मौन अवधिमा एमालेका लागि फेसबुकबाट धमाधम भोट माग्दै भोलेन्टियर फोर्सका संयोजक पुष्प श्रेष्ठ
फागुन २०, २०८२ १६:४३
काठमाडौँ । नेकपा (एमाले) निकट नेसनल भोलेन्टियर फोर्सका संयोजक पुष्प श्रेष्ठले मौन अवधिको उल्लङ्घन गर्दै फेसबुक मार्फत चुनाबी प्रचारप्रसारलाई निरन्तरता दिएको पाइएको छ । उनले विपक्षी पार्टी तथा उम्मेदवारको विरोध र आफ्नो पार्टी एमाले र पार्टीका उम्मेदवारको पक्षमा भोट माग्ने कार्य जारी राखेको पाइएको हो ।
जब कि सोमबार १८ फागुनको राति १२ बजेदेखि नै निर्वाचनको मौन अवधि सुरु भइसकेको छ । निर्वाचन आचार संहिताले मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार वा दलको भातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचार प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न रोक लगाएको छ ।
त्यस्तै सो अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोस्ट वा शेयर गर्न गराउन वा प्रतिक्रिया दिन पनि पाइँदैन ।
तर श्रेष्ठले भने त्यसपछिको अवधिमा एमाले पार्टी तथा त्यसका उम्मेदवारहरूको पक्ष र अन्य पार्टी तथा उम्मेदवारको विपक्षमा लगातार पोस्टहरू गरिरहेका छन् । मौन अवधि सुरु हुनुभन्दा ठिक अगाडि केपी शर्मा ओलीले आफ्नो फेसबुक पेजमा मतदातालाई अनुरोध गर्दै चुनाव प्रचार प्रसारसम्बन्धि एक भिडिओ अपलोड गरेका थिए । श्रेष्ठले सोही भिडिओ मौन अवधि सुरु भएपछि मङ्गलबार बिहान ८ः१५ बजेको समयमा आफ्नो फेसबुकबाट शेयर गरेका छन् ।

लगत्तै बिहान ८ः२८ बजेको उनले भक्तपुर क्षेत्र नम्बर २ का एमाले उम्मेदवार महेश बस्नेतको प्रचारात्मक भिडिओ शेयर गरेका छन् ।

मङ्गलबार बिहान ९ः१३ बजेको समयमा श्रेष्ठले एमालेका महासचिव तथा अर्का उम्मेदवार शङ्कर पोखरेलको भिडिओ फेसबुकमा अपलोड गरेका छन् । साथै त्रिभुवन बर्तौला नामक अर्का प्रयोगकर्ताले राखेको सोही भिडिओ ९ः३० मिनेटको समयमा फेसबुकमा शेयर पनि गरेका छन् ।

यसैगरी श्रेष्ठले बिहान ९ः३८ बजेको समयमा सिन्धुली क्षेत्र नम्बर २ को मोटरसाइकल र्याली भन्दै प्रचारका क्रममा खिचिएका फोटोहरू फेसबुकमा पोस्ट गरेका छन् । 
त्यसपछि उनले मङ्गलबार दिउँसो १२ः३८ बजेको समयमा रास्वपाका बालेन र रविको विरुद्ध तथा केपी शर्मा ओलीको पक्षमा लेख्दै फेसबुक पोस्ट गरेका छन् ।

उनी यतिमै रोकिएका छैनन् । मङ्गलबार दिउँसो १ः५२ मिनेटको समयमा एमालेको चुनाव चिन्ह सूर्यमा मतदान गर्न भन्दै सार्वजनिक रूपमै आह्वान गरेका छन् ।

मङ्गलबारमात्रै होइन, संयोजक श्रेष्ठले बुधबार समेत आफ्नो पार्टीको पक्ष र अन्य पार्टीको विपक्षमा चुनावी गतिविधि तथा प्रचार प्रसारलाई निरन्तरता दिइरहेका छन् ।






पछिल्लो अध्यावधिक: फागुन २०, २०८२ १६:५९
