close

फ्याक्टचेकः अन्तर्राष्ट्रिय पर्यवेक्षकको गाडीलाई अमेरिकन बुथ कब्जा गर्न आएको भन्दै फलाइयो त्रास

हिक्मत आचार्य हिक्मत आचार्य

फागुन २१, २०८२ १४:५४

फ्याक्टचेकः अन्तर्राष्ट्रिय पर्यवेक्षकको गाडीलाई अमेरिकन बुथ कब्जा गर्न आएको भन्दै फलाइयो त्रास

काठमाडौँ । बिहीबार बिहानदेखि सामाजिक सञ्जालमा ललितपुरमा अमेरिकनले बुथ कब्जा गरेको दाबीले चर्चा पाएको छ । ललितपुर भैँसेपाटी स्थित जन उदय माध्यमिक विद्यालयको बाहिर देखिएको निलो नम्बर प्लेटको गाडीलाई देखाउँदै अमेरिकनले बुध कब्जा गरेको दाबी गरिएको छ । 

तर टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट उक्त दाबी मिथ्या पुष्टि भएको छ । वास्तवमा उक्त गाडीमा अन्तर्राष्ट्रिय पर्यवेक्षक आएका थिए । त्यसैलाई गलत प्रचार गरी अमेरिकनले बुध कब्जा गर्न लागे भन्दै भ्रम फैलाएको पुष्टि भएको हो ।

दाबी 

बिहीबार ५ मार्च २०२६ बिहान ०९ः०८ मिनेटमा ‘Deepubabu BM’ नामक फेसबुक प्रयोगकर्ताले एक भिडिओ राखे । भिडिओमा ‘अमेरिकाले सबै बुध कब्जा गरेर रास्वपालाई सुम्पजने तैयारि’ लेखिएको छ । १ मिनेट ३९ सेकेन्डको भिडिओमा बोल्ने व्यक्ति भन्छन्, “एमसीसीका मतियार र दलालहरुलाई खुसीको खबर आयो। यो भिडियो यति सक्दो, यति छिटो शेयर गर्नुस् कि, पहिला शेयर गर्नुस् पछि हेर्नुस् । अ... ललितपुरको भैंसेपाटीमा रहेको बुथ कब्जा भइसकेको छ, अमेरिकन एम्बेसी मार्फत । अब घन्टी चिन्हमा भोट हाल्नै पर्दैन । अमेरिकाले सिधै अ... सबै बुथहरु कब्जा गरेर रास्वपाको हातमा यसपटकको सत्ता सुम्पिने वाला छ। यो भिडियो हेर्नुस् ।” 

त्यसपछि अर्को भिडिओ बज्छ । जसमा भिडियो क्लिप भित्रको अडियोमा यस्तो सुनिन्छः

पहिलो व्यक्ति भन्छन्ः "नमस्ते, हामी ललितपुर म... भैंसेपाटीमा एकैछिन आउँदाखेरिको अहिलेको दृश्य हेर्नुस् । यहाँको बुथको उद्घाटन पनि हाम्रो अमेरिकन एम्बेसीद्वारा भएको छ । है... अमेरिकन एम्बेसीद्वारा भएको छ । होइन त हजुर यो हाम्रो... भन्नुस् त।"

दोस्रो व्यक्तिः "यहाँ भित्र जानु भा'छ... अनि त्यहाँ भित्र गएर त्यहाँ बाहिर आउन मन नलागेर बिहान भोटर भन्दा पनि अगाडि आइपुग्नु भा'छ ।"

पहिलो व्यक्तिः "हो त सर ?"

