close

अन्तरिक्षमा डेटा सेन्टर खोल्दै एनभिडिया, एलन मस्कलाई टक्कर

टेकपाना टेकपाना

चैत ३, २०८२ १४:५१

अन्तरिक्षमा डेटा सेन्टर खोल्दै एनभिडिया, एलन मस्कलाई टक्कर

काठमाडौँ । प्रविधि कम्पनी एनभिडियाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधारलाई अन्तरिक्षमा विस्तार गर्दै त्यहीँ ‘डेटा सेन्टर' निर्माण गर्ने तयारी थालेको छ । क्यालिफोर्नियाको सान जोसमा सोमबार आयोजित कम्पनीको ‘जीटीसी सम्मेलन’मा बोल्दै प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले अन्तरिक्ष एआई पूर्वाधार विकासको अर्को गन्तव्य बन्न सक्ने बताएका हुन् । 

यद्यपि यसलाई साकार पार्न अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ । हाल विभिन्न स्याटलाइटमा एनभिडियाका चिप्स प्रयोग भइरहेको भए पनि अन्तरिक्षमै सिङ्गो डेटा सेन्टर निर्माण गर्नु फरक र जटिल विषय भएको ह्वाङले बताए । 

एनभिडियाले हाल आफ्नो ‘स्पेस-१ भेरा रुबिन मोड्युल कम्प्युटर’ डिजाइन गरिरहँदा ‘चिस्यान’सँग सम्बन्धित चुनौतीको सामना गरिहरेको छ । खासगरी हावा नै नहुने शून्य अवस्था (भ्याकुम) मा उपकरणलाई कसरी चिसो राख्ने भन्नेमा कम्पनीले समाधान खोजिरहेको छ ।

सम्मेलनमा चिस्यानको चुनौतीबारे सीईओ ह्वाङले भने, “अन्तरिक्षमा ताप सञ्चालन (कन्डक्सन) र ताप संवहन (कन्भेक्सन) हुँदैन, त्यहाँ केवल विकिरण (रेडिएसन) मात्र हुन्छ । त्यसैले हामीले शून्य अन्तरिक्षमा यी सिस्टमलाई कसरी चिसो राख्ने भनेर नयाँ उपाय खोज्नुपर्नेछ ।”

चुनौतीहरू भए पनि पृथ्वीको तुलनामा अन्तरिक्षमा डेटा सेन्टर स्थापना गर्दा केही फाइदाहरू रहेका छन् । त्यहाँ पृथ्वीमा जस्तो जग्गाको नियमन गर्ने निकायको झन्झट हुँदैन भने ध्वनिका कारण छिमेकीलाई असर पर्ने कुनै चिन्ता हुँदैन । अन्तरिक्षको कक्षमा रहेका डेटा सेन्टरलाई सहजै सौर्य ऊर्जाबाट सञ्चालन गर्न सकिन्छ । त्यहाँ प्रशस्त ठाउँ उपलब्ध भए पनि पछिल्लो समय प्रक्षेपण भइरहेका स्याटलाइटको बढ्दो सङ्ख्याले भने अन्तरिक्षको कक्ष (अर्बिट) मा भीडभाड बढाउँदै लगेको छ ।

अन्तरिक्षमा डेटा सेन्टर खोल्ने दौडमा एनभिडिया मात्र एक्लो कम्पनी भने होइन । अर्बपति उद्यमी एलन मस्कले पनि लामो समयदेखि अन्तरिक्षमा डेटा सेन्टर स्थापना गर्ने विषयलाई अघि सार्दै आएका छन् । मस्कले हालै मात्र आफ्नो स्वामित्वमा रहेको एआई कम्पनीलाई आफ्नै रकेट कम्पनीसँग गाभेकाले पनि अन्तरिक्षमा डेटा सेन्टर बनाउने योजनालाई थप अर्थपूर्ण रूपमा हेरिएको छ ।

पछिल्लो अध्यावधिक: चैत ३, २०८२ १५:१२