close

सडकमा दुई भ्लगरलाई कुटपिट गर्ने कार चालक पक्राउ

टेकपाना टेकपाना

चैत ५, २०८२ १४:३८

सडकमा दुई भ्लगरलाई कुटपिट गर्ने कार चालक पक्राउ

काठमाडौँ । नगरकोट जाने बाटोमा दुई जना मोटरसाइकल राइडर (भ्लगर) माथि बीच सडकमै कुटपिट र अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ गरेको छ । बिहीबार भक्तपुरको दार्जिलिङ हाइटबाट ती व्यक्तिलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी प्रकाश जबेगु लिम्बुले जानकारी दिए ।

पक्राउ पर्नेमा ४१ वर्षीय गणेश वाइबा तामाङ रहेका छन् । गत शनिबार भक्तपुरको तेलकोट-नगरकोट सडकखण्डमा ओभरटेक गरेको विषयलाई लिएर तामाङले बाटो छेकी दुई जना भ्लगरमाथि कुटपिट गरेका थिए ।

कारबाट उत्रिएर उनले हेलमेट लगाएका युवाहरूलाई थप्पड हानेको र दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडिओ सार्वजनिक भएपछि प्रहरीले ती व्यक्तिको खोजी कार्यलाई तीव्रता दिएको थियो ।

यसअघि सामाजिक सञ्जालमा उक्त व्यक्तिको पहिचान र पक्राउका विषयमा विभिन्न भ्रम र 'एआई सिर्जित' भिडिओहरू समेत सार्वजनिक भएका थिए ।

पक्राउ परेका तामाङमाथि अभद्र व्यवहार लगायतका मुद्दामा थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: चैत ५, २०८२ १५:११