तेस्रो व्यक्तिः "अब म अलि पछि आएँ, मलाई त्यति थाहा भएन । तर एम्बेसीको गाडी चाहिँ सबभन्दा अगाडि चाहिँ एम्बेसीकै छ ।

र, भिडिओ बनाउने व्यक्ति भन्छन्, “ल हेर्नुस्, अब यो भिडिओ हेर्नु भयो त होइन त ? भर्खरै मात्र, केही दिन अगाडि अ... चित्रबहादुर केसी जीले भन्नुभएको कुरा ठ्याक्क मिल्ने वाला छ यहाँ । यसपटकको सबै निर्वाचनको अमेरिकाले कब्जा गर्छ र राष्ट्रिय स्वतन्त्र पार्टीलाई सत्ता सुम्पिन्छ । यदि यसरी नै अगाडि... (भिडियो यहाँ काटिन्छ)”

यो सामग्री तयार पार्दासम्म एक लाख ८० हजार भ्युज आएको सो भिडिओ २५०० पटक शेयर भएको छ । यसमा ५८०० बढी रियाक्सन र ८६९ ओटा कमेन्ट आएका छन् । हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनरेकर्ड ।

 

अनुसन्धान

टेकपाना फ्याक्टचेक डेस्कलाई मेन्सन गर्दै दर्जनौँ सामाजिक सञ्जाल प्रयोगकर्ताले यस भिडिओको तथ्यजाँचका लागि आग्रह गरेका थिए । त्यस क्रममा डेस्कले अमेरिकन किवर्ड सर्च गर्दा फेसबुकमा ‘Subash Bhattarai’ नामका अर्का प्रयोगकर्ताले पनि भिडिओ राखेको फेला पार्‍यो । बिहीबार बिहान ७ः४० मिनेटमा राखिएको उक्त भिडिओको क्याप्सनमा ‘अमेरिकन हरुले बुध कब्जा’ लेखिएको छ । १ः४५ मिनेटको भिडिओमा भनिएको छ, “नमस्ते, हामी ललितपुर म.न.पा भैँसेपाटीमा एकछिन आउँदा खेरिको अहिलेको दृश्य । हेर्नुस्, यहाँको बुथको उद्घाटन पनि हाम्रो अमेरिकन एम्बेसीद्वारा भएको छ । है, अमेरिकन एम्बेसीद्वारा भएको छ। हैन त हजुर, यो हाम्रो भन्नुस् त। 

ल हेर्नुस्, अब यो चुनाव चाहिँ नेपाली जनताको लागि हो कि यो चाहिँ अमेरिकन एम्बेसी अमेरिकनको दूतावासले आएर यहाँ पोजिसन पूरै हेरेर चाहिँ हेर्नुस् अवलोकन गरेर यो कार्यक्रम गर्ने हो त? यहाँको भोटको सुरुवात पनि अमेरिकन एम्बेसीले न भोट हाल्न पाउँछ, न आज चाहिँ अमेरिकन एम्बेसी चाहिँ यसरी आएर बस्न पाउँछ, हेर्नुस्। यी भैँसेपाटीमा, भैँसेपाटी कति नम्बर रे हजुर यो? वडा नम्बर २५ । वडा नम्बर २५ । ल हेर्नुस्। बुथको नाम के रे हजुर यो? 

ल हेर्नुस् अमेरिकन एम्बेसीको गाडी। यो बुथको नाम के पर्‍यो सर? यो चाहिँ माथिको मान्छेले, नेपाल सरकारले यो हेर्नै पर्ने जरुरी एकदम जरुरी कुरा पनि आयो। यसरी नेपाली जनतालाई झुक्काउने कहिलेसम्म ?

सो भिडिओमा १९०० बढि रियाक्सन आएको छ भने २४९ ओटा कमेन्ट आएका छन् । ८२ हजार बढी भ्युज आएको छ भने ९३५ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनरेकर्ड ।

त्यस्तै ‘अरुण नेपाली लुइँटेल’ नामक फेसबुक प्रयोगकर्ताले लेखेका छन्, “अमेरिकन दूतावासको कर्मचारीद्वारा बिहानैदेखि बुथ कब्जा... यस्तो पनि हुन्छ ?????” ३६०० बढी पटक शेयर भएको यस भिडिओमा २५०० बढी रियाक्सन र ६०६ कमेन्ट आएका छन् । हेर्नुहोस् ओरिजिनल भिडिओ । 

हामीले यस भिडिओलाई विश्लेषण गर्न थाल्यो । यसमा निलो प्लेटमा ‘६१ सि.डी. १५’ नम्बरको गाडी  देखिन्छ । र, श्री जन उदय माध्यमिक विद्यालय देखिन्छ । 

