close

बदला स्वरूप अमेरिकी प्रविधि कम्पनी तथा डेटा सेन्टरमा आक्रमण गर्दै इरान

टेकपाना टेकपाना

फागुन २९, २०८२ १३:१२

बदला स्वरूप अमेरिकी प्रविधि कम्पनी तथा डेटा सेन्टरमा आक्रमण गर्दै इरान

काठमाडौँ । इरान र अमेरिका–इजरायलबिच बढ्दो तनावका बीच मध्यपूर्वमा रहेका प्रमुख अमेरिकी प्रविधि कम्पनीहरू युद्धको नयाँ निशाना बनेका छन् । इरानले संयुक्त अरब इमिरेट्स (यूएई) र बहराइनमा रहेका व्यावसायिक डेटा सेन्टरहरूलाई प्रत्यक्ष रूपमा ड्रोन र मिसाइल आक्रमणको निशाना बनाएको हो ।

यससँगै डिजिटल पूर्वाधारको सुरक्षामा गम्भीर प्रश्न खडा भएको छ । यस किसिमको आक्रमणको सुरुवात १ मार्चको बिहान ४:३० बजे भएको थियो । त्यतिखेर इरानी 'शाहेद १३६' ड्रोनले यूएईमा रहेको अमेजन वेब सर्भिस (एडब्लूएस) को डेटा सेन्टरमा प्रहार गरेको थियो । यसबाट भीषण आगलागी हुनुका साथै बिजुली आपूर्ति पूर्ण रूपमा बन्द भयो । लगत्तै अमेजनकै दोस्रो डेटा सेन्टरमा पनि प्रहार भयो । रोयटर्सका अनुसार बहराइनमा रहेको अमेजनको अर्को फेसिलिटी पनि ड्रोन विस्फोटका कारण क्षतिग्रस्त भयो ।

यी आक्रमणका कारण यूएई र बहराइनमा डिजिटल सेवाहरूमा व्यापक अवरोध आएको सीएनबीसीले जनाएको छ । ट्याक्सी र डेलिभरी एप करीम, भुक्तानी प्रदायक कम्पनीहरू अलाआन र हबपे, तथा आबु धाबी कमर्सियल बैङ्क र एमिरेट्स एनबीडी जस्ता वित्तीय संस्थाहरूको सेवा प्रभावित भएको थियो । अमेजनले आफ्ना ग्राहकहरूलाई डेटा सुरक्षित राख्न र अन्य क्षेत्रमा सर्भर सार्न सल्लाह दिएको छ ।

इरानको दाबी र लक्षित कम्पनीहरूको सूची

इरानी राज्य नियन्त्रित मिडिया र तस्निम न्युज एजेन्सीका अनुसार इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (IRGC) ले यी केन्द्रहरूले 'शत्रुको सैन्य र गुप्तचर गतिविधि' लाई सहयोग पुर्‍याएको आरोपमा आक्रमण गरेको हो । वायर्ड मिडल इस्ट र युरोन्युजका अनुसार इरानले अमेजनबाहेक गुगल, माइक्रोसफ्ट, पालान्टिर, आईबीएम, एनभिडिया र ओराकल जस्ता दिग्गज कम्पनीहरूलाई पनि भविष्यका सम्भावित निशानाको सूचीमा राखेको छ ।

यी कम्पनीहरूमाथि इजरायली सेनालाई प्रविधि उपलब्ध गराएको, विशेष गरी 'प्रोजेक्ट निम्बस' मार्फत क्लाउड पूर्वाधार प्रदान गरेको आरोप लगाइएको छ । इरानको खाताम अल-अम्बिया सैन्य कमाण्डले अमेरिकी र इजरायली आर्थिक स्वार्थ जोडिएका बैङ्क र आर्थिक केन्द्रहरूबाट सर्वसाधारणलाई एक किलोमिटर टाढा रहन चेतावनी समेत दिएको छ ।

एआई महाशक्ति बन्ने खाडीको सपनामा धक्का

यूएईले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई 'नयाँ तेल' को रूपमा विकास गर्न अर्बौँ डलर लगानी गरिरहेको बेला यी आक्रमणहरू भएका छन् । द न्यु योर्क टाइम्सका अनुसार आबु धाबीमा निर्माण भइरहेको विश्वकै ठुलो एआई डेटा सेन्टर 'स्टारगेट यूएई' (ओपनएआई र ओराकलको साझेदारी) अब सुरक्षा जोखिममा परेको छ ।

प्रविधि विज्ञ क्रिस म्याकगुइरेले द गार्डियनसँग कुरा गर्दै अब डेटा सेन्टरहरूको सुरक्षाका लागि 'मिसाइल डिफेन्स सिस्टम' आवश्यक पर्न सक्ने बताएका छन् । विज्ञहरूका अनुसार जमीनमा रहेको पूर्वाधार मात्र होइन, हर्मुज ट्रेट मुनि रहेका फाइबर अप्टिक केबलहरू पनि इरानको निशानामा पर्न सक्ने जोखिम बढेको छ ।

अमेरिकी प्रतिक्रिया र सुरक्षा चिन्ता

अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको बदलामा इरानले यी प्रविधि कम्पनीहरूलाई निशाना बनाएको हो । रोयटर्सका अनुसार आफ्ना सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्यापछि इरानले प्रतिशोध स्वरूप यी कदम चालेको हो । यसैबिच अमेरिकी सरकारले एआई कम्पनी 'एन्थ्रोपिक' लाई 'सप्लाई चेन रिस्क' घोषणा गरेको छ, जसले गर्दा युद्धको समयमा प्रविधि कम्पनी र सरकारबिचको सम्बन्ध थप जटिल बनेको द न्यु योर्क टाइम्सले उल्लेख गरेको छ ।

यी घटनाहरूले व्यावसायिक डेटा सेन्टरहरू अब युद्धका वैध सैन्य लक्ष्यका रूपमा निशानामा परेको देखाएको छ । जसले मध्यपूर्वमा अमेरिकी प्रविधि लगानीको भविष्यलाई अनिश्चित बनाइ दिएको छ ।

पछिल्लो अध्यावधिक: फागुन २९, २०८२ १३:१४