ऋषि धमलालाई रौतहटबाट उम्मेदवारी दिन उक्साएको भन्दै जेनजी युवाको भिडिओ भाइरल, के हो वास्तविकता ?
फागुन २६, २०८२ १८:३२
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा आम जनता पार्टी (आजपा) बाट रौतहट क्षेत्र नं. ४ मा उम्मेदवारी दिएका पत्रकार ऋषि धमला फराकिलो मतान्तरले पराजित भएपछि सामाजिक सञ्जालमा एक युवाको भिडिओ भाइरल भएको छ । धमलालाई चुनाव लड्न ‘उक्साएको’ र ‘डुबाएको’ भन्दै ओखलढुङ्गाका रोशनराज दाहालको अन्तर्वार्ता अहिले चर्चाको विषय बनेको हो ।
आजपाको ‘मोबाइल’ चुनाव चिह्न लिएर चुनावी मैदानमा होमिएका धमलाले गणनाका क्रममा केवल ६५५ मत प्राप्त गरे । सोही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पौडेल ३६ हजार ८७६ मतका साथ विजयी भएका छन् । धमलाको यो हारसँगै सामाजिक सञ्जालमा रोशनराज दाहालको पुरानो क्लिप भाइरल गराइएको छ ।
भाइरल भिडिओमा आफूलाई जेनजी प्रतिनिधि बताउने रोशनराज दाहालले रौतहटमा ऋषि धमला जस्तो व्यक्तिको खाँचो रहेको दाबी गरेका छन् । धमला रौतहट-४ बाट उठेमा जेनजी गोली खान समेत तयार रहेको उनले बताएका छन् । टिकटक, इन्स्टाग्राम, युट्युबमा कयौँ प्रयोगकर्ताहरूले ऋषि धमलालाई राजनीतिमा लाग्न उक्साउने युवा भन्दै उक्त भिडिओ भाइरल गराइरहेका छन् ।
‘Ashok Kumar Khadka’ नामका फेसबुक प्रयोगकर्ताले धमलालाई चुनावमा लड्न उक्साएर पराजित हुन बाध्य बनाएको बन्दै दाहालको अन्तर्वार्ता पोस्ट गरेका छन् । क्याप्सनमा उनले लेखेका छन् “स्याङ्जाली र झापाली यसै बदनाम रहेछन। हाम्रो सोझो धमलालाई उचाल्ने र डुबाउने यो भाई रहेछ । उस्तै परे अजय देबगन वाला आईडिया पनि यहि भाईको होला । 😂” हेर्नुहोस् भिडिओ ।
यस्तो छ भाइरल अन्तर्वार्ता
रोशनराज दाहाल : “यी अवसरवादी झोले झ्याम्टेहरूलाई तह लगाउन त ऋषि धमला निर्विकल्प हो । तपाईँ खुट्टा टेक्नुस्, काँध चढाउने जिम्मा हाम्रो । यो ग्यारेन्टी कसरी लिन्छौँ हामी ? २१ घण्टामा सरकार परिवर्तन गरेको होइन जेनजीले ?
हरेक आधार र प्रमाण हुँदाखेरि तपाईँ अगाडि बढ्नुस् । एउटा वरिष्ठ पत्रकार पनि तपाईँ, पत्रकार साथीहरूले सहयोग गर्नुहुन्छ, कवाडी साथीहरूले सहयोग गर्नुहुन्छ, हामी जस्तो युवा विद्यार्थीले सहयोग गर्छौँ ।
र अर्को कुरा, ४६ सालको आन्दोलनमा तपाईँ गिरफ्तार हुँदै गर्दा तपाईँ सित गएका नेताहरू छन् नि, ती नेता भनाउँदाहरू, तिनीहरूले त ऋषिजीले बनाएको हो भनेर बाहिर भन्न सकेका छैनन् नि, तर भित्री यथार्थ त ऋषिजीले तिनलाई आज नेता बनाएर आज संसद भवन पठाउनुभएको हो ।
यी मान्छेहरूलाई चाहिँ छानबिनको दायरामा ल्याउनुस् । आज गुन्डु बसेर भुक्नेहरूलाई छानबिनको दायरामा ल्याउनुस् । ऋषि धमला जत्तिको मान्छे हामीले राष्ट्रिय राजनीतिमा ल्याउँदाखेरि जनताले मूल्याङ्कन गर्नुपर्छ । ऋषि धमला त एउटा नाम होइन नि त, ब्रान्ड हो ।
४६ सालदेखि आज हामी जस्तो असली जेनजीलाई बोकेर आज यहाँसम्म ल्याउनु भनेको ‘नट अ जोक’ (Not a joke) । कुनै माइकालालले गर्न सक्दैन यो कुरा । हामी दम्भका साथ भन्छौँ- तपाईँ रौतहट क्षेत्र नम्बर ४, या रौतहटको कुनै क्षेत्रबाट लड्नुहुन्छ भने हामी गोली खानु पर्छ भने गोली खान तयार छौँ ।”