यसमा बोल्ने व्यक्ति र उनको कुरालाई विश्लेषण गरौँ । उनले अमेरिकी दूतावासको मान्छे किन आए भन्दै आफ्नो धारणा राखेका छन् । त्यहाँ हुने अन्य व्यक्तिलाई प्रश्न गर्दा कसैले पनि स्पष्ट जवाफ दिएका छैनन् । त्यहाँ निर्वाचन प्रहरी र नेपाल प्रहरीका कर्मचारी देखिन्छन् । तर, भिडिओ बनाउने व्यक्तिले स्थानीय व्यक्तिसँग मात्र कुरा गरेका छन् । कसैले पनि स्पष्ट रूपमा उक्त गाडीमा को आएका थिए भन्ने खुलाउन सकेका छैनन् । यसरी बाहिर दूतावासकै गाडी रहेको आधारमा भिडिओ बनाउने व्यक्तिले आफ्नो धारणा राखेको स्पष्ट हुन्छ ।

यसबारे थप बुझ्न हामीले जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीलाई सम्पर्क गर्‍यौँ । उनले यो दूतावासकै गाडी भएको र पौने सात बजे अन्तर्राष्ट्रिय पर्यवेक्षक त्यसमा आएको पुष्टि गरे । उनले भने, “हामीले पनि त्यो भिडिओ हेर्‍यौं, तर त्यो फेक (झुटो) हो । त्यो अमेरिकी दूतावासको गाडी हो र त्यसमा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू आएका थिए । उनीहरू निर्वाचन आयोगको स्वीकृति लिएर पर्यवेक्षण गर्न बिहान पौने सात बजे नै त्यहाँ आएका हुन् । हामीले पर्यवेक्षकबाहेक अरू कसैलाई पनि सुरक्षा घेराभित्र छिर्न दिएका छैनौँ । उनीहरूले पर्यवेक्षकका रूपमा पाउने सुविधाअन्तर्गत नै पर्यवेक्षण गरेका हुन् । त्यसैले, बुथ कब्जा गर्न लागिएको भन्ने दाबी सरासर झुटो हो ।

बुधबार भएको पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अन्तर्राष्ट्रिय पर्यवेक्षकको विषयमा बोलेका थिए । उनले अन्तर्राष्ट्रिय पर्यवेक्षक बिहीबार हुने मतदातामा पर्यवेक्षण गर्न जाने खुलाएका थिए । उनको भनाइसहितको भिडिओ र त्यसमा बोलिएको कुराः  

 

विश्वको निर्वाचन प्रणालीमा, विश्वका जुनकुनै मुलुकमा पनि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई बोलाइन्छ, आमन्त्रण गरेर बोलाइन्छ, आह्वान गरेर बोलाइन्छ। बोलाइसकेपछि उहाँहरू आउनुहुन्छ।

उहाँहरूलाई हामी यो जुन मुलुकमा निर्वाचन हुने हो, त्यो मुलुकले चाहिँ आतिथ्यता प्रदान गर्नुपर्छ। उहाँहरूलाई मान-सम्मान गर्नुपर्छ र उहाँहरूसँग हाम्रो मुलुकको निर्वाचनको वस्तुस्थिति यस्तो छ, हामीले यसरी निर्वाचन गर्न गइराख्या छौँ, हाम्रो मुलुकको यति निर्वाचन क्षेत्रमा यति प्रतिनिधिसभा सदस्य चाहिँ निर्वाचनको प्रतिस्पर्धामा हुनुहुन्छ भनेर यथार्थ स्थिति जानकारी गराउनुपर्ने हुन्छ, त्यो निर्वाचनको पूर्वसन्ध्यामा।

र, निर्वाचनको पूर्वसन्ध्यामा त्यति जानकारी दिइसकेपछि उहाँहरूले जानकारी प्राप्त गर्नुहुन्छ र सोही बमोजिम भोलि निर्वाचन पर्यवेक्षणमा जानुहुन्छ। र, निर्वाचन आयोगले घोषणा गरेको स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र निष्ठामा रहने निर्वाचन नेपालले गर्न सक्यो कि सकेन भनेर उहाँहरूले पर्यवेक्षण गर्नुहुन्छ।

