close

फ्याक्टचेक: मोरङका रास्वपा नेता दुर्गा रेग्मीको मतगणना स्थलमै मृत्यु भएको दाबी भ्रामक

टेकपाना टेकपाना

फागुन २२, २०८२ १६:१९

फ्याक्टचेक: मोरङका रास्वपा नेता दुर्गा रेग्मीको मतगणना स्थलमै मृत्यु भएको दाबी भ्रामक

काठमाडौँ । फेसबुक पेज ‘NEB Result’ लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङका नेता दुर्गा रेग्मीको मतगणनास्थलमा नै हृदयघातका कारण मृत्यु भएको दाबीसहित पोस्ट गरिरहेका छन् । टेकपाना फ्याक्टचेक डेस्कको अनुसन्धानबाट नेता रेग्मीको मृत्यु भएको पुष्टि भए तापनि ‘मतगणना स्थलमै मृत्यु भएको’ भन्ने दाबी गलत पाइएको छ । आफ्नो डेरामा खाना खाने क्रममा बेहोस भएका रेग्मीलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही घटनालाई मतगणना स्थलमै मृत्यु भएको भन्दै भ्रम फैलाइएको देखिएको छ ।

दाबी 

फेसबुक पेज ‘NEB Result’ ले शुक्रबार (६ मार्च, २०२६) दिउँसो २:१० मा “रास्वपा मोरङका नेता दुर्गा रेग्मीको मतगणनास्थलमा नै Heartattack को कारण मृ’त्यु भएको छ । 💔” शीर्षकमा पोस्ट गरेको छ । उक्त पोस्टमा फेसबुक प्रयोगकर्ताहरूले टेकपाना फ्याक्टचेक डेस्कलाई मेन्सन गर्दै अनुसन्धानका लागि अनुरोध समेत गरेका छन् । ‍

उक्त पोस्टमा यो सामग्री तयार पार्दासम्म पाँच हजार ६०० भन्दा बढी रियाक्सन आइसकेको छ । ३६६ कमेन्ट र ५४ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

अनुसन्धान 

२६ फेब्रुअरी दिउँसो २:१३ मा ‘Nepali Epic Comments’ नामको फेसबुक पेजले पनि सोही दाबीसहित फेसबुक पोस्ट गरेको पाइयो । उक्त पोस्टमा लेखिएको छ, “रास्वपा मोरङका नेता दुर्गा रेग्मीको मतगणना स्थलमा नै Heartattack को कारण मृ’त्यु भएको छ । 💔” हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

फेसबुक पेज ‘ओम उप्रेती / om Uprety’ ले पनि मतदान स्थलमा रास्वपा मोरङका नेता दुर्गा रेग्मीको मतगणनास्थलमा मृत्यु भएको दाबीसहित पोस्ट गरेको छ । पोस्टमा लेखिएको छ, “रास्वपा मोरङका नेता दुर्गा रेग्मीको मतगणनास्थलमा नै Heartattack को कारण मृ’त्यु भएको छ । 💔 मैले कति कोशिष गरे प्रथामिक सिकाने जनमानसमा त्यति चासो रहेन 🥲”।  पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

 

अनुसन्धानका क्रममा ‘Nepal Stock & IPO News’, ‘Concerned Nepal’, ‘Bibek Yadav’, ‘भेटेरिनरी लोकसेवा सहयात्री’, बिक्रम तिलुङ राइ, ‘Chaaso TV’ लगायतका विभिन्न फेसबुक अकाउन्त तथा पेजहरूले ‘NEB Result’ मा सार्वजनिक भएको तस्बिर र स्टाटस जस्ताको तस्तै सार्वजनिक गरेको समेत फेला पर्‍यो । 

सामाजिक सञ्जालमा मोरङका रास्वपाका नेताको मतगणना स्थलमा नै मृत्यु भएको सूचना आएको र तथ्यजाँचका लागि पनि मेन्सन भएको पाइएपछि हामीले घटनाको वास्तविकता बुझ्ने प्रयास गर्‍यौँ । यसका लागि हामीले ‘रास्वपा मोरङ मृत्यु’, ‘मतगणना स्थल प्रतिनिधि मृत्यु’ लगायतका किवर्ड राखेर गुगलमा सर्च गर्‍यौँ । 

खोज्ने क्रममा अनलाइन न्युज पोर्टल नेपालप्रेसले ‘मोरङ २ मा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु’ दिउँसो २:०४ मा सार्वजनिक गरेको समाचार फेला पर्‍यो । उक्त समाचारमा रेग्मी मतगणना स्थलबाट खाना खान गएका बेला ढलेको उल्लेख छ । 

समाचारमा लेखिएको छ, “विराटनगर । मोरङको क्षेत्र नम्बर २ मा रास्वपाका प्रतिनीधिको मृत्यु भएको छ। उनी रास्वपाका उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि रहेको मोरङका प्रहरी प्रमुख एसपी कविद कट्टुवालले बताए । उनका अनुसार रास्वपाका जिल्ला सदस्य समेत रहेका दुर्गा रेग्मी मृत्यु भएको हो । उनको हृदयाघातको कारण मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ। मतगणना स्थलबाट खाना खान गएका बेला उनी ढलेका थिए । उनको खाना खाएकै स्थानमा मृत्यु भएको एसपी कट्टुवालले बताए ।” पढ्नुहोस् समाचार र स्क्रिनशट । 

त्यसपछि हामीले घटनाका बारेमा थप विषय बुझ्न मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालसँग सम्पर्क गर्‍यौँ । टेकपानासँगको कुराकानीमा कटवालले भने, “मोरङको रतुवामाई नगरपालिका वडा नं ७ सिजुवास्थित सुजता कार्कीको घरमा डेरा गरेर बस्ने ५० वर्षीय दुर्गा रेग्मी बिहान ११:४५ मा डेरामा नै खाना खाइरहेको बेलामा अचानक बेहोस हुनु भएको थियो । तत्कालै रङ्गेली अस्पताल लगिएको थियो । डक्टरले दिउँसो १२:१५ मा चेकजाँच गरेर मृत घोषणा गर्नुभएको हो ।” 

एसपी कटवालका अनुसार रेग्मी मतगणना स्थलमा खटिएका प्रतिनिधि भए तापनि उनको मृत्यु गणनास्थलमा नभई डेरामा भएको हो ।​

दाबी 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङका नेता दुर्गा रेग्मीको मतगणनास्थलमा नै हृदयघातका कारण मृत्यु भयो । 

दाबीकर्ता 

फेसबुक पेजहरू ‘NEB Result’,  ‘Nepali Epic Comments’, ‘ओम उप्रेती / om Uprety’,  ‘Nepal Stock & IPO News’, ‘Concerned Nepal’, ‘Bibek Yadav’, ‘भेटेरिनरी लोकसेवा सहयात्री’, बिक्रम तिलुङ राइ, ‘Chaaso TV’ लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता ।

तथ्य

मोरङको क्षेत्र नम्बर २ मा मतगणना स्थलमा खटिएका रास्वपा नेता दुर्गा रेग्मीको मृत्यु भएको कुरा सत्य हो, तर घटनास्थल मतगणना केन्द्र होइन । उनी आफ्नो डेरामा खाना खाइरहेको बेला बेहोस भएका थिए र अस्पताल पुर्‍याएपछि उनलाई मृत घोषणा गरिएको थियो ।​

निष्कर्ष

मोरङका रास्वपा नेता दुर्गा रेग्मीको मतगणना स्थलमा मृत्यु भएको भन्ने दाबी भ्रामक हो ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, ​युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: फागुन २२, २०८२ १८:१५