close

आचारसंहिता उल्लङ्घन गर्दै मौन अवधिमा ‘जेनजी नेता’ मिरज ढुङ्गानाले गरे काङ्ग्रेसको प्रचार

टेकपाना टेकपाना

फागुन २०, २०८२ २१:२२

आचारसंहिता उल्लङ्घन गर्दै मौन अवधिमा ‘जेनजी नेता’ मिरज ढुङ्गानाले गरे काङ्ग्रेसको प्रचार

काठमाडौँ । जेनजी अभियन्ता मिरज ढुङ्गानाले निर्वाचनको मौन अवधिमा नेपाली काङ्ग्रेसको पक्षमा भिडिओ सामग्री बनाई प्रसारण गरेका छन् । सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको अवस्थामा उनले सामाजिक सञ्जालमा भिडिओ राख्दै निर्वाचन आचारसंहिता विपरीत काङ्ग्रेसलाई आफ्नो समर्थन रहेको घोषणा गरेका हुन् ।

सार्वजनिक गरिएको भिडिओमा ढुङ्गानाले आफूले ‘काङ्ग्रेस २.०’ लाई समर्थन गरेको बताएका छन् । “मैले यसपालि समर्थन काङ्ग्रेस २.० लाई गरेको छु । हिजोको काङ्ग्रेससँग मेरो कुनै तालुकात छैन,” उनले भिडिओमा भनेका छन्, “आज पनि म प्रवेश गरेको होइन कि मेरो नैतिक समर्थन हो ।”

काङ्ग्रेसले नयाँ उम्मेदवारलाई टिकट दिएको, पार्टीको प्रतिज्ञापत्रबाट आफू विश्वस्त भएको र काङ्ग्रेस सुध्रिन खोजेकाले उक्त पार्टीलाई समर्थन गरेको उनको भनाइ छ । विशेषगरी उनले नेपाली काङ्ग्रेसका सभापति एवम् आसन्न प्रतिनिधि सभा सदस्य उम्मेदवार गगन थापा र अन्य नयाँ उम्मेदवारको पक्षमा आफ्नो समर्थन खुलाएका छन् ।

अर्को एक भिडिओमार्फत उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र अन्य उम्मेदवारको विपक्षमा समेत अभिव्यक्ति दिएका छन् । पार्टीका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन्द्र शाह (बालेन)ले ‘जेन-जी’ विद्रोहको भावना अनुरूपको एजेन्डा लत्याएको आरोप लगाउँदै उनले समर्थन गर्न नसकिने बताएका छन् । 

त्यस्तै रास्वपा सभापति रवि लामिछानेले जेलभित्र हुँदा एउटा कुरा बोलेको र जेल बाहिरिएपछि निर्वाचनलाई समर्थन गर्ने दोहोरो चरित्र देखाएको भन्दै उनले विरोध गरेका छन् । यसरी ढुङ्गानाले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारको विपक्षमा खुलेर अभिव्यक्ति दिएका छन् ।

निर्वाचन आयोगले सोमबार रातिदेखि नै मौन अवधि लागु गरिसकेको छ । आयोगले मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोस्ट वा शेयर गर्न वा गराउन रोक लगाएको छ ।

त्यसैगरी कुनै पनि तरिकाबाट मत माग्न नपाउने व्यवस्था गर्दै आयोगले ‘निर्वाचन प्रचारप्रसार तथा मत माग्नका लागि साउण्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन वा माध्यमको प्रयोग गर्नु हुँदैन’ भनी निर्देशन जारी गरेको छ ।

आयोगका यी निर्देशन र आचारसंहितालाई बेवास्ता गर्दै ढुङ्गानाले मौन अवधिकै समयमा भिडिओ सामग्रीमार्फत काङ्ग्रेसको प्रचारप्रसार र अन्य दलको विरोध गरेका हुन् ।

ढुङ्गानाकै नामको अर्को शंकास्पद आईडीबाट पनि काङ्ग्रेसको प्रचार

३० हजारभन्दा बढी फलोअर रहेको ‘मिरज ढुङ्गाना’ नामको अकाउन्टबाट नेपाली काङ्ग्रेसको पक्षमा खुलेर पोस्टहरू गरिएको छ । मौन अवधि सुरु भइसकेपछि उक्त अकाउन्टमा ढुङ्गानाले गगन थापालाई भेटेर समर्थन जनाएको पोस्ट राखिएको छ । साथै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विरोध, काङ्ग्रेसले ९५ सिट जित्ने दाबी र काङ्ग्रेस नेतृ मीनाकुमारी खरेलको पक्षमा भोट मागिएका सामग्री पनि त्यहाँ पोस्ट गरिएका छन् ।

सामाजिक सञ्जालमा भेटिएका राजनीतिक विषयवस्तु कपी-पेस्ट गरेर राखिने उक्त अकाउन्टको प्रकृति हेर्दा त्यो उनको नाममा खोलिएको नक्कली (फेक) अकाउन्ट जस्तो देखिन्छ । यस अकाउन्टको युजरनेममा भने ‘prabin.bagale.3’ छ । यसबाट के विश्लेषण गर्न सकिन्छ भने प्रविण बगाले नामका व्यक्तिले आफ्नो अकाउन्टको नाम नै परिवर्तन गरेर ‘Miraj Dhungana’ राखी फोटो पनि उनकै राखेका हुन् । तर, युजरनेम भने परिवर्तन गर्न बिर्सिए ।

 

पछिल्लो अध्यावधिक: फागुन २०, २०८२ ०:४३