निर्वाचनको समयमा सुरक्षाका लागि काठमाडौँमा एआई जडित अत्याधुनिक ड्रोनबाट दिन-रात निगरानी गर्दै प्रहरी
फागुन १९, २०८२ १३:५१
सांकेतिक तस्बिर
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै बढेको सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै जिल्ला प्रहरी परिसर काठमाडौँले सुरक्षा निगरानीका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जडित अत्याधुनिक ड्रोन परिचालन गर्न थालेको छ । कार्यालयले सोमबारदेखि तीन ओटा अत्याधुनिक ड्रोनमार्फत राजधानीमा दिन र रात दुवै समयमा निगरानी बढाएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार यी नयाँ ड्रोनहरू पहिले प्रयोग गरिएका ड्रोनभन्दा निकै आधुनिक र सुविधासम्पन्न छन् । टेकपानासँगको कुराकानीमा एसपी भट्टराईले भने, “यसमा इन्फ्रारेड प्रविधि जडान गरिएको छ, जसले गर्दा रातको समयमा पनि सहजै निगरानी (भिडिओ फुटेज हेर्न) गर्न सकिन्छ । यसले मानिसहरूको सङ्ख्या गन्ने, सवारी साधनको नम्बर प्लेट पहिचान गर्ने र व्यक्ति तथा सवारीसाधनलाई ‘स्मार्ट ट्र्याकिङ’ समेत गर्न सक्छ ।”
निगरानी र ट्र्याकिङका अतिरिक्त यी ड्रोनबाट आवश्यक पर्दा नागरिकलाई सूचना प्रवाह समेत गर्न सकिन्छ । ड्रोनमा जडान गरिएको ‘पब्लिक एड्रेस (पीए)’ प्रणालीमार्फत माइकिङ गरेर जनचेतनामूलक सन्देश फैलाउन र भिडभाडमा सर्वसाधारणलाई आवश्यक निर्देशन दिन सकिने प्रहरीले जनाएको छ ।
हाल काठमाडौँ प्रहरीसँग यस्ता तीन ओटा अत्याधुनिक ड्रोन रहेका छन् । आवश्यकता अनुसार एक वा सोभन्दा बढी ड्रोनहरू एकै पटक परिचालन गर्न सकिने एसपी भट्टराईले जानकारी दिए । पूर्ण रूपमा चार्ज भएको एउटा ड्रोनलाई निरन्तर एक घण्टा २० मिनेट (करिब डेढ घण्टा) सम्म उडाउन सकिन्छ । ड्रोनले खिचेका भिडिओ तथा सङ्कलन गरेका सम्पूर्ण विवरण सिधै प्रहरीको ‘मास्टर कन्ट्रोल रुम’ मा प्राप्त हुने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
प्रहरीसँग पहिलेदेखि नै अन्य सामान्य ड्रोन भए पनि निर्वाचन लक्षित सुरक्षालाई थप चुस्त, वैज्ञानिक र प्रभावकारी बनाउन यी नयाँ र अत्याधुनिक प्रविधिका ड्रोन प्रयोगमा ल्याइएको एसपी भट्टराईले जानकारी दिए ।
पछिल्लो अध्यावधिक: फागुन १९, २०८२ १४:३८
