close

चुनाव हारेर होइन, फिल्म हेरेर रोएकी थिइन् रास्वपा नेतृ विनिता कठायत, जनआस्था लगायतले फैलाए भ्रम

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

फागुन २५, २०८२ २२:३१

चुनाव हारेर होइन, फिल्म हेरेर रोएकी थिइन् रास्वपा नेतृ विनिता कठायत, जनआस्था लगायतले फैलाए भ्रम

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट जुम्लाका लागि उम्मेदवारी दिएकी विनिता कठायत पराजित भएकी छिन् । त्यसयता उनी भावुक भएर रोएको एक भिडिओ भाइरल भइरहेको छ । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानबहादुर शाही निर्वाचित हुँदा आफ्नो भने जमानत नै जफत भएपछि कठायत भावुक भएर रोएको दाबीसहित भिडिओ सार्वजनिक गरिएको हो ।

टेकपाना फ्याक्टचेक डेस्कको अनुसन्धानबाट उक्त दाबी भ्रामक रहेको पाइएको छ । वास्तवमा कठायत एक वर्षअघि चलचित्र ‘लाज शरणम्’ हेरेपछि भावुक हुँदै रोएकी थिइन् । सोही भिडिओलाई हालको चुनावी सन्दर्भसँग जोडेर भ्रम फैलाइएको पुष्टि भएको छ । 

दाबी

सोमबार (९ मार्च बिहान ११:४३) मा जनआस्थाको फेसबुक पेज ‘Jana Aastha’ ले “चुनाव हारेपछि रास्वपा नेतृ विनिता कठायतको आँशु”  शीर्षकमा भिडि‌ओ पोस्ट गरेको छ । भिडिओमा रास्वपा नेतृ विनिता कठायत भावुक मुद्रामा देखिएकी छिन् भने आँखाबाट आँशु पुछिरहेकी छिन् । उनले कर्णाली बासीमाथि राजनीति नगर्न समेत आग्रह गरेकी छिन् । 

भिडिओमा कठायतले भनेकी छिन्, “कति जना पोलिटिसियनले हेर्छ प्लिज भन्न चाहन्छु, प्लिज । अब राजनीति नगर्दिउँ हामी कर्णाली बासिन्दासँग । म मेरो पछिको जति पनि पुस्ता आउँछ, तब पनि कर्णालीको सिचुएसनहरू अझ चेन्ज गर्नलाई अझ गाह्रो हुन्छ ।” हेर्नुहोस् जनआस्थाले सार्वजनिक गरेको भिडिओ, रेकर्डेड भिडिओ र स्क्रिनशट । 

 

अनुसन्धान 

‘Republica Dainik’ नामको फेसबुक पेजले पनि कठायत रोइरहेको सोही भिडिओ राखेको फेला पर्‍यो । जहाँ जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी कठायतको जमानत जफत भएपछि भावुक भएर रोएको दाबी गरिएको छ । 

९ मार्च बिहान ११:४४ मा सार्वजनिक भिडि‌ओको क्याप्सनमा लेखिएको छ, “जुम्लामा ४२१ मतसहित जमानत जफत भएपछि भावुक भएर रुँदै रास्वपाकी उम्मेदवार विनिता कठायत । राप्रपाका ज्ञानबहादुर शाही १४ हजार ८ सय १६ सहित विजयी भएका छन् ।” उक्त भिडिओलाई यो सामग्री तयार पार्दासम्म दुई लाख ३६ हजारभन्दा धेरैले हेरेका छन् भने दुई हजार ९०० भन्दा धेरै रियाक्सन गरिएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनशट ।  

 

‘Artha Chautari’ फेसबुक पेजले पनि सोही दाबी सहित कठायतको भिडिओ सार्वजनिक गरेको फेला पर्‍यो । उक्त पोस्टको क्याप्सनमा लेखिएको छ, “चुनाव हारेपछि मिडियामा रुँदै आइन् रास्वापा उम्मेदवार विनिता कठायत 😭😭” । उक्त भिडिओलाई यो सामग्री तयार पार्दासम्म नौ हजारभन्दा धेरैले हेरेका छन् । हेर्नुहोस् ओरिजिनल भिडि‌ओ र स्क्रिनशट । 

फेसबुक प्रयोगकर्ता ‘Kabiraj Karki’ ले पनि सोही भिडिओ सार्वजनिक गरेको फेला पर्‍यो । ९ मार्च बिहान १०:३७ मा सार्वजनिक गरेको भिडिओको क्याप्सनमा उनले लेखेका छन्, “हाम्रो कर्णालीकी पूर्व समानुपातिक सांसद रास्वपा नेतृ विनिता कठायत यसपटक चुनाव लड्दा जमानत जफत भयो। देशैभरी रास्वपाको बहुमत आउँदा जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी भएका थिए !!” हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनशट । 

