close

फ्याक्टचेकः जातीय विभेदको घटनामा ९ महिनाअघि बोलेको क्लिप भाइरल, सांसद बनेपछिको भन्दै फैलियो भ्रम

फ्याक्टचेकः जातीय विभेदको घटनामा ९ महिनाअघि बोलेको क्लिप भाइरल, सांसद बनेपछिको भन्दै फैलियो भ्रम

काठमाडौँ । केही दिनयता नवनिर्वाचित प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको एउटा अभिव्यक्तिले सामाजिक सञ्जालमा तातेको छ । सांसद निर्वाचित भइसकेपछि शिक्षक र शिक्षण पेसाप्रति अमर्यादित शब्द र आशयसहितको अभिव्यक्ति दिएको भन्दै उनको आलोचना भइरहेको छ ।

यतिसम्म कि नेपाल शिक्षक महासङ्घले विज्ञप्ति नै निकालेर उक्त अभिव्यक्तिको निन्दा गरेको छ । तर टेकपानाले गरेको फ्याक्टचेकका क्रममा सुनारको उक्त अभिव्यक्ति सांसदको रूपमा निर्वाचित भएपछिको नभई करिब नौ महिना अघिको रहेको पाइएको छ ।

उनले पृथ्वीनारायण क्याम्पस पोखराका प्राध्यापक डा देवीलाल शर्माले दलित विद्यार्थीलाई जातीय विभेदजनक भाषा प्रयोग गरेर गालीगलौज गरेको सन्दर्भलाई लिएर सो अभिव्यक्ति दिएका थिए । उक्त घटनामा क्याम्पसले मातहतको व्यवस्थापन अनुसन्धान विभागको विभागीय प्रमुख समेत रहेका उनलाई जिम्मेवारीबाट हटाएको थियो ।

दाबी

नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले Laxmi Kishor Subedi ले १३ मार्च २०२६ को दिन बिहान १०ः३५ बजेको समयमा आफ्नो फेसबुक पेजमा एक विज्ञप्ति पोस्ट गरेका छन् । उक्त विज्ञप्तिलाई आधार बनाउँदै विभिन्न सञ्चार माध्यमले समाचारको विषय समेत बनाएका छन् ।  जसको क्याप्सनमा लेखिएको छ, “नव निर्वाचित माननीय खगेन्द्र सुनारबाट व्यक्त भएको शिक्षकप्रतिका अपमानजनक अभिव्यक्ति सम्बन्धमा ने शि महासङ्घको विज्ञप्ति ।”

महासङ्घका महासचिव तुलाबहादुर थापाको समेत हस्ताक्षरमा निकालिएको उक्त विज्ञप्तिमा भनिएको छ-

“देशमा विद्यालय शिक्षाको विकास तथा नेपाली शिक्षक-कर्मचारीको हक, हित र मर्यादाको प्राप्ति तथा संरक्षणका लागि नेपाल शिक्षक महासङ्घ सदैव प्रतिबद्ध छ । त्यसैले नेपाली शिक्षक-कर्मचारी पेसागत मर्यादा र स्वभिमान विपरितका कुनै पनि अभिव्यक्ति र व्यबहार ने शि महासङ्घलाई ग्राह्य हुन सक्दैन । वि.सं. २०८२ साल फागुन २१ सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित एकजना माननीय सांसदबाट शिक्षक र शिक्षण पेसाप्रति अभिव्यक्त अमर्यादित शब्द र आशयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । आफ्नो पदीय गरिमालाई समेत विर्सेर गरिएको यस अभिव्यक्तिप्रति हामी खेद प्रकट गर्दछौं । साथै आफ्नो यस अभिव्यक्तिप्रति क्षमा माग्न र आइन्दा यस्ता विचार व्यक्त नगर्न समेत सम्बन्धित व्यक्तिलाई सजग गराउन चाहन्छौं ।”

हेर्नुहोस्, फेसबुक पोस्ट, आर्काइभ लिङ्क र त्यसको स्क्रिनशटः 


अनुसन्धान

‘खगेन्द्र सुनार शिक्षक’, ‘खगेन्द्र सुनार शिक्षक अपमान’ जस्ता किवर्ड राखेर विभिन्न सामाजिक सञ्जालमा सर्च गर्दा खगेन्द्र सुनारको एउटा भिडिओ क्लिप भाइरल भइरहेको देखियो । Teacher Voice - Nepal नामक फेसबुक पेजबाट १३ मार्च २०२६ को बिहान ५ः४८ बजेको समयमा पोस्ट भएको ३० सेकेन्ड लामो भिडिओ क्लिप पोस्ट गरिएको छ । जसको क्याप्सनमा लेखिएको छ, 

