बालेन नेपालको प्रधानमन्त्री बनेको भन्दै विदेशी मिडिया र सामाजिक सञ्जालमा भ्रामक दाबी भाइरल
फागुन २६, २०८२ २०:३२
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेपालको प्रधानमन्त्री बनेको भन्दै भारतसहित विभिन्न देशका सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भ्रामक दाबी भाइरल भएको छ । सांसदमा निर्वाचित भए पनि सरकार गठनको प्रक्रिया सुरु नहुँदै विदेशी मिडियाले भने उनी प्रधानमन्त्री बनिसकेको दाबी गरेका हुन् । भारतीय न्युज पोर्टलले नै यस्तो भ्रम फैलाउन भूमिका खेलेको पाइएको छ ।
भारतको ‘इन्डिया टुडे’ नामक न्युज पोर्टलले ‘र्यापर, इन्जिनियर र राजनीतिक वृत्त बाहिरका व्यक्ति: बालेन शाह कसरी नेपालको प्रधानमन्त्री बने ?’ (Rapper, engineer, outsider: How Balen Shah became Nepal's PM) शीर्षकमा समाचार प्रकाशन गरेको छ । यद्यपि, समाचारभित्रको भिडिओमा भने उनी प्रधानमन्त्रीको नयाँ अनुहारका रूपमा उदाएको मात्र उल्लेख छ ।

त्यस्तै, अर्को भारतीय वेबसाइट ‘द प्रिन्ट डट इन’ले ‘अत्यधिक बहुमतका साथ नेपालले पायो सबैभन्दा कान्छो प्रधानमन्त्री, अबको बाटो के ?’ (Nepal gets its youngest PM with a brute majority in Parliament. What comes next) शीर्षकमा समाचार छापेको छ ।

समाचारको फिचर फोटोमा ‘नेपालकै कान्छो प्रधानमन्त्री’ लेखिएको छ भने त्यसको तलपट्टि ‘बालेन शाह उपमहाद्वीपकै इतिहासमा सबैभन्दा कान्छा प्रधानमन्त्री बन्नेछन्’ भनिएको छ । समाचारको भित्री भागमा उनी प्रधानमन्त्री बन्ने संघारमा रहेको उल्लेख भए पनि शीर्षकले भने उनी प्रधानमन्त्री बनिसकेको भ्रामक अर्थ दिन्छ ।

सञ्चारमाध्यममा मात्र नभई सामाजिक सञ्जालमा पनि यो भ्रामक दाबी व्यापक रूपमा फैलिएको छ । सामाजिक सञ्जाल एक्समा ‘@nagarjund’ नामक ह्यान्डलका प्रयोगकर्ताले लेखेका छन्, “३५ वर्षको उमेरमा नेपालका सबैभन्दा कान्छा प्रधानमन्त्री बनेका बालेन्द्र शाहले बैंगलोरको येलहन्कास्थित 'निट्टे मीनाक्षी इन्स्टिच्युट अफ टेक्नोलोजी'बाट एमटेक अध्ययन गरेका हुन् ।”

यो सामग्री तयार पार्दासम्म उक्त पोस्टलाई १८०० भन्दा बढी लाइक, १३२ पटक रिपोस्ट र ३० ओटा कमेन्ट आइसकेका छन् ।
इन्स्टाग्राममा @indiasgag नामको अकाउन्टले पनि चार पटक प्रधानमन्त्री भइसकेका केपी शर्मा ओलीलाई पराजित गर्दै बालेन शाह नेपालको नयाँ प्रधानमन्त्री बनेको दाबी गरेको छ ।

@rollingstonein युजरनेमको इन्स्टाग्राम अकाउन्टले पनि बालेन्द्र शाहलाई नेपालको नयाँ प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेको छ ।

यसका साथै इन्स्टाग्राममा ‘@iimunofficial’ नामको अकाउन्टबाट पनि बालेन प्रधानमन्त्री बनिसकेको दाबी गर्दै पोस्ट राखिएको छ, जसलाई सयौँ प्रयोगकर्ताले लाइक गरेका छन् ।

यी प्रतिनिधि सञ्चार माध्यम र सामाजिक सञ्जालका अकाउन्ट मात्र हुन् । बालेन प्रधानमन्त्री बनिसकेको भन्ने दाबी गर्दै पोस्ट राख्ने अन्य सामाजिक सञ्जालका अकाउन्ट पनि छन् ।




पछिल्लो अध्यावधिक: फागुन २७, २०८२ १२:२३