पर्यवेक्षण गरिसकेपछि प्रतिवेदन दिनुहुन्छ। प्रतिवेदनले नै नेपालको निर्वाचन कति स्वच्छ र शान्तिपूर्ण ढङ्गबाट सम्पन्न भयो भन्ने कुरो उहाँहरूकै प्रतिवेदनबाट प्रस्ट आउँछ। र, यो विश्वमा हरेक प्रजातान्त्रिक मुलुकमा अर्थात् यो चुन्ने-चुनिने प्रक्रियामा विश्वास गर्ने मुलुकमा यो सबै सामान्य प्रक्रिया हो। त्यसैले उहाँहरूलाई सम्मान गर्नुपर्ने हुन्छ र उहाँहरूलाई आतिथ्यता प्रदान गर्ने प्रयोजनको लागि आज छोटो कार्यक्रम राखिएको हो, निर्वाचन सम्पन्न भएको होइन ।

यी विभिन्न तथ्यलाई विश्लेषण गर्दा अमेरिकन एम्बेसीले बुथ कब्जा गर्न लागे भन्दै भाइरल भइरहेको भिडिओ झुटो हो । पर्यवेक्षणका लागि आएका अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई बुथ कब्जा गर्न आए भन्दै भ्रम फैलाइएको पुष्टि हुन्छ ।

दाबी

अमेरिका (अमेरिकी दूतावास) ले ललितपुरको भैँसेपाटीस्थित जन उदय माध्यमिक विद्यालय लगायतका मतदान केन्द्र (बुथ) कब्जा गरेको र यसपटक सबै बुथ कब्जा गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सत्ता सुम्पिने तयारी गरेको छ ।

दाबीकर्ता

‘Deepubabu BM’, ‘Subash Bhattarai’ र ‘अरुण नेपाली लुइँटेल’ लगायतका फेसबुक प्रयोगकर्ता लगायत अन्य ।

तथ्य

विद्यालय बाहिर देखिएको निलो नम्बर प्लेट (६१ सि.डी. १५) को गाडी अमेरिकी दूतावासकै भए तापनि त्यसमा बुथ कब्जा गर्न अमेरिकी सेना वा अन्य व्यक्ति नभई अन्तर्राष्ट्रिय पर्यवेक्षक आएका थिए ।

ललितपुर प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार ती पर्यवेक्षक निर्वाचन आयोगको पूर्वस्वीकृति लिएर बिहान पौने ७ बजे मतदानको पर्यवेक्षण गर्न त्यहाँ पुगेका थिए । पर्यवेक्षकबाहेक अन्य कसैलाई पनि सुरक्षा घेराभित्र प्रवेश गर्न दिइएको थिएन ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पनि निर्वाचन स्वतन्त्र र निष्पक्ष भएको छ वा छैन भनेर हेर्न र प्रतिवेदन दिन अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई आमन्त्रण गरिएको र उनीहरू बिहीबार मतदान केन्द्रहरूमा जाने कुरा पहिल्यै स्पष्ट पारिसकेका थिए ।

भिडिओ बनाउने व्यक्तिले त्यहाँ उपस्थित सुरक्षाकर्मी वा आधिकारिक व्यक्तिसँग बुझ्दै नबुझी बाहिर दूतावासको गाडी देखेकै भरमा मनगढन्ते धारणा राखेर भिडिओ बनाएका थिए।

निष्कर्ष

ललितपुरको भैँसेपाटीमा अमेरिकी दूतावासले बुथ कब्जा गरेको भन्ने दाबी पूर्ण रूपमा झुटो हो । निर्वाचन आयोगको अनुमतिमा नियमित प्रक्रियाअन्तर्गत चुनावको पर्यवेक्षण गर्न आएका अन्तर्राष्ट्रिय पर्यवेक्षकको गाडीलाई देखाएर गलत प्रचार गर्दै अफवाह मात्र फैलाइएको पुष्टि हुन्छ ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, ​युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

 

पछिल्लो अध्यावधिक: फागुन २१, २०८२ १८:३६