“यो खकेन्द्र सुनार के बोल्दै छ ।

साँसद भए भन्दैमा जे बोले नि हुन्छ ।

यो चोरलाइ तत्काल कार्बाहि गरिनुपर्छ ।

यी माननीयले शिक्षक प्रती गरेको अपमानको घोर आपत्ती छ।

तुरुन्त आत्माअलोचना गरियोस।नत्र ठुलै मुल्य चुकाउन पर्ने देखिछ।

यस्ता लाई माननीय बनाउने कठै हामी जनता । शिक्षक मित्रहरु यो पेशागत लडाइ हो सेर गरेर यो भाते सम्म र सरकार पुर्याउन अनुरोध गर्दछु ।”

भिडिओमा सुनिने खगेन्द्र सुनारको भनाइ यस्तो छ-

“त्यो मास्टरले जसरी हिजो चाहिँ हामीलाई पढाउने बेलामा यहाँ कन्सिरीको रौँ उक्चाएर जसरी डस्टरले टाउकोमा ट्वाक्क हान्थ्यो नि, त्यो मास्टरलाई फेरि एकचोटि उत्तानो पारेर उसको पैतालामा भाटा हान्नुपर्छ । त्यस्ता त... होइन होइन, करियर नै डामाडोल… उसको डामाडोल हैन । दम छ भने गर्ने । त्यो मास्टरलाई त्यसलाई अलि पढाइ नपुग्या हो । म पनि शिक्षा संकाय पढेर आएको हुँ। पढाउने कसरी हो भन्ने कुरा शिक्षण विधि म पनि टिचर हुनुको नाताले मलाई पनि त्यो थाहा छ, त्यो संकाय पढेर आएको हुनाले, त्यसैले गर्दाखेरि जसरी हामीलाई डस्टरले टाउकोमा ट्वाक्क हान्थ्यो नि, त्यसलाई पनि ठाडो खुट्टा पारेर भाटा हान्न चाहिँ तयार गर्नुपर्छ।” 

हेर्नुहोस्, पोस्ट, स्क्रिनशट र डाउनलोड गरिएको भिडिओ

Milan Lo Tamang VLog नामक फेसबुक आईडीबाट १२ मार्चको राति ९ः०८ बजेको समयमा पनि सोही भिडिओ क्लिप अपलोड भएको देखियो । जसको क्याप्सनमा लेखिएको छ, "यस्ता नमुनाहरुले कस्तो शिक्षा निति ल्याउला ? ?  🤭" हेर्नुहोस् पोस्ट र त्यसको स्क्रिनशटः 

त्यस्तै 'शिक्षा Updates' नामक फेसबुक पेजमा पनि १३ मार्चको बिहान ६ः५३ बजेको समयमा सोही भिडिओ क्लिप राखिएको छ । जसको क्याप्सनमा भनिएको छ, "'कन्सिरी तानेर डस्टरले ट्वाक्क टाउकोमा हान्ने मास्टरलाई ठाडो खुट्टा पारेर भाटा हान्नुपर्छ' भनेर अभिव्यक्ति दिएका रास्वपामा नवनिर्वाचित माननीय खगेन्द्र सुनारको भिडियो यतिबेला भाइरल छ ।" हेर्नुहोस् पोस्ट र त्यसको स्क्रिनशटः 

 

अनुसन्धानका क्रममा भाइरल भइरहेको भिडिओ क्लिपमा ‘सार्थक मझेरी Tv’ अङ्कित एउटा लोगो समेत देखिन्छ । त्यसपछि हामीले सोही नामबाट युट्युब र फेसबुकमा सर्च गर्‍यौँ । त्यस क्रममा सो नाममा खोलिएको युट्युब च्यानल र फेसबुक पेज भेटियो । 

Sarthak Majheri TV नामक फेसबुक पेजमा २१ मे २०२५ को मितिमा उक्त भिडिओ क्लिप शेयर भएको देखियो । जसको क्याप्सनमा लेखिएको छ, “नवराज वि क सङ्ग अब क हि लै भेट हु दै न” हेर्नुहोस् उक्त पोस्ट र त्यसको स्क्रिनशटः 

