुरा नगर्नुस्,” भन्छन् । त्यसपछि ती व्यक्तिले फेरि “कसरी वाहियात भयो यो कुरा ? नेपालले महाकाली गुमाएको होइन र ?” भन्दै प्रतिप्रश्न गर्छन् र घिमिरे चढेको गाडीको ढोका बन्द हुन्छ । यही भिडिओ सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा भाइरल भइरहेको छ । भिडिओ भाइरल भएपछि घिमिरेले आफू महाकाली सन्धिमा हस्ताक्षर गर्ने ठाउँमै नरहेको भन्दै खण्डन गरेका थिए।

यस विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘टेकपाना’लाई मेन्सन गर्दै फ्याक्टचेकका लागि अनुरोध गरेका थिए । टेकपानाको फ्याक्टचेक डेस्कले गरेको अध्ययनबाट देवराज घिमिरेले महाकाली सन्धि गर्ने सरकारी हस्ताक्षरकर्ता नभएको पायो । तर उनी आफ्नै पार्टीभित्र उक्त सन्धिलाई समर्थन गर्दै संसद्‌बाट पास गराउने पक्षमा उभिएर बहुमत पुर्‍याउने निर्णायक मत दिने एक नेता भने हुन् ।

 

दाबीबिहीबार, २६ फेब्रुअरी २०२६ बिहान ८ः३८ बजे ‘मनोज सापकोटा’ नामक फेसबुक प्रयोगकर्ताले २ः३९ मिनेटको भिडिओ पोस्ट गरे । भिडिओको क्याप्सन छन, “भागे पूर्व सभामुख?: सत्य तितो हुन्छ।” भिडिओमा भने पूर्व सभामुख एवम् आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेका तर्फबाट झापा क्षेत्र नम्बर २ का उम्मेदवार देवराज घिमिरे देखिन्छन् । भिडिओको सुरुवाति नौ सेकेन्डमै महाकाली सन्धिको कुरा निकालिएको छ । भिडिओ खिच्ने व्यक्ति प्रश्न गर्छन्, “तपाईं महाकाली बेच्दाको अन्तिम सिग्नेचरकर्ता है ?” गाडीभित्र प्रवेश गर्दै घिमिरे जवाफ दिन्छन्, “त्यस्ता वाहियात कुरा नगर्नुस् तपाईंहरू ।” त्यसपछि भिडिओ खिच्ने व्यक्ति पुनः प्रश्न गर्छन्, “कसरी वाहियात भयो यो कुरा ? नेपालले महाकाली गुमाएको होइन ?” घिमिरे आफू चढेको गाडीको ढोका लगाउँछन् । २ः३९ मिनेटको भिडिओको पछाडिपट्टिको भागमा भिडिओ खिच्ने व्यक्तिले शुभकामना दिन्छन् र उनलाई जिताउनुपर्ने कारण सोध्छन् । त्यही क्रममा भिडिओ खिच्ने व्यक्तिले महाकाली सन्धिको कुरा निकाल्छन् । उनले राखेको भिडिओमा यो सामग्री तयार पार्दा ९४ हजार बढी रियाक्सन, ७८०० बढी कमेन्ट आएका छन् । १८ लाख बढी भ्युज पाएको सो भिडिओ ११ हजार पटक शेयर गरिएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनरेकर्ड ।

 

अनुसन्धान

अनुसन्धानका क्रममा यो भिडिओ मनोज सापकोटाले नै खिचेर पहिलो पटक पोस्ट गरेको पाइयो । यो सामग्री सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा अन्य प्रयोगकर्ताले पनि अपलोड गरेको पाइयो । यसरी भिडिओ भाइरल भएपछि घिमिरेले स्पष्टीकरण दिएका थिए । उनले आफ्नो विज्ञप्तिमा लेखेका छन्,

