close

गुगलको नोटबुकएलएमले अब सिनेम्याटिक एआई भिडिओ ‌ओभरभ्यु तयार पारिदिने

टेकपाना टेकपाना

फागुन २१, २०८२ ९:५०

गुगलको नोटबुकएलएमले अब सिनेम्याटिक एआई भिडिओ ‌ओभरभ्यु तयार पारिदिने

काठमाडौँ । गुगलले एआईमा आधारित आफ्नो लोकप्रिय अध्ययन तथा अनुसन्धान टुल नोटबुकएलएममा 'सिनेम्याटिक भिडिओ ओभरभ्यु' (Cinematic Video Overviews) सार्वजनिक गरेको छ । कम्पनीका अनुसार प्रयोगकर्ताहरूले अब आफ्ना अनुसन्धान र नोटहरूलाई पूर्ण रूपमा एनिमेटेड र सिनेमा जस्तै देखिने भिडिओमा बदल्न सक्नेछन् ।

यो नयाँ प्रविधिले गुगलको अत्याधुनिक एआई स्ट्याक प्रयोग गर्दछ, जसमा जेमनाई ३, नानो बनाना प्रो र भिओ ३ को संयोजन रहेको छ । यस प्रक्रियामा जेमनाई ३ ले एक 'क्रिएटिभ डाइरेक्टर'को रूपमा काम गर्छ । यसले प्रयोगकर्ताको स्रोत सामग्रीका आधारमा कथाको प्रवाह, भिजुअल शैली र ढाँचा कस्तो हुने भन्ने सयौँ संरचनात्मक निर्णयहरू लिन्छ । नानो बनाना प्रोले भिडिओका लागि आवश्यक उच्च गुणस्तरका दृश्य सामग्रीहरू तयार पार्छ भने भिओ ३ ले ती सामग्रीहरूमा अत्यन्तै सरल र जीवन्त एनिमेसन भर्ने काम गर्छ ।

यसअघि जुलाई २०२५ मा सार्वजनिक गरिएको भिडिओ ओभरभ्यु फिचरले मुख्यतया न्यारेसन (आवाज) सहितको स्लाइड शो वा स्टोरीबोर्ड मात्र तयार गर्थ्यो । तर यो नयाँ सिनेम्याटिक अपडेटले ती साधारण स्लाइडहरूलाई विस्थापित गर्दै प्रयोगकर्ताको लागि विशेष रूपमा तयार पारिएको आकर्षक र इमर्सिभ (दृश्यमा डुब्न सकिने) भिडिओ अनुभव प्रदान गर्दछ । यसले जटिल विषयहरूलाई सिक्न र बुझ्न अझ प्रभावकारी बनाउने गुगलको विश्वास छ ।

उपलब्धता र सीमा

यो नयाँ फिचर हाल सबैका लागि खुला गरिएको छैन । यो सेवा गुगल एआई अल्ट्रा सब्सक्रिप्सन भएका र १८ वर्ष उमेर पुगेका प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध छ । हाल यो अङ्ग्रेजी भाषामा मात्र सार्वजनिक गरिएको छ भने प्रयोगकर्ताहरूले यसलाई वेब तथा मोबाइल दुवै माध्यमबाट प्रयोग गर्न सक्छन् । प्रयोगकर्ताको सुविधा र गुणस्तरलाई ध्यानमा राख्दै हाल एक व्यक्तिले प्रतिदिन अधिकतम २० वटासम्म मात्र सिनेम्याटिक भिडिओ ओभरभ्यु तयार गर्न पाउने सीमा तोकिएको छ ।

प्रयोगकर्ताले आफ्ना नोटहरू वा अनुसन्धान फाइलहरू नोटबुकएलएममा अपलोड गरेपछि यो फिचरले स्वचालित रूपमा काम सुरु गर्छ । जेमनाईले ती सामग्रीहरू अध्ययन गरी सबैभन्दा उत्कृष्ट प्रस्तुति शैली छनोट गर्छ र भिडिओमा एकरूपता सुनिश्चित गर्न आफ्नो कामलाई आफैँ परिमार्जन समेत गर्दछ ।

गुगलको यो कदमले एआई भिडिओ जेनेरेसनको क्षेत्रमा नयाँ इँटा थपेको छ, जसले गर्दा विद्यार्थी, अनुसन्धानकर्ता र व्यावसायिक व्यक्तिहरूले आफ्ना सूचनाहरूलाई अझ आकर्षक ढङ्गले प्रस्तुत गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: फागुन २१, २०८२ ९:५०