यसबाट भिडिओ करिब ९ महिना पुरानो भएको पत्ता लागे पनि सन्दर्भ भने खुल्दैन । त्यसपछि हामीले यो भिडिओबाट किफ्रेम निकालेर रिभर्स इमेज सर्च गर्‍यौँ । जसबाट Voice Of Dalit  नामक युट्युब च्यानलमा नौ महिना अगाडि अपलोड गरिएको १४ः२५ मिनेट लामो भिडिओ भेटियो । जसको शीर्षकमा भनिएको छ, "प्रधानमन्त्रि केपि शर्मा वली र गृहमन्त्रिलाइ खगेन्द्र सुनारको ठाडो चेतावनी #khagendra_sunar"

हेर्नुहोस् भिडिओ र त्यसको स्क्रिनशट

भिडिओको १०ः१२ मिनेटदेखि पछिको संवादमा यो क्लिप समावेश छ । जसको सन्दर्भ सहितको ट्रान्सक्राइब यस्तो छः 

पत्रकार: अब पछिल्लो घटनाको कुरा गरौँ, पोखराको पृथ्वीनारायण क्याम्पसको घटना पक्कै पनि तपाईंलाई अवगत छ । अब तपाईंहरूको अभियानले चाहिँ कस्तो कदम चाल्छ अमीन परियारको लागि, त्यो साथको लागि ? हुन त प्रहरीमा उजुरी परिसकेको छ, सत्यतथ्य छानबिन त होला नै तर तपाईंहरूको अभियानको पनि केही पहल रहन्छ होला नि ?

खगेन्द्र सुनार: त्यो मास्टरले जसरी हिजो चाहिँ हामीलाई पढाउने बेलामा यहाँ कन्सिरीको रौँ उक्चाएर जसरी डस्टरले टाउकोमा ट्वाक्क हान्थ्यो नि, त्यो मास्टरलाई फेरि एकचोटि उत्तानो पारेर उसको पैतालामा भाटा हान्नुपर्छ। त्यस्ता त... (पत्रकार: करियर नै डामाडोल गरिदिने?) होइन होइन करियर नै डामाडोल… उसको डामाडोल होइन, दम छ भने गर्ने। त्यो मास्टरलाई त्यसलाई अलि पढाइ नपुग्या हो। म पनि शिक्षा संकाय पढेर आएको हुँ। पढाउने कसरी हो भन्ने कुरा शिक्षण विधि म पनि टिचर हुनुको नाताले मलाई पनि त्यो थाहा छ, त्यो संकाय पढेर आएको हुनाले त्यसैले गर्दाखेरि जसरी हामीलाई डस्टरले टाउकोमा ट्वाक्क हान्थ्यो नि, त्यसलाई पनि ठाडो खुट्टा पारेर भाटा हान्न चाहिँ तयार गर्नुपर्छ दलितले। नपढेको मान्छे भाको हुनाले त्यसलाई पढ्ने गरी बुझाउनुपर्थ्यो। पढेकै मान्छेले, बुझेकै मान्छेले बदमासी गरेको हुनाले त्यसको थोरै ढक्कन खोलिदिनुपर्छ अनि भाटा हान्न तयार हुनुपर्छ ।”

यति भइसकेपछि हामीले तत्कालीन समयमा पोखराको  पृथ्वीनारायण क्याम्पसमा के घटना भएको थियो भन्ने विषयमा गुगल एड्भान्स सर्चमा खोज्यौँ । त्यस क्रममा रातोपाटीमा जातीय विभेद गर्ने प्राध्यापकलाई पीएन क्याम्पसले गर्‍यो पदमुक्त शीर्षकमा प्रकाशित एक समाचार भेटियो । 

समाचार यस्तो छः 

“पोखरा ।  पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमाथि प्राध्यापकले जातीय विभेद गरेको आरोप लागेको छ । शैक्षिक अभ्यासका क्रममा जातीय अपमानसहित प्राध्यापक डा. देवीलाल शर्माले आपत्तिजनक शब्द बोलेर विभेद गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् । 

गत वैशाख २९ गते एमबीए (फाइनान्स) अन्तर्गतको औद्योगिक अवलोकन भ्रमणको क्रममा विषय शिक्षक शर्माले विद्यार्थी अमन परियारलाई जातीय विभेदजनक भाषा प्रयोग गरेर गाली गलौच गरेका थिए । 