महाकाली सन्धिका विषयमा सामाजिक सञ्जाल र कतिपयले व्यक्तिगत रुपमा पनि जिज्ञासा राख्नुभएको छ । मैले यस विषयलाई धेरै गम्भीरता साथ लिएको थिइनँ । धेरैमा भ्रम पनि देखियो । महाकाली सन्धिबारे म स्पष्ट छु। जो प्रश्न सोधिरहनुभएको छ, मैले जवाफ पनि दिइहेको छु । जसले घृणाको राजनीति गर्न खोजिरहनुभएको छ, उहाँहरुलाई कम्तिमा सन्धिबारे अध्ययन र विश्लेषण गर्न अनुरोध गर्दछु । केही दिनअघि एक जनाले भाइरल बनाउने नियतले भिडियो खिचेर यही कुरा सोध्नुभयो । मैले नियोजित हो भन्ने थाहा पाएपछि जवाफ नदिएको हो । अहिले त्यो भिडियो अमुक दलको प्रचार सामग्री बनेछ । म स्पष्ट पार्न चाहन्छु- कुनै पनि सन्धिमा मैले हस्ताक्षर गरेको छैन । म उक्त समयमा सांसद थिइनँ, मन्त्री थिइनँ र राज्यको कुनै पनि ओहदमा थिइनँ । लोकतान्त्रिक पार्टीमा बहस र छलफल हुन्छ । पार्टीमा मेरो मत जाहेर गरेको हुँ । मसँगै थुप्रै नेताले पक्ष विपक्षमा बहस गरेका थियौं । भएको यत्ति हो । पार्टीको वैकल्पिक केन्द्रीय सदस्यले कुनै हैसियतमा छिमेकी देशसँग सन्धि गर्दछ भन्ने पनि नबुझेको देख्दा मलाई साह्रै दिग्दारी लागेको छ । म ५० वर्षदेखि राजनीति गरिरहेको छु । राजनीति मेरो पेसा होइन, सेवा हो। बिनाश्रमको पैसा एक रुपैयाँ लिएको छैन…

टेकपाना फ्याक्टचेक डेस्कले महाकाली सन्धिका विषयमा तयार पारिएका समाचार सामग्री विश्लेषण गर्न थाल्यो । त्यस क्रममा बीबीसीमा १८ जुलाई २०२२ मा प्रकाशित ‘महाकाली सन्धि: २७ वर्षपछि बल्ल टनकपुरबाट नेपालमा पानी, नेपाली नेतालाई मनाउन भारतीय राजदूतले गरेका थिए यस्तो दौडधूप’ शीर्षकको समाचार फेला पर्‍यो । त्यस्तै नागरिक दैनिकमा टपेन्द्र कार्कीले १३ असार २०७७ मा ‘महाकाली सन्धिमा नेताहरूले माफी माग्नपर्छः वामदेवको चुनौती’ शीर्षकको समाचार भेटियो । त्यस्तै ईकागजमा विकास थापाले लेखेको ‘महाकाली सन्धि भएको २५ वर्षपछि देवराज घिमिरे पुरस्कृत हुँदै’ शीर्षकको समाचार फेला पर्‍यो । त्यसैगरी रातोपाटीमा ०५ माघ २०७९ मा अर्जुन आचार्यले ‘महाकाली सन्धिमा ‘निर्णायक र विवादित’ बनेका देवराज घिमिरे अब सभामुख’ शीर्षकको समाचार राखेको पाइयो ।

यी विभिन्न समाचार माध्यमका अनुसार नेपाल र भारतबिच २०५२ साल माघ २९ गते (१२ फेब्रुअरी १९९६) मा एकीकृत महाकाली सन्धिमा हस्ताक्षर भएको थियो । जसमा शारदा ब्यारेज, टनकपुर बाँध र पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई समेटिएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भएको यो सन्धिलाई व्यापक राजनीतिक विवाद र ध्रुवीकरणका बीच २०५३ साल असोजमा संसद्को संयुक्त सदनले दुई तिहाइ बहुमतबाट पारित गर्नुपर्ने थियो । किनभने सर्वोच्च अदालतले यसलाई 'जलस्रोतमा व्यापक, गम्भीर र दीर्घकालीन असर पार्ने' सम्झौता भन्दै दुई तिहाइबाटै पारित गर्नुपर्ने फैसला गरेको थियो । सो समयमा कुनै पनि एकल दलसँग दुई तिहाइ बहुमत नभएकाले सत्तापक्ष नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमाले दुवैको पूर्ण समर्थन आवश्यक थियो ।

अब देवराज घिमिरेको संलग्नताबारे चर्चा गरौँ । प्रतिनिधि सभाको वेबसाइटमा घिमिरेको विवरण उल्लेख गरिएको छ । उक्त विवरण अनुसार घिमिरे २०५६ सालमा पूर्वाञ्चल विकास क्षेत्रबाट राष्ट्रिय सभा सदस्य (२०५४-२०६० सालको पदावधिमा) निर्वाचित भएका थिए । त्यसअघि २०५०-५८ सालमा उनी नेकपा (एमाले) को मेची अञ्चल इन्चार्ज बनेका थिए । त्यस्तै उनी पार्टीको वैकल्पिक केन्द्रीय सदस्य थिए । यसबाट के देखियो भने महाकाली सन्धिको समयमा उनी प्रत्यक्ष रूपमा सांसद्, मन्त्री वा अन्य सरकारी पदमा थिएनन् । 

