close

मतदान नसकिँदै नक्कली तथ्याङ्क सहितको चार्ट बनाएर भ्रम छर्दै टिकटक प्रयोगकर्ता

टेकपाना टेकपाना

फागुन २१, २०८२ १२:४८

मतदान नसकिँदै नक्कली तथ्याङ्क सहितको चार्ट बनाएर भ्रम छर्दै टिकटक प्रयोगकर्ता

काठमाडौँ । बिहीबार देशभर प्रतिनिधि सभा सदस्यको निर्वाचन भइरहेको छ । निर्वाचन आयोगका अनुसार बिहान सात बजेदेखि बेलुका पाँच बजेसम्म मतदान हुनेछ ।

तर, मतदान सम्पन्न हुनु अगावै एक टिकटक प्रयोगकर्ताले नक्कली तथ्याङ्क राखेर मतगणनाको भ्रम फैलाइरहेको पाइएको छ । ‘रविन प्रकाश दाहाल’ नाम गरेका ती प्रयोगकर्ताले निर्वाचन हुनुभन्दा अघिदेखि नै विभिन्न ठाउँको मतगणना भइरहेको जस्तो देखिने भिडिओहरू अपलोड गरेका छन् ।

खासगरी निर्वाचनका क्रममा बढी चासोमा रहेका र चर्को प्रतिस्पर्धा हुने अपेक्षा गरिएका क्षेत्रको भिडिओ उनले निर्वाचन अगावै राखेका हुन् । ‘नेपालको निर्वाचनको लाइभ’ भन्दै उनले भिडिओ पोस्ट गरेका छन् । भिडिओमा भक्तपुर-२ मा रास्वपाका राजिव खत्रीले जितेको देखाइएको छ ।

त्यस्तै, चितवन-३ मा सोविता गौतम र रेणु दाहालबिच प्रतिस्पर्धा गराएर रेणु दाहालले जितेको देखाइएको छ । रुकुम पश्चिम-१ मा एक-अर्कासँग प्रतिस्पर्धामै नरहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनार्दन शर्माबिच प्रतिस्पर्धा देखाएर प्रचण्डले जितेको देखाइएको छ, जबकि उनीहरू फरक-फरक क्षेत्रबाट उम्मेदवार छन् ।

सुनसरी-१ मा पनि हर्क साम्पाङ र सूर्यबहादुर भट्टराईबिच प्रतिस्पर्धा देखाई भट्टराईले जितेको दाबी गरिएको छ । झापा-५ मा केपी शर्मा ओली र बालेन्द्र शाह (बालेन)बिचको प्रतिस्पर्धामा बालेनले जितेको देखाइएको छ ।

यसरी निर्वाचनको नतिजा आउनु त परै जाओस्, मतदान नै नसकिँदै ती टिकटक प्रयोगकर्ताले चार्ट बनाएर भ्रम छर्ने भिडिओहरू अपलोड गरेका छन् । ती भिडिओमा लाखौं लाइक र भ्युज आएको देखिन्छ ।

पछिल्लो अध्यावधिक: फागुन २१, २०८२ १६:५३