घटनापछि दलित विद्यार्थी समाज, स्वतन्त्र विद्यार्थी युनियन र तेराइ ल स्टुडेण्ट एशोसियसनले आ-आफ्नो विज्ञप्ति जारी गर्दै कडा आपत्ति जनाएका छन् । शर्माले बोलेका शब्दहरू नै उल्लेख गरेर दलित विद्यार्थी समाजका अध्यक्ष अमृत बिक ले विज्ञप्ति जारी गरेका छन् । 

विज्ञप्तिमा भनिएको छ, 'शैक्षिक यात्राको नाममा गरिएको विभेद हाम्रो आत्मसम्मानमाथि प्रहार हो र यस्ता घटनाको अन्त्य हुनुपर्छ ।' त्यस्तै, स्ववियुका अध्यक्ष विष्णु पोखरेलले पनि विज्ञप्ति मार्फत भनेका छन्, 'क्याम्पस जस्तो शैक्षिक स्थलमा यस्ता जातीय टिप्पणी गर्नु निन्दनीय छ । सम्बन्धित शिक्षकमाथि कारबाही हुनुपर्छ ।' 

आरोपपछि क्याम्पसले शर्मालाई जिम्मेवारीबाट हटाएकाे छ । क्याम्पस प्रमुख प्राडा हरिप्रसाद पाठकले पत्र पठाएर निलम्बनको जानकारी गराएका हुन् । 

पत्रमा भनिएको छ, ‘त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ४, दफा १९ बमोजिम ०८२ वैशाख २६ गतेको पत्रानुसार यस क्याम्पसअन्तर्गत व्यवस्थापन अनुसन्धान विभागको विभागीय प्रमुख पदमा नियुक्ति गरिएकोमा विशेष परिस्थितिका कारण तपाईँलाई उक्त पदको जिम्मेवारीबाट हटाइएको ब्यहोरा जानकारी गराइन्छ ।’”
 

दाबी

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले शिक्षक र शिक्षण पेसाप्रति अमर्यादित अभिव्यक्ति दिएको । सांसद पदको गरिमा विपरीत शिक्षकलाई अपमानित गर्ने अभिव्यक्ति दिएकोमा क्षमा माग्न र भविष्यमा यस्तो अभिव्यक्ति नदिन चेतावनी दिइएको ।

दाबीकर्ता

नेपाल शिक्षक महासङ्घ, महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदी, विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ता र केही सञ्चारमाध्यम ।

तथ्य

भाइरल ३० सेकेन्डको भिडिओ क्लिप करिब नौ महिना पुरानो भिडिओको अंश हो । ‘Sarthak Majheri TV’ नामक फेसबुक पेजमा २१ मे २०२५ मा उक्त भिडिओ क्लिप अहिले अन्य पेज तथा प्रयोगकर्ताले भाइरल बनाएका हुन् । वास्तवमा सो क्लिप ‘Voice Of Dalit’ युट्युब च्यानलमा अपलोड गरिएको १४ मिनेटभन्दा लामो भिडिओको अंश भएको पुष्टि हुन्छ । भिडिओमा सुनारले पोखराको पृथ्वीनारायण क्याम्पसमा प्राध्यापक डा. देवीलाल शर्माले गरेको जातीय विभेदसम्बन्धी घटनाको सन्दर्भमा टिप्पणी गरेका थिए । उक्त घटनामा दलित विद्यार्थीमाथि विभेदजनक भाषा प्रयोग गरेको आरोपपछि क्याम्पस प्रशासनले सम्बन्धित प्राध्यापकलाई जिम्मेवारीबाट हटाएको थियो ।

निष्कर्ष

सामाजिक सञ्जालमा फैलिएको भिडिओ क्लिपलाई हालै सांसद निर्वाचित भएपछि दिएको अभिव्यक्ति भन्दै प्रस्तुत गरिएको भए पनि तथ्य जाँच गर्दा उक्त अभिव्यक्ति करिब नौ महिनाअघि अर्कै सन्दर्भमा दिएको पुरानो भिडिओको अंश रहेको पुष्टि भएको छ । त्यसैले सांसद बनेपछि शिक्षकलाई लक्षित गरी यस्तो अभिव्यक्ति दिएको भन्ने दाबी भ्रामक भएको र सन्दर्भ बिना फैलाइएको निष्कर्षमा निस्किएको छ ।

 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, ​युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: फागुन २९, २०८२ १९:९