एमालेलाई समर्थन गरेकै कारण गायिका ज्याेति मगरको फेसबुक पोस्टमा अश्लील कमेन्टको ओइरो
चैत ४, २०८२ १४:३०
काठमाडौँ । लोक तथा दोहोरी गायिका ज्योति मगरको पछिल्लो फेसबुक पोस्टमा नकारात्मक र अश्लील कमेन्टको ओइरो लागेको छ । दाङको घोराहीमा आयोजित ‘लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, पर्यटन, कृषि तथा सांस्कृतिक महोत्सव २०८२’ मा आफ्नो प्रस्तुति रहने जानकारी दिँदै उनले मंगलबार राखेको पोस्टमा घृणाजन्य र अपमानजनक कमेन्टहरू देखिएका हुन् ।
उनले आफ्नो फेसबुक प्रोफाइलमा ‘चैत्र ४ गते दाङको घोराहीमा भेटौँ है हजुर’ भन्दै भिडिओ राखेकी थिइन् । पोस्टको कमेन्ट बक्समा हजारौँ प्रयोगकर्ताले उनलाई लक्षित गर्दै गालीगलौज गरेका छन् । कतिपयले उनलाई भौतिक कारबाही गर्ने धम्की दिएका छन् भने कतिपयले उनले भाग लिने कार्यक्रम नै बहिष्कार गर्न आह्वान गरेका छन् ।
गायिका मगरमाथि यसरी आक्रोश पोखिनुको मुख्य कारण भने उनको राजनीतिक आस्था हो । पछिल्लो प्रतिनिधि सभा निर्वाचनका क्रममा उनले नेकपा एमाले र विशेषगरी अध्यक्ष केपी शर्मा ओलीको खुलेर समर्थन गरेकी थिइन् । सोही समयमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका समर्थकहरूलाई लक्षित गर्दै अभिव्यक्ति दिएकी थिइन् ।
अहिले उनको पोस्टमा आएका अधिकांश कमेन्टहरूमा ‘एमालेको झोले’, ‘ओलीको मान्छे’ जस्ता शब्दहरू प्रयोग गरिएका छन् । कतिपयले ‘घण्टी’ (रास्वपाको चुनाव चिह्न) समर्थकहरूलाई उनको कार्यक्रममा नजान आग्रह गरेका छन् भने कतिपयले उनलाई कलाकार नभई एउटा दलको कार्यकर्ता भएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा आएका कमेन्टहरू निकै तल्लो स्तरका र अश्लील प्रकृतिका छन् । केही प्रयोगकर्ताले त उनलाई स्टेजबाटै लखेट्ने र ढुङ्गामुढा गर्नेसम्मका हिंसात्मक चेतावनी दिएका छन् ।
यद्यपि, सबै प्रयोगकर्ता नकारात्मक भने छैनन् । कलाकारलाई उसको कलाका आधारमा मूल्याङ्कन गरिनुपर्ने र राजनीतिक आस्थाकै कारण यसरी अश्लील गालीगलौज र व्यक्तिगत अपमान गर्न नहुने मत राख्नेहरू पनि छन् ।
यसअघि पनि ज्योति मगरका विभिन्न पोस्टहरूमा यस्तै प्रकारका घृणाजन्य प्रतिक्रिया आउने गरेका थिए । एमाले अध्यक्ष ओली र मगरबिच ‘चुम्बन’ भएको जस्तो देखिने तस्बिरसमेत भाइरल गराइएको थियो । तर, उक्त तस्बिर वास्तविक नभई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोग गरी तयार पारिएको थियो ।
सम्बन्धित समाचार: एमाले अध्यक्ष ओली र ज्योति मगरको ‘चुम्बन’ तस्बिर नक्कली, एआई दुरुपयोग गरी भ्रामक प्रचार
पछिल्लो अध्यावधिक: चैत ४, २०८२ १७:५५
