close

एप्पलको २०औँ वार्षिकोत्सव विशेष: आईफोन २० प्रो म्याक्समा झन्डै ७ इन्चको डिस्प्ले रहने चर्चा

टेकपाना टेकपाना

साउन ६, २०८३ १४:२५

एप्पलको २०औँ वार्षिकोत्सव विशेष: आईफोन २० प्रो म्याक्समा झन्डै ७ इन्चको डिस्प्ले रहने चर्चा

काठमाडौं । एप्पलले आफ्नो आगामी २०औँ वार्षिकोत्सवको अवसरमा आईफोनको ‘प्रो’ लाइनअपमा ठुलो परिवर्तन गर्ने तयारी गरिरहेको संकेत मिलेको छ । हालै बाहिरिएका विवरण अनुसार कम्पनीले आईफोन २० प्रो म्याक्सको लागि झन्डै ७ इन्चको ठुलो डिस्प्ले परीक्षण गरिरहेको छ ।

चिनियाँ सामाजिक सञ्जाल वेइबोमा चर्चित टिपस्टर ‘डिजिटल च्याट स्टेसन’ ले सार्वजनिक गरेको विशेष जानकारी अनुसार एप्पलले हाल ६.९६ इन्चको डिस्प्लेको प्रोटोटाइप तयार पारिरहेको छ । यो नयाँ डिस्प्ले हालको आईफोन १७ प्रो म्याक्सको प्यानलभन्दा ०.०६ इन्चले ठुलो हुनेछ ।

स्क्रिनको आकार बढे तापनि यसको आस्पेक्ट रेसियो (Aspect Ratio) पुरानै मोडेलहरू जस्तै रहने टिपस्टरको दाबी छ । यसले गर्दा प्रयोगकर्ताहरूलाई फोन हातमा समात्न र चलाउन पहिले जस्तै सहज हुने बताइएको छ ।

डिस्प्लेका अतिरिक्त, आईफोन २० प्रो म्याक्समा अन्य एडभान्स्ड सुविधाहरू रहने अनुमान छ । जसमा चारैतिर मोडिएको क्वाड-कर्भ्ड डिस्प्ले, सोलिड-स्टेट बटन र स्क्रिनभित्रै लुकेको अन्डर-डिस्प्ले फेसआईडी प्रविधि समावेश हुन सक्छन् । फोनको सुरक्षाका लागि छेउछाउमा सुधारिएको सिरामिक शिल्ड प्रयोग हुने चर्चा छ ।

२०औँ वार्षिकोत्सव संस्करणको यस आईफोनमा ६,००० एमएएचको ब्याट्री र रिभर्स वायरलेस चार्जिङको सुविधा रहने हल्ला छ । एप्पलले आईफोनको नामकरणमा पनि परिवर्तन गर्दै यसलाई ‘आईफोन २०’ को नामबाट बजारमा ल्याउन सक्ने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन् ।

जीएसएमएरेनाको सहयोगमा ।

 

पछिल्लो अध्यावधिक: साउन ६, २०८३ १४:३३