फेसबुकमा अन्य कयौँ प्रयोगकर्ताहरूले पनि विनिता कठायतले जुम्लामा प्रतिनिधि सभा सदस्यको निर्वाचन हारेको दाबी सहित भिडिओ शेयर गरेको पाइयो । तल हेर्नुहोस् उक्त दाबी सहित फेसबुकमा विभिन्न पेजहरूले सार्वजनिक गरेको भिडिओको रेकर्ड । 

सामाजिक सञ्जालमा यो भिडिओ निकै भाइरल भइरहेको पाइएपछि हामीले ‘विनिता कठायत भावुक’, ‘रास्वपा विनिता कठायत रुँदै’, ‘कर्णाली राजनीति विनिता भावुक’, ‘बिनिता कठायत राजनीति’ लगायतका किवर्डहरू राखेर गुगल एड्भान्स सर्च गर्‍यौँ । 

३ मार्च २०२५ मा ‘Bikash Update’ नामको फेसबुक पेजले उक्त भिडिओ सार्वजनिक गरेको फेला पर्‍यो । उक्त भिडिओको क्याप्सनमा लेखिएको छ, “कर्णालीलाई राज्यले गरेको व्यवहार देखेर धरधरी रुँदै जुम्लाकी माननीय विनिता कठायत।” हेर्नुहोस् भिडिओ र स्क्रिनशट ।

 

उक्त भिडिओमा ‘cine video’ को वाटरमार्क देख्न सकिन्छ । त्यसपछि हामीले गुगलमा cine video विनिता कठायत सर्च गर्‍यौँ । 

२ मार्च २०२५ मा ‘Cine Video’ नामको फेसबुक पेजले उक्त भिडिओ राखेको भिडिओ फेला पर्‍यो । उक्त भिडिओको क्याप्सनमा लेखिएको छ, “राजनितिक खेल देखेर रो#यिन बिनिता कठायत” । सो भिडिओको पृष्ठभूमिमा सिनेमा हलको सिटबाट निस्किएर बाहिर गइरहेका छन् । त्यसैले पनि उक्त भिडिओ सिनेमा हल भित्रको रहेको पुष्टि हुन्छ । त्यहाँ उनले चलचित्र हेरेपछि आफू भावुक भएको बताएकी छिन् । 

उक्त भिडिओमा सागर लम्साल, कुमार कट्टेल, जिग्री, पाँडे जिग्री बले लगायतको ह्यासट्याग राखिएको छ । हेर्नुहोस् भिडिओ र स्क्रिनशट ।


 

त्यसपछि हामीले गुगलमा २०२५ मार्च महिनामा ‘कुमार कट्टेल जिग्री’ को बारेमा सार्वजनिक समाचार केलायौँ । सो क्रममा गत वर्ष मार्च महिनामा ‘लाज शरणम्’ चलचित्र प्रदर्शनरत रहेको देखियो । त्यसपछि हामीले 'लाज शरणम् विनिता कठायत' किवर्ड सर्च गर्‍यौँ । खोज्ने क्रममा ‘Laaj Sharanam - लाज शरणम’ फेसबुक पेजले २ मार्च २०२५ मा सार्वजनिक गरेको भिडिओ फेला पर्‍यो । भिडिओको क्याप्सनमा लेखिएको छ, “चलचित्र "लाज शरणम्" हेरेपछि भावुक हुनुहुँदै माननीय बिनिता कठायत ज्यु ।” 

सो भिडिओमा समेत हाल भाइरल भइरहेको विनिता कठायतको क्लिप समावेश छ । हेर्नुहोस् भिडिओ । 

दाबी

चुनाव हारेपछि रास्वपा नेतृ विनिता कठायत भावुक भएर रोइन् । 

दाबीकर्ता

अनलाइन मिडिया जनआस्थाको फेसबुक पेज ‘Jana Aastha’, फेसबुक पेजहरू ‘Republica Dainik’, ‘Artha Chautari’, ‘Kabiraj Karki’ सहित सामाजिक सञ्जाल प्रयोगकर्ता । 

तथ्य 

वास्तवमा उक्त भिडिओ एक वर्ष पुरानो हो । तत्कालीन समयमा सांसद रहेकी कठायतले चलचित्र लाज शरणम् हेरेपछि भावुक भएर चलचित्रको बारेमा प्रतिक्रिया दिएकी थिइन् । सोही भिडिओलाई हालको प्रतिनिधि सभा सदस्य निर्वाचनसँग जोडेर भ्रम फैलाइएको हो ।

निष्कर्ष 

चुनाव हारेपछि रास्वपा नेतृ विनिता कठायत भावुक भएर रोएको दाबी भ्रामक हो ।

 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्स, ​युट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: फागुन २५, २०८२ २२:३१