फ्याक्टचेक: दोलखामा सात हजार ६०० बढी मतले रास्वपाले अग्रता लिएको ‘हाम्रो पात्रो’ को दाबी भ्रामक
फागुन २२, २०८२ १८:१८
काठमाडौँ । यतिबेला देशैभर प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतगणनाको क्रम चलिरहेको छ । सोही मतपरिणामको अपडेट दिने क्रममा ‘हाम्रो पात्रो’ ले शुक्रबार (६ मार्च) बिहानदेखि नै दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेलले ७ हजार ६१७ मतसहित अग्रता बनाएको मतपरिणाम अपडेट गरेको छ । तर, टेकपानाको फ्याक्टचेक डेस्कले गरेको अनुसन्धानले उक्त दाबी भ्रामक रहेको पाइएको छ । दिउँसो तीन बजेबाट सुरु भएको दोलखाको मतगणनामा साँझ ५:१३ बजेसम्म रास्वपाले २९० मतसहित अग्रता राखेको छ ।
दाबी
हाम्रो पात्रोको ‘Election’ पृष्ठमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को दोलखाको मत परिणाम राखिएको छ । उक्त परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेलले ७ हजार ६१७ मत पाएर अग्रता कायम गरेको उल्लेख छ ।
उक्त मत परिणाममा नेपाली काँग्रेसका अजयबाबु शिवाकोटीले ८९० मत, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का विशाल खड्काले ८४७ मत प्राप्त गरेको, नेकपा एमालेका पार्वत गुरुङले ५४४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रविण कुमार थोकर/तामाङ्गले ३३ मत प्राप्त गरेको उल्लेख छ । हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।

उक्त मत परिणाम सही नभएको भन्दै बिहान १० बजेदेखि नै ‘हाम्रो पात्रो’ तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कमेन्ट गरिरहेका छन् ।
अनुसन्धान
‘हाम्रो पात्रो’ मा दोलखाको उक्त मत परिणाम अपडेट भएको पाइएपछि हामीले निर्वाचन आयोगको आधिकारिक निर्वाचन परिणाममा दोलखाको निर्वाचन परिणाम खोज्यौँ । शुक्रबार (६ मार्च) साँझ ५ बजेसम्म पनि वेबसाइटमा दोलखाको मत परिणाम अपडेट नभएको पाइयो । हेर्नुहोस् स्क्रिनशट ।
त्यसपछि हामीले जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला निर्वाचन आचारसंहिता समिति प्रमुख औलाख बहादुर आलेलाई सम्पर्क गर्यौँ । शुक्रबार साँझ ५:१३ मा टेकपानासँग भएको टेलिफोन सम्पर्कमा आलेले दिउँसो ३ बजेबाट मात्र दोलखाको मतगणना सुरु भएको जानकारी दिए ।
सो समयसम्मको मतपरिणाम सुनाउँदै उनले भने, “जिरी नगरपालिकाको १, २, ३ बाट पहिलो चरणको मतगणना सुरु गरेको हो । त्यसमा अहिलेसम्म २९० मत घण्टी (रास्वपा) ले, २८४ तारा (नेकपा), १३० सूर्य (नेकपा एमाले) र २५ रुख (नेपाली काँग्रेस)ले पाएको छ ।”
दाबी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेलले सात हजार ६१७ मत पाएर अग्रता कायम गरे ।
दाबीकर्ता
हाम्रो पात्रो ।
तथ्य
दोलखामा सात हजार ६०० भन्दा धेरै मत कुनै एक राजनीतिक दलले प्राप्त गर्ने गरी मतगणना भइसकेकै छैन । दोलखाको मतगणना २२ फागुन दिउँसो ३ बजेदेखि सुरु भएको हो । दिउँसो ५:१५ सम्म प्राप्त मत परिणाम अनुसार रास्वपाले २९० मतसहित अग्रता कायम गरेको छ ।
निष्कर्ष
शुक्रबार (६ मार्च) बिहानदेखि नै हाम्रो पात्रोले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेलले सात हजार ६१७ मत पाएर अग्रता कायम गरेको भन्दै राखेको मत परिणामको अपडेट भ्रामक हो ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।
पछिल्लो अध्यावधिक: फागुन २२, २०८२ १८:२८