अब उनी महाकाली सन्धिमा कसरी जोडिए भन्ने चर्चा गरौं । विभिन्न समाचार स्रोतबाट के पाइयो भने महाकाली सन्धि पारित गराउने प्रक्रियामा देवराज घिमिरेको भूमिका निर्णायक र रणनीतिक थियो । २०५३ सालमा सन्धि अनुमोदन गर्ने विषयमा तत्कालीन नेकपा एमालेभित्र तीव्र मतभेद र विवाद हुँदा घिमिरेले दिएको एउटा मतले नै सन्धिको भविष्य र पार्टीको आधिकारिक निर्णय निर्धारण गरेको देखिन्छ ।

ईकागज, नयाँ पत्रिका र रातोपाटीको समाचारमा उल्लेख भए अनुसार सन्धिबारे निर्णय लिन बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा मतदान हुँदा पक्ष र विपक्षमा मत बराबर (१७-१७) भएको थियो । सो समयमा पार्टी अध्यक्ष मनमोहन अधिकारी अस्पतालमा भर्ना भएकाले उनको मताधिकार प्रयोग गर्ने जिम्मेवारी वैकल्पिक केन्द्रीय सदस्य रहेका घिमिरेलाई दिइएको थियो । यसबारे के पनि भनिएको छ भने अध्यक्ष अधिकारी स्वयम् यथास्थितिमा सन्धि पारित गर्ने पक्षमा थिएनन् । तर घिमिरेले अधिकारीको इच्छा विपरीत र तत्कालीन नेता केपी शर्मा ओलीको इसारा र चाहना बमोजिम सन्धिको पक्षमा मतदान गरे ।

देवराज घिमिरेले दिएको सोही निर्णायक मतका कारण एमालेले संसदमा सन्धिको पक्षमा उभिने निर्णय गर्‍यो र २०५३ असोज ४ गते संसदबाट महाकाली सन्धि दुई तिहाइ बहुमतले पारित भयो । 

हिमालय टेलिभिजनका तत्कालीन प्रस्तोता राजेन्द्र बानियाँले घिमिरेको अन्तर्वार्ता लिएका थिए । ५ फेब्रुअरी २०२३ मा प्रसारित ‘सभामुख घिमिरेलाई यक्ष प्रश्न: महाकालीको राष्ट्रघातको पुरस्कार सभामुख? | Himalaya TV’ अन्तर्वार्तामा महाकाली सन्धिको प्रसंग उठाइएको छ । भिडिओको २२ मिनेट ५८ सेकेन्डमा बानियाँले प्रश्न सोध्छन्, “५४ सालमा तपाईंले महाकाली सन्धिका विषयमा जे मतदान गर्नुभयो- तपाईंले आफ्नो मत वैकल्पिक केन्द्रीय सदस्यका रूपमा प्रयोग गर्नुभयो- मनमोहन अधिकारी अस्पतालमा भएपछि-त्यतिबेला राष्ट्रघातलाई साथ दिएको थियो; अहिले सभामुख पायो भनेर भन्नेहरूलाई सम्भवतः तपाईंले के जवाफ दिने हो ?” 

जवाफमा घिमिरे भन्छन्, “पहिलो कुरा त यसो भन्नेहरूले महाकाली सन्धि के हो भन्ने बुझेकै छैनन् । दोस्रो कुरा जसले यो कुरा भन्छ वा जसले यो कुरामाथि विश्वास राख्छ, त्यसको आफ्नो विश्लेषण गर्ने कुनै ग्राउन्ड छैन, क्षमता छैन, हेर्न सक्तैन र ऊ यस्तै बहकाउमा हिँड्छ । तेस्रो कुरा ऊ कुनै उद्देश्य प्राप्तिका लागि यो कुरा प्रचार गरेर हिँड्छ ।” 

फेरि बानियाँ प्रश्न गर्छन्, “तथापि महाकालीमा तपाईंले पक्षमा मतदान गर्दिनु भयो त्यही कारण एमाले भन्ने पार्टी फुटेर माले बन्यो । आजसम्म पनि महाकाली असरल्ल छ । यो चाहिं सत्य हो ।” जवाफमा घिमिरे भन्छन्, “त्यो त प्रयोगमा नगरेपछि असरल्ल हुने भो नि । यसलाई हेर्ने कुरा नै त्यहीनिर छ । जे सन्धि हो, सन्धिलाई उपयोग गर्नलाई प्रयत्नहरू कति भए ? त्यसलाई कार्यान्वयन गर्नका लागि प्रयत्नहरू कहाँ कहाँ भए ? कार्यान्वयन गर्दाखेरि के मिलेन ? कार्यान्वयनमा नजाने चर्चा गर्दै जाने…” अर्थात् घिमिरेले महाकाली सन्धि पारित हुनुका पछाडि आफ्नो भूमिका स्वीकार्छन् (अस्वीकार नगरेर) । तर, त्यसलाई कार्यान्वयनमा नल्याउँदा असरल्ल भएको दाबी गर्छन् । हेर्नुहोस् भिडिओ ।