ऋषि धमला: “म तपाईँको जिल्लामा पनि आउँछु फेरि, तपाईँलाई पनि साथ दिन्छु ।”
रोशनराज दाहाल: “हाम्रो जिल्लामा त तपाईँ आउने नै होइन नि । हाम्रो जिल्लामा त हामीले लिएर जाने हो ऋषि धमलालाई । हामी स्वागत गर्छौँ सुनकोशीको गेटबाट 'अघि बढ ऋषि दाइ जनता तिम्रो साथमा छन्' भन्ने सेन्स हामी दिन्छौँ नि त । यो मानेमा त ओखलढुङ्गा जाने चिन्ता तपाईँ नगर्नु न, ओखलढुङ्गा जाने जिम्मा मेरो हुन्छ ।
साथमा, ओखलढुङ्गाका सबै जनताहरूले 'ऋषि दाइ हाइ हाइ' भन्ने छन् । आजका यी पुलिस-चोर यी सबै छन् नि, केही पनि होइनन् । आज हामीसँग ५ हजार भन्दा माथि युवा सर्कल छ, अझै जोडिने क्रम छ । हाम्रो विचार सुनेरै ऋषि धमला ओहो ओखलढुङ्गामा आउँछ रे ! सिद्धिचरण श्रेष्ठले चिनाएको ओखलढुङ्गा, पाण्डव सुनुवारले चिनाएको ओखलढुङ्गा, मेरो आदरणीय दाइ बालकुमार श्रेष्ठले लोकदोहोरी मार्फत चिनाएको ओखलढुङ्गा । सानै अर्को छ, ऋषि धमला जाँदा त्यहाँका पत्रकार साथीहरू खुसी हुनुहुन्छ, त्यहाँका किसान साथीहरू खुसी हुनुहुन्छ, त्यहाँका श्रमजीवी जनता खुसी हुनुहुन्छ, युवा विद्यार्थी, सरकारी जागिरेहरू सबै खुसी हुनुहुन्छ । यसको नेतृत्व त जेनजीले गर्छ । भनौँ म, तपाईँले कहिले ओखलढुङ्गा लाने ?”
ऋषि धमला: “अब म छिट्टै तपाईँको जिल्ला आउँछु ।”
रोशनराज दाहाल : “तपाईँको जिल्ला भन्दै गर्दाखेरि ओखलढुङ्गासँग पनि तपाईँको सम्बन्ध जोडिएको छ, यो कुरा मलाई थाहा छ ।”
ऋषि धमला: “धमलाहरूको सम्बन्ध छ, हो ।”
रोशनराज दाहाल : “हो, धमलाहरूको सम्बन्ध छ, तपाईँका दाजुभाइ त्यहाँ छन् ।”
दुई महिनाअघि प्रिमियर भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमको हो भाइरल क्लिप
अनुसन्धानका अनुसार यो भाइरल क्लिप ऋषि धमलाले नै सञ्चालन गर्ने प्राइम टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ को हो । ८ जनवरीमा प्राइम टेलिभिजनको युट्युब च्यानलबाट ‘जेनजीहरूको नयाँ प्रस्ताव, को बन्ला प्रधानमन्त्री ? रवि-बालेनसँग फायर, ओली-देउवाको प्रतिकार’ शीर्षकमा उक्त भिडिओ प्रिमियर भएको थियो ।
उक्त कार्यक्रममा विवेक यादव र रोशनराज दाहाल अतिथिका रूपमा सहभागी थिए । भिडियोमा धमलालाई रौतहटबाट राष्ट्रिय राजनीतिमा आउन आग्रह गर्ने युवा ओखलढुङ्गाका रोशनराज दाहाल हुन् भने अर्का सहभागी विवेक यादव रौतहटका हुन् ।
अन्तर्वार्ताको क्रममा दाहालले रौतहट-४ मा ऋषि धमलाको आवश्यकता रहेको भन्दै उनलाई राजनीतिमा आउन आग्रह गरेका थिए ।
भिडिओको ७ मिनेट पाँच सेकेन्डबाट भने रोशनराज दाहालले रौतहट ४ मा ऋषि धमलाको आवश्यकता रहेको बताइरहेका छन् । सोही क्लिप हाल भाइरल भइरहेको छ । हेर्नुहोस् भिडिओ ।

उक्त अन्तर्वार्ता ऋषि धमलाले आजपाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी घोषणा गर्नुभन्दा १२ दिन पहिलेको रहेको पाइएको छ । धमलाले ६ माघ (२० जनवरी) मा आजपाबाट उम्मेदवारी दिने घोषणा गरेका थिए ।
ऋषि पत्नी एलिजा गौतम भने उक्त अन्तर्वार्ता आउनुभन्दा पहिले नै ९ पुस २०८२ (२४ डिसेम्बर) मा आम जनता पार्टीमा प्रवेश गरिसकेकी थिइन् ।
पछिल्लो अध्यावधिक: फागुन २६, २०८२ १९:४१
