रास्वपा गोरखाका उपसभापति ५ लाख नगदसहित पक्राउ परेको दाबी मिथ्या, भाइरल फोटो ‘एडिटेड’
फागुन २०, २०८२ १७:०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाका उपसभापति ध्रुव अधिकारी पाँच लाख रुपैयाँ नगदसहित पक्राउ परेको भन्दै सामाजिक सञ्जालमा फैलिएको फोटो र सूचना भ्रामक रहेको पाइएको छ । निर्वाचनको मौन अवधिमा उम्मेदवार र पार्टीका जिम्मेवार नेताको चरित्रहत्या गर्ने उद्देश्यले डिजिटल रूपमा सम्पादन गरिएको फोटो फैलाइएको पुष्टि भएको हो ।
मंगलबार तनहुँको स्थानीय सञ्चारमाध्यम ‘सेतीमादी डेली’, ‘सेवा समर्पण नेपाल’ जस्ता फेसबुक पेजका साथै ‘दिल घर्ती मगर’, ‘सरोज कुमार रेग्मी’ लगायतका प्रयोगकर्ताले उपसभापति अधिकारी पैसाको थुप्रो अगाडि बसिरहेको जस्तो देखिने तस्बिर सार्वजनिक गर्दै उनी प्रहरी नियन्त्रणमा परेको दाबी गरेका थिए । फेसबुक लगायतका विभिन्न डिजिटल प्लेटफर्ममा यो पोस्ट केही घण्टामै हजारौँ पटक शेयर हुनुका साथै व्यापक कमेन्टसहित भाइरल भएको थियो ।
तथापि, टेकपाना फ्याक्टचेक डेस्कले उक्त तस्बिरको सूक्ष्म विश्लेषण र तथ्यजाँच गर्दा अधिकारीको अनुहार अर्कै व्यक्तिको शरीरमा जोडेर म्यानिपुलेसन (तस्बिर तोडमोड) गरिएको देखिएको छ । यस विषयमा नेपाल फ्याक्टचेकले समेत तथ्यजाँच गरी उक्त सामग्री मिथ्या रहेको पुष्टि गरिसकेको छ । पढ्नुहोस् नेपाल फ्याक्टचेकको तथ्यजाँच ।
यसैबिच, रास्वपा गोरखा जिल्ला समितिले एक विज्ञप्ति जारी गर्दै मौन अवधिमा यस्ता मिथ्या सामग्री पोस्ट गर्नेहरूलाई तत्काल कारबाही गर्न माग गरेको छ । “यस्ता भ्रामक कुराहरुबाट कत्ति पनि विचलित नभई निर्धक्कसँग निस्पक्ष मतदानमा सहभागी हुनुहुन आम मतदातालाई अनुरोध गर्दछौं र मतदानको दिन नजिकिदै गर्दा यस्ता भ्रामक अफवाह फैलाउने जो कोहीलाई Cyber Law अन्तर्गत कानुनी दायरामा ल्याई दोषीमाथि कडा कारवाहीको माग गर्दछौं,” विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, गोरखा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार सुदन गुरुङले एआईको सहाराले टाउको मात्रै परिवर्तन गरेर चरित्रहत्या गर्ने राजनीति कति कमजोर होला भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन्, “हार्ने डर यति धेरै कि मौन अवधिमा पनि फेक फोटो, नक्कली कथा र जबरजस्तीको नाटक ! आफै पैसा बाँड्ने र अरूलाई पैसा बाँड्यो भन्दै एआईको मद्दत लिने कस्तो खालको लाजनीति हो यो ? सत्यसँग लड्न नसकेपछि एआईको पछाडि लुक्नेहरूलाई एउटा सन्देश जनताको आँखामा धुलो हाल्ने दिन सकियो । अब सत्यले जित्नेछ, नाटकले होइन ।”
भ्रामक सामग्री फैलाउने मध्येका ‘सेतीमादी डेली’ले हालैमात्र उक्त पोस्ट फेसबुकबाट हटाएको छ । पोस्टमा ११ हजारभन्दा बढी रियाक्सन र १५ सय बढी कमेन्ट आएका थिए भने १४ सयभन्दा बढी शेयर भएको थियो । अर्को पेज ‘सेवा समर्पण नेपाल’ ले पनि आफूलाई अन्य स्रोतबाट फोटो आएको स्पष्टीकरण दिँदै फेसबुकबाट पोस्ट डिलिट गरेको छ । तर सो सामग्री अझै पनि सयौँ प्रयोगकर्ताले शेयर गरिरहेका छन् ।
यस विषयमा टेकपानासँग कुरा गर्दै रास्वपा गोरखाका उपसभापति अधिकारीले आफू पक्राउ नपरेको र भाइरल फोटो सम्पादित भएको बताए । “भाइरल फोटोमा जुन सोफा र पृष्ठभूमि देखिएको छ, त्यस्तो मेरो घरमा कहीँ पनि छैन,” उनले भने, “जुन समयमा म पक्राउ परेको भनिएको छ, सो समयमा म आफ्नै घरमा परिवार र बालबच्चासँग थिएँ ।”
अधिकारीका अनुसार भाइरल फोटोमा प्रयोग गरिएको उनको अनुहार पुरानो हो । उनले थपे, “त्यो अनुहार मेरो बुबा बित्नुभएको समयको हो, जसमा म निकै दुःखी देखिन्छु । उनीहरूले कतैबाट मेरो पुरानो फोटो निकालेर अर्कैको शरीरमा जोडी यस्तो कुकर्म गरेका हुन् ।”
आफ्नो चरित्रहत्या गर्ने प्रयास भएको भन्दै अधिकारीले जिल्ला प्रशासन कार्यालय र प्रहरीमा उजुरी दिइसकेको जानकारी दिएका छन् । “निर्वाचनको मुखमा एउटा इमानदार राजनीतिकर्मीमाथि गरिएको यो प्रहार क्षम्य छैन । साइबर कानुनअन्तर्गत दोषीमाथि कडा कारबाही होस् भनेर मैले कानुनी प्रक्रिया अघि बढाइसकेको छु,” अधिकारीले भने ।
पछिल्लो अध्यावधिक: फागुन २०, २०८२ १७:१०