यी विभिन्न तथ्यबाट के पुष्टि हुन्छ भने देवराज घिमिरेले महाकाली सन्धिमा प्रत्यक्ष रूपमा हस्ताक्षर गरेका थिएनन् । देवराज घिमिरेले पार्टी अध्यक्षको प्रतिनिधिको रूपमा दिएको सोही मतका कारण एमाले संसद्मा सन्धिको पक्षमा उभियो र नेपालको जलस्रोतको इतिहासमा विवादास्पद मानिने महाकाली सन्धि अनुमोदन भयो । 

दाबी 

पूर्वसभामुख तथा एमाले नेता देवराज घिमिरे महाकाली सन्धि (महाकाली बेच्दा) मा हस्ताक्षर गर्ने अन्तिम हस्ताक्षरकर्ता हुन् ।

दाबीकर्ता

'मनोज सापकोटा' नामका फेसबुक प्रयोगकर्ता (जसले घिमिरेलाई प्रश्न गर्दै भिडिओ खिचेका थिए) र उक्त भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्ने अन्य प्रयोगकर्ता ।

तथ्य 

१. नेपाल र भारतबीच २०५२ साल माघ २९ गते एकीकृत महाकाली सन्धिमा हस्ताक्षर भएको थियो । उक्त समयमा देवराज घिमिरे सांसद, मन्त्री वा राज्यको कुनै पनि आधिकारिक ओहोदामा थिएनन् । त्यसैले उनले राज्यको तर्फबाट उक्त सन्धिमा हस्ताक्षर गरेका थिएनन् ।

२. सर्वोच्च अदालतको आदेशअनुसार उक्त सन्धि संसद्‌बाट दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने थियो, जसका लागि तत्कालीन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको समर्थन अनिवार्य थियो ।

३. सन्धिको विषयमा निर्णय लिन बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा पक्ष र विपक्षमा मत बराबर (१७-१७) भएको थियो ।

४. त्यसबेला पार्टीका वैकल्पिक केन्द्रीय सदस्य रहेका घिमिरेले अस्पतालमा भर्ना भएका पार्टी अध्यक्ष मनमोहन अधिकारीको प्रतिनिधिको रूपमा निर्णायक मताधिकार प्रयोग गर्ने अवसर पाएका थिए ।

५. घिमिरेले तत्कालीन नेता केपी शर्मा ओलीको चाहनाबमोजिम सन्धिको पक्षमा निर्णायक मतदान गरेका थिए ।

६. घिमिरेको त्यही निर्णायक मतका कारण एमालेले संसद्‌मा सन्धिको पक्षमा उभियो र २०५३ असोज ४ गते संसद्‌बाट महाकाली सन्धि पारित भयो । पछि हिमालय टिभीको एक अन्तर्वार्तामा घिमिरे आफैँले पनि पार्टीभित्र सन्धिको पक्षमा मतदान गरेको कुरा स्वीकारेका छन् ।

निष्कर्ष

भिडिओमा दाबी गरिएजस्तो देवराज घिमिरे महाकाली सन्धिमा हस्ताक्षर गर्ने 'सरकारी हस्ताक्षरकर्ता' होइनन् । तर, तत्कालीन नेकपा एमालेभित्र महाकाली सन्धिलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा भएको मतदानमा निर्णायक मत दिएर सन्धिको पक्षमा पार्टीलाई उभ्याउने निर्णायक व्यक्ति भने उनै हुन् । अर्थात्, उनले राज्यको तर्फबाट सन्धिमा हस्ताक्षर नगरे पनि पार्टीभित्र महाकाली सन्धि संसद्‌बाट पास गराउने पक्षमा निर्णायक मतदान (हस्ताक्षर) गरेका थिए । तसर्थ उनले महाकाली सन्धिमा हस्ताक्षर गरेका हुन् भन्ने भिडिओको दाबी स्पष्ट रूपमा सन्दर्भ नखुलेको देखियो ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, ​युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

 

पछिल्लो अध्यावधिक: फागुन १८, २०८२ ९:४०